नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो जेल जीवनको अनुभवसम्बन्धी विवरण युट्युबमा सार्वजनिक गरेका छन्।
‘केपी बा युटुब च्यानल’ मा उहाँको संस्मरणको दोस्रो भाग आज अपलोड भएको छ । ‘मेरो जेल अनुभव र नयाँ पुस्ता’ शीर्षकको उक्त भिडियो २९ मिनेटको रहेको छ ।
यसअघि अध्यक्ष ओलीको ७१ औं जन्मदिनको अवसरमा उक्त भिडिओ च्यानल सुरु गरिएको थियो । पहिलो भागमा ‘ती तीन मृत्यु, जसले मलाई छोएर गए’ शीर्षकमा उनले मृत्युबाट संयोगवश बाँचेका घटनाहरु प्रस्तुत गरेका थिए।
दोस्रो भागमा जेलभित्रको जेलका रुपमा मानिने गोलघर भित्रको आफ्नो जीवनबारे बताएका छन्।
अध्यक्ष ओलीले निरंकुश व्यवस्थाविरुद्ध कठोर संघर्ष र यातनापूर्ण जेल जीवन लगायत विषयमा नयाँ पुस्तासँग आफूलाई क्रमशः साक्षत्कार गर्ने उनका प्रेस संयोजक रामशरण बजगाईंले बताए।
यसले लोकतान्त्रिक अधिकार उपभोग गरिरहेको अहिलेको समाज र बोल्ने, लेख्ने, दल खोल्ने तथा संगठित गतिविधि गरे सजाय हुने त्यसबेलाको समाजको भेदलाई बुझ्नसमेत सघाउने ओलीको विश्वास छ।
विचार र वाक् स्वतन्त्रतामा बन्देज रहेको र दलहरुमाथि प्रतिबन्ध रहेको निरंकुश पञ्चायती व्यवस्थाको कठोर कालखण्डमा राज्यविरुद्धको अपराधको झटा मुद्दा लगाएर ओलीलाई १४ वर्ष कारावास राखिएको थियो । १४ वर्षको जेल जीवनमध्ये ४ वर्षसम्म ओलीलाई गोलघरमा राखिएको थियो।
भिडिओ
प्रतिक्रिया