राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले देशलाई मुठभेडतिर लान चाहेको बताएका छन्।
बुधबार बसेको संसद बैठकमा विशेष समय लिएर बोल्ने क्रममा उनले मिटरब्याजीपीडितलाई भेट्न गएका पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीमाथि माओवादी कार्यकर्ताले गरेको दुर्व्यवहारलाई लिएर आक्रोश पोखे।
'मिटरब्याजीहरुबाट पीडित नागरिकहरु १३ दिन हिँडेर काठमाडौं आए। जिम्मेवार राजनीतिक दलको नेता पीडितहरुलाई भेट्न जाँदा सत्ता पक्षका कार्यकर्ताले दुर्व्यहार गरे', उनले भने, 'हाम्रा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीमाथि आक्रमण प्रयाससमेत भयो।
उनले मंगलबार भएको यो घटनालाई लिएर सरकारले मुठभेट चाहेको उल्लेख गरे। 'के सरकार मुठभेटतिर जान लागेको हो? के यो गणतन्त्रमा राजावादीलाई गतिविधि गर्न छुट छैन?', उनले भने, 'सरकार मुठभेटतिर जान नखोजोस्।'
उनले कोशी प्रदेश नामकरणलाई लिएर भइरहेको आन्दोलनबारे सरकारले नजरअन्दाज गरिरहेको पनि बताए।
'अहिले यति ठूलो विरोध भइरहँदा पनि सरकारले नसुने जस्तो गरेको छ। सरकारले गम्भीरतापूर्वक नलिँदा देश द्वन्द्वतिर जान खोज्दैछ', उनले भने, 'राप्रपाले प्रदेश संरचना चाहिँदैन भनेकै हो। यो आर्थिक रुपले बोझिलो हुन्छ भनेकै हो। यसले द्वन्द्व पनि ल्याउँछ भनेकै हो। आन्दोलनबारे सरकार गम्भीर बनोस्।'
प्रतिक्रिया