ad ad

राजनीति


पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेसको टिम सरकारमा पठाउने तयारी

पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेसको टिम सरकारमा पठाउने तयारी

फाइल तस्बिर


केशव सावद
चैत १३, २०७९ सोमबार २१:३७, काठमाडौँ

नेपाली कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने तयारी गरेको छ। 

खड्कालाई उपप्रधान तथा रक्षा मन्त्रालयको जिम्मेवारी दिएर कांग्रेसले सरकारमा पठाउने तयारी गरेको हो। 

कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम औपचारिक रुपमा टुंगो लाग्न बाँकी छ। तर पनि खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने आन्तरिक तयारी भएको कांग्रेस स्रोतले जनाएको छ। 

सभापति शेरबहादुर देउवानिकट स्रोतका अनुसार खड्कासँगै अर्का उपसभापति धनराज गुरुङ, प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यद्वय एनपी साउद र सीता गुरुङ मन्त्री बन्ने सूचीमा छन्। 

खड्काको नेतृत्वमा सरकारमा जान लागेकामध्ये महतको मात्रै मन्त्रालय टुंगिएको छ। देउवाले महतलाई अर्थ मन्त्रालयको जिम्मा दिएर सरकारमा पठाउने तयारी गरेका छन्। 

उपसभापति गुरुङ तथा केन्द्रीय सदस्यद्वय साउद र गुरुङको मन्त्रालय टुंगो लाग्न बाँकी रहेको ती नेताको भनाइ छ।

सरकारमा पठाउने मन्त्रीको नाम र मन्त्रालय टुंगो गर्न कांग्रेसले मंगलबार केन्द्रीय कार्यसम्पादन समिति बैठक अन्तिम समयमा फेरि सरेको छ। यो बैठक चैत १६ गते बिहीबार बस्ने तय भएको छ।  

यो बैठकमा मन्त्री चयनसँगै तीनवटा क्षेत्रमा हुने उपनिर्वाचनका उम्मेदवार टुंगो लगाउनेबारे छलफल हुने बताइएको छ। 

सभापति देउवानिकट एक केन्द्रीय सदस्यले उपसभापति खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने लगभग समझदारी बनिसकेको बताएका छन्। 

‘पूर्ण दाइको नेतृत्वमा सहकारमा सहभागी हुने हो। उहाँ उपप्रधानसँगै रक्षा मन्त्रालय सम्हाल्नुहुन्छ,’ सोमबार धुम्बाराहीबाट ती नेताले भने, ‘धनराज, प्रकाशशरण, एनपी र सीता पनि मन्त्री बन्ने निश्चित जस्तै छ। निर्णयमात्रै बाँकी हो।’

महत, साउद र गुरुङसँग सोमबार सभापति देउवाले धुम्बाराहीमा एक्ला–एक्लै छलफल गरेका थिए। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि धुम्बाराहीमै उनीहरुको छलफल भएको थियो। 

सरकार विस्तार तयारीमा रहेका प्रधानमन्त्री प्रचण्ड विभिन्न दलका शीर्ष नेतासँग छलफल गरिरहेका छन्। उनले मंगलबार आपरान्ह ४ बजे बस्ने १० दलको बैठकबाट मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन्। 

प्रचण्डले देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सोमबार छलफल गरेर मन्त्रिपरिषद्को टुंगो गर्न मंगलबार १० दलको बैठक बोलाउने निर्णय गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताए।

कांग्रेस स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले बुधबार कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्रीहरुलाई शपथ गराउने तयारी गरेका छन्। 

ती नेताका अनुसार पहिलो चरणमा उपसभापति खड्का उपप्रधान तथा रक्षा र प्रवक्ता महतलाई अर्थमन्त्रीको शपथ खुवाउने सम्भावना छ। अन्य मन्त्रीहरुलाई अर्को चरणमा शपथ गराइने छ।

तर सरकारमा पठाउने मन्त्रीको नाम र मन्त्रालय टुंगो गर्न कांग्रेसले मंगलबार राखेको बैठक बिहीबार सरेकाले मन्त्रीहरूको सपथ बुधबार नभएर शुक्रबार पुग्ने सम्भावना पनि छ। 

परराष्ट्रमन्त्रीको खोजी
कांग्रेस अहिले परराष्ट्रमन्त्रीका लागि उपयुक्त पात्र खोज्दै छ। केन्द्रीय सदस्य तथा समानुपातिक सांसद डा. आरजु राणा देउवाले अहिले मन्त्रीपरिषदमा सहभागी हुन अनिच्छा देखाएपछि कांग्रेसमा परराष्ट्रमन्त्रीका लागि उपयुक्त पात्र खोजी भएको हो। 

संस्थापन इतर समूहको नेतृत्व गर्दै आएका नेता डा. शेखर कोइराला पनि परराष्ट्रमन्त्री बन्ने चर्चामा थिए। तर पछिल्लो समय कोइरालाले अहिले सरकारमा आफू नगएर अन्य नेतालाई पठाउन प्रस्ताव गरेका छन्।

सभापति देउवानिकट एक नेता भन्छन्, ‘परराष्ट्रका लागि उपर्युक्त क्यान्डिडेड नै छैन। को उपर्युक्त हुन्छ भनेर सल्लाह भइरहेको छ।’

लिम्बू र खड्काको नाम पनि
संस्थापन इतर समूहका नेता डा. कोइरालाले मन्त्रीका लागि उपसभापति गुरुङसँगै मोरङ–१ का सांसद डिगबहादुर लिम्बूको नाम सभापति देउवालाई सिफारिस गरेको बताइन्छ।

इतर समूहले कांग्रेसको भागमा पर्नेमध्ये ३ मन्त्रालयमा दाबी गरिरहेको छ। तर, सभापति देउवाले दुई मन्त्रालय दिने मनस्थिति बनाएको नेताहरु बताउँछन्। 

यस्तै केन्द्रीय सदस्य डा. शशांक कोइरालाले आफ्नो समूहबाट संखुवासभाका सांसद दीपक खड्काको नाम मन्त्रीका लागि देउवासमक्ष सिफारिस गरेको धुम्बाराहीनिकट स्रोतले जनाएको छ। 

स्रोतका अनुसार सभापति देउवाले मन्त्री बन्न प्रस्ताव गरेपछि उनले संखुवासभा कांग्रेसका सभापतिसमेत रहेका खड्काको नाम मन्त्रीका लागि सिफारिस गरेको बताइएको छ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .