ad ad

राजनीति


अब विमानस्थलमै पर्यटकले भन्नेछन् : बुद्धको देश आइयो

अब विमानस्थलमै पर्यटकले भन्नेछन् : बुद्धको देश आइयो

सीबी अधिकारी
पुस १९, २०७६ शनिबार ११:१०,

मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई ‘बुटिक एयरपोर्ट’ बनाउने अवधारणाअनुरुप धमाधम साजसज्जा र स्वरुप परिवर्तन गर्ने कार्य भइरहेको छ। सोहीअन्तर्गत अन्तर्राष्ट्रिय विमानस्थलमा शाक्यमुनि भगवान् गौतमबुद्धको प्रतिमा स्थापना गरिएको छ। विमानस्थलको आवागमन कक्षसँगै निर्माण गरिएको बुद्धको प्रतिमाको आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अनावरण गरे।

‘वेलकम टु द ल्यान्ड अफ लर्ड बुद्ध’ लेखिएको बुद्धको प्रतिमा सजाइएको छ। बुद्धको प्रतिमा स्थापित भएसँगै अब विदेशी पर्यटकले जहाजबाट ओर्लने बित्तिकै बुद्धको देश नेपालमा आएको अनुभव गर्नेछन्। पर्यटनमन्त्री भट्टराईले बुद्धको प्रतिमाले विदेशी पर्यटकलाई विमानस्थलमा ओर्लेपछि बुद्धको देशमा प्रवेश गरेर आनन्दको महसुस गराउने बताए।

‘यात्रुको आवागनमा सहजै देखिने गरी बुद्धको प्रतिमा स्थापना गर्ने भन्ने योजना बनेको थियो, त्यसअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रुको आगमन कक्ष सामुन्ने स्थापित गरेका छौँ, जहाजबाट ओर्लने बित्तिकै बुद्धको देश नेपालमा आइयो भन्ने उहाँहरुलाई अनुभव पैदा हुन्छ। यसले छुट्टै आनन्दको महसुस गराउनेछ’, मन्त्री भट्टराईले भने।

करिब एक टन वजनको बुद्धको प्रतिमाको लागत रु ७० लाख रहेको विमानस्थल कार्यालयले जनाएको छ। यसमा झण्डै २४ लाखको सुनको जलप लगाइएको छ। उक्त बुद्धको प्रतिमा पाटनका कालिगड अमिर शाक्यले बनाएका हुन्।

बुद्धको प्रतिमामा अब कुनै पनि पर्यटकले बुद्धसँगै बसेर फोटो खिच्न सक्नेछन्, सहज रुपमा अवलोकन गर्न पाउनेछन्। बुद्धको प्रतिमा स्थापित भएसँगै विमानस्थललाई सुन्दर बनाउने काम शुरु भएको पर्यटनमन्त्री भट्टराईले बताए। उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टका रुपमा रुपान्तरण गर्ने बाँकी कामहरु क्रमशः अघि बढाइने उल्लेख गरे।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनबमोजिम सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टका रुपमा रुपान्तरण गर्ने निर्णय गरेको थियो। सन् २०२० को भ्रमण वर्षकै सिलसिलामा यो काम अघि बढाउने सरकारको योजना छ। अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टमा रुपान्तरण गर्ने विभिन्न आइटममध्ये बुद्धको प्रतिमा एक महत्वपूर्ण पाटो हो।

जहाजबाट ओर्लेपछि आगमनतर्फ लम्किँदै गर्दा टर्मिनल छिर्ने ढोकैनेर ठूलो अक्षरमा ‘वेलकम टू नेपाल’ लेखिएको छ, जसलाई नेपालको कला, संस्कृति झल्कने कागजको फ्रेमले सजाइएको छ। त्यसको ठीक पछाडि गरुडले नमस्ते गरेको मूर्ति देख्न सकिन्छ। जुन विदेशी पर्यटकका लागि ‘सेल्फी जोन’ बनेको छ। योसँगै अब बुद्धको प्रतिमा पर्यटकलाई सेल्फी खिच्ने मुख्य क्षेत्र बन्नेछ।

विमानस्थलभित्र नेपाली मौलिक कलासंस्कृतिको विशेषता झल्कने सामग्रीको साजसज्जाले बुटिक एयरपोर्टको अवधारणालाई सार्थक तुल्याउने पर्यटनमन्त्रीको भनाइ थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बुटिक एयरपोर्टको अवधारणाअनुरुप अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको अघिल्तिर ‘क्यानोपी’ राख्ने र यसले यात्रुलाई घामपानीमा सहज व्यवस्थापन गर्न सकिने बताए।

