नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादीको नेतृत्वमा देशमा समाजवाद आउँछ भन्नु वालुवा पेलेर तेल निकाल्छु जस्तो मुर्खता भएको बताएका छन्। पार्टी मिसन ग्रासरुट अभियानमा हुम्लाको चंखेली गाउँपालिकाको मध्यावधी समीक्षा बैठकलाई सम्बोधन गर्दै भट्टराईले यस्तो बताएका हुन्।
सचिव भट्टाईले भने, ‘समाजवाद हुँदै साम्यवादका नारा लगाएर दश वर्षे युद्ध गरेका माओवादी नेता प्रचण्ड देशको प्रधानमन्त्री हुँदा देशले इतिहासकै सबै भन्दा बढी आर्थिक संकटको सामना गरिरहेको छ। माओवादीले पुँजीवादको नेतृत्व गर्ने कांग्रेससँग गठजोड गरेर साम्यवाद ल्याउँछु भन्नु वालुवा पेलेर तेल निकाल्नु सरह हो। यो सम्भव छैन।’
यस्तै, सचिव भट्टराईले जनयुद्ध लड्दा घाइते भएका अंगभंग भएका जनमुक्ति सेना र तल्लो स्तरका नेता–कार्यकर्ताले वैशाखी टेक्नु पर्ने तर उनीहरुकै बलमा नेतृत्वमा पुगेका नेताहरु रातारात मालामाल हुने कुराले माओवादीको साम्यवादलाई रुखले खाएको तर्क गरे।
‘उनले भने, ‘हरेक स्थानीय तहको केन्द्रमा सडक बिस्तारसँगै कालोपत्रे, हरेक स्थानीय तहमा अस्पताल निर्माण गर्ने काम समाजवाद निर्माणको आधार तय गर्ने कुरा थियो। तर, कांग्रेससँगको गठजोडमा माओवादी नेतृत्वको सरकारले निरन्तरता नदिएर ‘समृद्ध नेपाल सुखि नेपाली’को लक्ष्य पुरा गर्ने अभियान विरोध गरेको छ।’
साथै, सचिव भट्टराइले एमाले नेतृत्वको सरकारले देशभरका स्थानीय तहमा बजेटको व्यवस्थासहित शिलान्यास भएका ५ देखि २५ शय्याका अस्पताल निर्माण गर्न ३ सय ९६ अस्पतालका बजेट कटौती गरेर नागरिकको मौलिक हक खोस्ने चलखेल भएको आरोप लगाए।
यस्तै, भट्टराइले ‘किन जन देउ कि धन देउ’ भन्दै कुनै एकछत्र राज गरेको माओवादी कर्णालीमा दोस्रो स्थानमा पुग्नुको कारण पनि उसले देशमा विकास भन्दा अस्थिरता निम्त्याउनेमा केन्द्रित रहनु मुख्य कारण रहेको बताए। भट्टराईले देशमा समाजवादको नेतृत्व एमालेले गर्ने र पुँजीवादको नेतृत्व कांग्रेसले गर्ने बाहेक अन्य सबै राजनीतिक पसलहरु बन्द हुने चेतावनी दिए।
प्रतिक्रिया