उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार पदभार ग्रहण गरेका छन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा करिब ३ महिना बसेपछि शुक्रबारदेखि नारायणकाजी गृह सम्हाल्न आइपुगेका हुन्।
नागरिकता विवादमा गत माघ १३ गते तत्कालीन गृहमन्त्री रवि लामिछाने सांसदसहितका पद गुमाएदेखि गृह खाली थियो।
गृहमा पदभार सम्हालेपछि उनले पहिलो निर्णयका रुपमा मन्त्री र गृहसचिवले सुराकीको नाममा खर्च गर्न पाउने नियमावलीलाई खारेज गर्ने निर्णय गरेका छन्।
पहिलो निर्णयको रुपमा गृहमन्त्री र सचिवले सुराकीको नाममा खर्च गर्ने नियमावलीलाई खारेज गर्ने निर्णयसँगै उनले गृहमन्त्रालयका कर्मचारी र सुरक्षा प्रमुखहरुलाई करिब आधा घण्टा सम्बोधन गरे।
सम्बोधनका क्रममा उनले आफू भ्रष्टाचार र अपराधविरुद्ध कठोर रुपमा प्रस्तुत हुने पनि बताए।
गृहमन्त्रीका रुपमा पहिलो सम्बोधनका क्रममा श्रेष्ठले विभिन्न पाँच वाचा पनि गरेका छन्।
उनले कर्मचारी र सुरक्षा प्रमुखहरुलाई सम्बोधनका क्रममा विभिन्न पाँच सुझाव तथा निर्देशन दिएका छन्। उनले आफ्नो तर्फबाट पनि प्रतिवद्धता जनाएका छन्।
भिडिओ
समय
उनले सम्बोधनका क्रममा पहिलो प्रतिवद्धताका रुपमा आफूले समयको पालनामा धेरै महत्व दिने बताए।
देश पछि पर्नुको एउटा कारण समयको पालना नहुनु पनि रहेको उनको तर्क थियो। अब यसलाई सच्याउनु पर्ने उनले बताए।
समयको अवज्ञालाई आफूले छुट नदिने पनि उनले उल्लेख गरे। ५ मिनेट ढिलो गए पनि हुन्छ भन्ने कुरा अब नचल्ने उनको भनाइ थियो।
'अलिक पछाडि गरे पनि हुन्छ भन्ने कुरा अब चल्दैन। टाइमबमोजिम काम गर्ने हो', उनले भने, 'समयमा सकिएन भने के कारण हो, त्यो पनि खुलाउनु पर्यो। गरे पनि हुने नगरे पनि हुने भन्ने अब चल्दैन यसबारे तपाईंहरुको ध्यान जाओस्।'
पद
उनको बुझाइमा पद भनेको जिम्मेवारी मात्रै हो। पदीय हैसियतको कुरा जिम्मेवारी र कार्यसम्पादनका सन्दर्भमा मात्रै सीमित राख्न पनि उनले निर्देशन दिए।
'अरु सम्बन्ध हाम्रो मानवीयताका आधारमा समानताका आधारमा हुनुपर्छ। मेरो पदले, सचिवजीको पदले एउटा जिम्मेवारी दिएको छ', उनले भने, 'तर शान सौकात प्रदर्शन गर्ने, हाकिमी पारा देखाउने त्यो छुट हामीलाई छैन।'
उनले जिम्मेवारी पूरा गर्न पद दिइएको बताउँदै जिम्मेवारीको पालना गर्नै पर्नेमा जोडदिए। 'त्यसको निम्ति एउटा हाइराकिङ पनि चाहिन्छ। तर यसलाई अन्यथा प्रयोग गर्ने छुट कसैलाई पनि हुँदैन', उनले भने, 'पदलाई जिम्मेवारी पालनाको रुपमा मात्रै बुझौँ। पदीय हाइराकिङको आधारमा व्यक्तिहरुलाई अपमानित गर्ने, होच्याउने, त्योअनुसार सम्बन्ध राख्ने नगरौँ।'
नखाने पाँच चिज
उनले आफूले माछामासु नखाने र मदिरासमेत नपिउने वाचा सुनाए। 'माछा मासु खान्न, रक्सी खान्न, कोल्ड ड्रिंग्स पिउँदिन', उनले भने, 'चियाकफी पनि पिउँदिनँ, ग्रीन टी मात्रै खान्छु। चुरोट तमाखु र पानसुपारी समेत खान्न।'
उनले कामको शिलशिलामा आफूले अनावश्यक अन्य कुरासहित घूससमेत नखाने वाचा गरे।
'कामको शिलशिलामा थप कुरा पनि खान्न। घुस खान्न। उपहार लिन्न', उनले भने, 'विदेशीको हकमा म मन्त्रालयबाहिर भेट्दिनँ। मन्त्रालयमा पनि एक्लै भेटदिनँ।'
उनले भौतिक पूर्वाधार मन्त्रालयमा हुँदा पनि उपहार लिन नमानेको बताए। 'त्यहाँ हुँदा एकजनाले एउटा सानो गिफ्ट लिएर आएका थिए', उनले भने, 'उनले गिफ्ट दिन खोजे। मैले गिफ्ट लिन मानिनँ। पछि सोधेँ के छ भनेर, सानो कप ल्याइदिएका रहेछन्। त्यसकारण उपहार ल्याउने कष्ट नगर्नु होला।'
चाकडी नगरौँ
उनले आफूलाई चाकडी पनि नचाहिने बताएका छन्। 'अर्को म चाकडी खान्नँ। चाकडी गरेर केही हुन्छ भन्ने नठान्नु होला', उनले भने, 'चाकडी गर्यो कि बिग्रहाल्यो काम।'
श्रेष्ठले आफूले कर्मचारी र सुरक्षा अधिकारीहरुलाई कुनै अप्ठेरो र पीडामा रहन नदिने पनि प्रतिवद्धता जनाए। 'अप्ठेरो पर्यो, हस्तक्षप भयो भने रक्षा गर्ने जिम्मा मेरो हो', उनले भने।
ढाँटे रिसाउँछु
कहिलेकाहीँ आफू असाध्य रिसाउने कुरा सुनाए। 'कहिलेकाहीँ म असाध्यै रिसाउँछु। यो कुरा तपाईँहरुले थाहा पाउनुपर्छ', उनले भने, 'झूट बोलेको थाहा पाए असाध्यै रिसाउँछु। काइते कुरा गर्ने, सिधै सिधै झुट बोल्ने गरे सबैभन्दा बढी रिसाउने म हो। झूट बोल्ने काम कहिल्यै नगर्नुस्।'
Shares

प्रतिक्रिया