उनले अन्तर्राष्ट्रिय विमानस्थलको भित्रीतर्फ मर्मतको कामका लागि टेन्डर प्रक्रिया अघि बढिसकेको तथा आन्तरिक टर्मिनलतर्फ पनि प्रधानमन्त्रीको निर्देशनबमोजिम ‘परम्परागत मौलिकता झल्कने, आधुनिकता टल्कने’ गरी टेन्डर सम्पन्न भइसकेको छ। बाँकी काम छिट्टै शुरु हुँदैछ। करिब चार महिनाभित्र बुटिक एयरपोर्टको सम्पूर्ण काम सकिने महानिर्देशक पोखरेलले बताए।

विमानस्थलको भित्रपट्टि छिर्नासाथ ताउलोमा सजिएका फूल, पुरातात्विक महत्वका सम्पदा, मठमन्दिर आदि झल्कने विविध तस्बिरले पाहुनालाई मोहित तुल्याउँछ। पर्यटक आगमन कक्षमा सजिएकी जीवित देवी कुमारीको आकर्षक मूर्तिले पाहुनाको ध्यान खिच्छ। अन्तर्राष्ट्रिय विमानस्थलको बदलिँदो स्वरुपले जो कोहीलाई आकर्षण गर्छ।

पछिल्लो समय विमानस्थलको रूप फेरिएको छ। यहाँबाट बाहिरिने र भित्रिने दुवैखाले यात्रुले अब केही फरक अनुभूति गर्नेछन्। किनकि विमानस्थलको भित्री रूप लोभलाग्दो गरी सुधारिएको छ। बाहिर पनि आकर्षक ढंगले सजाइँदैछ।

विमानस्थलको स्तरोन्नतिका साथै सेवालाई गुणस्तरीय र प्रभावकारी बनाई पर्यटकलाई आकर्षित बनाउन मन्त्रालय, नियामक निकाय प्राधिकरण र विमानस्थल कार्यालय लागिपरेको छ। पर्यटनमन्त्री भट्टराईले विमानस्थलको स्वरुप बदल्ने अभियानलाई चासोपूर्वक लिएका छन्। विमानस्थलको रुप परिवर्तनमात्र हैन सेवा छिटोछरितो, गुणस्तर तथा आधुनिकतायुक्त बनाउन पनि मन्त्रीले पटक–पटक विमानस्थको अनुगमन तथा निर्देशन दिँदै आएका छन्।

Image may contain: 5 people, people standing and outdoor

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बुटिकको अवधारणाअनुरुप अन्तर्राष्ट्रिय विमानस्थललाई मौलिक कला र संस्कृतिसहित आधुनिक प्रविधियुक्त बनाउने कार्य भइरहेको बताए। अन्तर्राष्ट्रियजगत्मा नेपालको पहिचान दिने र पहिलो प्रभाव नै विमानस्थलबाट पर्ने भएकाले विमानस्थलको रूप बदल्न लागि सरोकारवाला निकाय लागिपरेका छन्।

विमानस्थलभित्र सबै सेवा प्रदायक कम्पनीले पनि बुटिकको अवधारणाअनुरुप अफ्ना सेवा प्रवाह स्थललाई सजाएका छन्। बुटिक एयरपोर्टको कामलाई समन्वय गर्ने विमानस्थलकी वरिष्ठ अधिकृत इन्जिनियर अञ्जना भट्टले बुटिक विमानस्थको दोस्रो चरणको काम प्रभावकारी रुपमा अघि बढेको र करिब छ महिनाभित्र यो काम सकिने बताइन्।

उनका अनुसार बुटिकको बाँकी कामका लागि रु ३२ करोड बजेट विनियोजन भइसकेको छ। अघिल्लो वर्ष समयमै बजेट नहुँदा बुटिकको काम ढिला भए पनि यो वर्ष समयमै सम्पन्न गर्ने लक्ष्य रहेको इन्जिनीयर भट्टले बताए। विमानस्थललाई सफा र चिटिक्क पारिएको छ। यात्रु आवागमन र प्रस्तान दुवै कक्षमा व्यवस्थित रुपमा सेवा प्रवाहको वातावरण बनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .