ad ad

राजनीति


मन्त्रिपरिषद् आज पनि विस्तार नहुने, कांग्रेससहितले दिएनन् मन्त्रीको नाम

मन्त्रिपरिषद् आज पनि विस्तार नहुने, कांग्रेससहितले दिएनन् मन्त्रीको नाम

फाइल तस्बिर


नेपालखबर
चैत १६, २०७९ बिहिबार १९:२३, काठमाडौँ

पुष्पकमल दाहाल प्रचण्डले बिहीबार (आज) पनि मन्त्रिपरिषद् विस्तार नगर्ने भएका छन्।

नेपाली कांग्रेस र अन्य दललेसमेत मन्त्रीहरुको सूची नबुझाएपछि प्रधानमन्त्रीले आज पनि मन्त्रिपरिषद् विस्तार नगर्ने भएका हुन्। 

मन्त्रिपरिषद् विस्तारलाई लिएर अपरान्ह प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो।

दुई नेताबीचको छलफलबाट मन्त्रिपरिषद् विस्तारबारे निष्कर्ष ननिस्किएपछि अहिले अन्य नेताहरुसहित बालुवाटारमा अर्को बैठक बसिरहेको छ।

दाहाल र देउवाबीच एक्ला एक्लै वार्तापछि अहिले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्या भुसाल र माओवादीका अन्य नेताहरु पनि छलफलमा जुटेका छन्। 

प्रचण्डले बिहीबार बिहान चितवनमा आयोजित विमानस्थलको टर्मिनल भवन शिलान्यासका क्रममा बिहीबार मन्त्रिपरिषद् विस्तारको सम्भावना नरहेको संकेत गरेका थिए।

उनले सकेसम्म आजै मन्त्रिपरिषद् विस्तार गर्ने लक्ष्य आफ्नो भए पनि त्यो सम्भावना अलिक कम रहेको संकेत गरेका थिए।

‘मैले धेरै भन्न सम्भव भएन। सकेसम्म यहाँबा १ बजेसम्म फर्कने र आजै मन्त्रिमण्डल विस्तार गरेर शपथग्रहण गराउने मेरो लक्ष्य छ,’ उनले भनेका थिए, ‘आज सकिएन भने भोलि बिहान होला। काम त हाम्रो सकिएकै छ।’

चितवनबाट फर्किएपछि प्रचण्ड आन्तरिक छलफलमा जुटेका थिए। त्यसपछि उनी देउवासँग बसेका थिए। तर कांग्रेसले अझै पनि मन्त्रीहरुको नाम प्रचण्डलाई बुझाइसकेको छैन।

कांग्रेसमा रक्षा र परराष्ट्रसहितका केही मन्त्रालयमा अझै कुरा मिल्न सकेको छैन। मन्त्री हुने नेताहरुको नाममा देउवाले सहमति जुटाइसके पनि मन्त्रालय भागबन्डा मिलाउन सकस परेको हो। 

मन्त्रिपरिषद् विस्तारका लागि अन्य केही दलले पनि अझै नाम नदिएको बताइएको छ। 

गठबन्धनको भागबन्डा अनुसार गत फागुन १५ गते एमालेले छाडेका ८ वटा मन्त्रालय नेपाली कांग्रेसले लिँदैछ। तर मन्त्रालय भने हेरफेर हुँदा समस्या भएको हो। 

त्यस्तै नेकपा माओवादी केन्द्रले पाँचवटा मन्त्रालय लिने सहमति भइसकेको छ। अहिले माओवादीका चारजना मन्त्री छन्। 

त्यसैगरी माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले दुई मन्त्रालय पाउँदैछ। उसका उपाध्यक्ष वेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वाला मन्त्री हुने पक्का भएको छ।

त्यसैगरी जनता समाजवादी पार्टीबाट दुईजना मन्त्री बन्ने भएका छन्। एकजना अशोक राईको नाम पक्का भएको छ। अर्को नाम राजकिशोर यादव या प्रदीप यादवमध्ये एक हुँदैछन्।

त्यसैगरी मंसिरको चुनावअघि एमाले छाडेर स्वतन्त्रबाट जितेपछि आमजनता पार्टी खोलेका प्रभु साह पनि मन्त्री बन्दैछन्। 

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पनि एक मन्त्रालय पाउने छ। उसका शरतसिंह भण्डारी मन्त्री बन्ने निश्चित छ।

रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा जाने भएको छ। उसले पाउने एउटा मन्त्रालयमा अध्यक्ष श्रेष्ठ आफैँ मन्त्री हुँदैछिन्। 

अर्कातिर डा. सीके राउत नेतृत्वको जनमत पार्टीले एक मन्त्रालय पाएको छ। उसका समानुपातिक सांसद अब्दुल खान अहिले नै खानेपानी मन्त्रीका रुपमा कार्यरत छन्। 

त्यसैगरी मंसिर ४ मा माओवादीको चुनाव चिह्न लिएर निर्वाचनमा होमिएको डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पनि एक मन्त्रालय पाएको छ।

बाबुरामको नेसपाबाट महिन्द्रराय यादव मन्त्री बन्दैछन्। उनी माओवादीको चुनाव चिह्न लिएर सर्लाही २ बाट विजयी भएका थिए।

यो भागबन्डासँगै २२ वटा मन्त्रालयको हिसाब बुधबारै मिलेको थियो। बाँकी तीनवटा मन्त्रालयमा राज्यमन्त्री नियुक्त गर्ने तयारी प्रचण्डको थियो। तर कुरा नमिलिसकेकाले मन्त्रालय विस्तार रोकिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .