ad ad

राजनीति


‘गरिबमारा’ भन्दै जब प्रधानमन्त्री प्रचण्डकै अगाडि नारा लाग्यो

विरोधमा उत्रिएका युवाको प्रहरीले मुख थु्निदियो
‘गरिबमारा’ भन्दै जब प्रधानमन्त्री प्रचण्डकै अगाडि नारा लाग्यो

प्रचण्डविरुद्ध नारा लगाउने युवालाई पक्राउ गरिँदै


नेपालखबर
चैत ७, २०७९ मंगलबार १६:१७, काठमाडौँ

मंगलबार गोरखा पुगेर फर्किएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड काठमाडौंको थापागाउँ आइपुगे।

त्यहाँ उनी ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवस (२१ मार्च) लाई सम्बोधन गर्न पुगेका थिए।

सोमबार मात्रै संसदबाट विश्वासको मत लिएर सरकार विस्तारको तयारीमा रहेका प्रचण्ड थापागाउँस्थित पार्टी प्यालेसमा पस्नेबित्तिकै माहोल तनावपूर्ण बन्यो।

कडा सुरक्षाबीच प्रचण्ड बानेश्वर बान्क्वेटमा भएको कार्यक्रमलाई सम्बोधनका लागि पस्नेबित्तिकै हलमा नाराबाजी सुरु भयो।

हलमै रहेका युवाहरुले प्रचण्डविरुद्ध नाराबाजी गर्न थालेपछि प्रहरीलाई केही बेर संकट पर्यो। प्रचण्ड हलमा छिर्नेबित्तिकै ब्याक गर्, मिटर ब्याज ब्याक गर् सहितका नारा उनीहरुले लगाए।

प्रचण्डसँग आफ्ना कुरा राख्न पाउनुपर्ने माग गरिरहेका उनीहरुलाई प्रहरीले तत्कालै धरपकड गर्यो। 

प्रहरीले धरपकड गर्दै ती युवाहरुलाई मुखसमेत थुनेर बाहिर निकाल्दै गर्दा प्रचण्ड हलतिर छिरे।

उनीहरुले ‘गरिबमारा प्रचण्ड मुर्दावाद, मूल्यवृद्धि खारेज गर्, नालायक सरकार होसियार, मिटर ब्याज ब्याक गर्, युवाहरुलाई मार्न पाइँदैन, यस्तो सरकार चाहिँदैन जस्ता नारा लगाए। 

प्रहरीले मुख  नै थुन्दै बाहिर निकाल्दै गर्दा ती युवाले 'आतंककारी प्रचण्ड मुर्दाबाद'को नारासमेत लगाउन भ्याए।उनीहरुलाई नारा लगाउन नदिन प्रहरीले मुख थुनिदियो भने लछारपछार पार्दै पार्टी प्यालेसबाट बाहिर निकाल्यो। त्यसपछि प्रचण्डले केहीबेर भाषण गरेर त्यहाँबाट बाहिरिए। 

आफूहरुलाई स्वतन्त्र युवा अभियन्ता भनेर प्रचण्डविरुद्ध नारा लगाउने तीनजनालाई प्रहरीले त्यहाँबाट पक्राउ गरेको थियो। 

काठमाडौं प्रहरी परिसरका एसपी सीताराम रिजालका अनुसार तीनजनालाई पक्राउ गरेर बानेश्वर वृत्तमा राखिएको छ।

पक्राउ पर्नेमा ३० वर्षीय सोम शर्मा, बाग्लुङ, १८ वर्षीय विप्लव खड्का, बझाङ र २३ वर्षीय उद्धव बस्नेत, सोलुखुम्बु रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .