नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार माध्यामहरुलाई यूटुव, फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जालबाट नहच्किन आग्रह गरेका छन्।
समाचारका स्रोतहरु टेलिभिजनसहितका सञ्चार माध्यामहरु नै भएकाले युटुव, फेसबुकलगायतका सामाजिक सञ्जालबाट हच्किन आवश्यक नरहेको ओलीको भनाई थियो।
बुधबार बुटवलमा आयोजित लुम्विनी सामूदायिक टेलिभिजनको १७ औं वार्षिक साधारण सभामा बोल्दै उनले सामाजिक सञ्जालहरुसँग नेटवर्किङ नहुने भएकाले पनि त्यसबाट ताजा र तत्काल ब्रेकिङ न्यूजको सम्भावना नरहेको तर्क समेत गरे।
अध्यक्ष ओलीले नयाँ–नयाँ प्रविधि भित्र्याउन र टिमवर्कमा काम गर्न पनि समाचार माध्यामहरुलाई सुझाव दिए। विश्वमा सञ्चारका नयाँनयाँ प्रविधिहरुको विकास भएकाले टेलिभिजनलगायतका सञ्चार माध्यामहरुले पनि त्यसको प्रयोग गर्दै अघि बढाउनुपर्ने उनले बताए।
ओलीले भने, ‘अत्यन्तै तीव्रताका साथ आज दुनियाँमा सञ्चारका प्रविधिहरु अत्यन्तै विकास भइरहेका छन्। टेलिभिजनहरु एउटा कुरासँग अलि हच्किएको देख्छु–यूटुवसँग, के सँग, टिकटकसँग, फेसबुकसँग, सामाजिक सञ्जालसँग। त्यो सबैले समाचार प्राप्त गर्ने भनेको टेलिभिजनबाटै हो। टेलिभिजनबाट समाचार प्राप्त गरेर नै त्यो समाचारलाई लिएर अरुले बनाउने हो। त्यो त इन्डिभिजियोल्ली चलाउने कुरा हो। अर्गनाइज वे मा चलेको हुँदैन।’
उनले थपे, ‘त्यसकारण उनीहरुसँग वाईड इन्फरमेशन, इमिडियड इन्फरमेशन, फ्रेस इन्फरमेशन, वास्तवमा न्यूज ब्रेकिङ उनीहरुबाट साधारणतया सम्भावना कम हुन्छ। किनभने कहाँ, के भएको हुन्छ? उनीहरुको नेटवर्किङ त्यति हुँदैन। त्यसकारण यसको त नेट वर्किङ हुन्छ। नेटवर्क विस्तार गरौं। नयाँ प्रविधि भित्र्याऊँ। यो कुरा चाहिँ तपार्इंहरुले ध्यानमा राख्नु हुनेछ भन्ने मैले ठानेको छु। मुख्य कुरा टिम स्पिरिट हो।’
ओलीले २०४६ सालको परिवर्तनपछि नेपालका सञ्चार माध्यामहरुको विकासले गति लिएको पनि स्मरण गराए। त्यस अवसरमा उनले विश्वमा नै टेलिभिजन सञ्चार माध्यामको विकासको इतिहास लामो नभएको पनि उल्लेख गरे।
प्रतिक्रिया