प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै आफूलाई ब्याज तिर्न बाँकी रहेको बताएका छन्।
सोमवार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।
ओलीलाई आफूले दुई पटक प्रधानमन्त्री बनाएकाले अझै एक पटक ओलीले आफूलाई प्रधानमन्त्रीमा सहयोग
गर्नुपर्ने बताए। उनले अझै एक प्रधानमन्त्री बनाएको ऋण तिर्न बाँकी रहेकाले त्यसको हिसाव राख्न आग्रह गरे।
‘ओलीजीलाई मैले आभार व्यक्त गरेको छु तपाईंले मलाई प्रधानमन्त्री बनाउनु भयो। मैले तपाईंलाई २ पटक प्रधानमन्त्री बनाएको थिएँ, तपाईंले मलाई ब्याज तिर्नुपर्ने थियो', उनले भने, 'ऋण तिर्नुपर्ने थियो। अझै एक पटक बाँकी छ, हिसाव राख्नुहोला।’
दाहालले सम्बोधनका क्रममा ओलीले आफूलाई वैशाखसम्म सरकारबाट हटिसक्ने दाबी गरेको पनि बताए।
ओलीले वैशाखसम्ममा आफू नेकपा एमालेसँगै राष्ट्रपतिको बाँयापट्टी लबिमा आइपुग्ने दाबी गरेको उल्लेख गर्दै त्यसको निर्णयको जिम्मा सांसदहरुलाई छोडेको पनि बताए।
‘त्यतिबेला उहाँले तपाईं वैशाखभन्दा उता जानु हुन्न भन्नुभएको छ। उहाँले भनेका वैशाखमा राष्ट्रपतिको बाँयापट्टी लबिमा तपाईं र म एकैठाउँमा हुन्छौं भन्नुभएको छ। उहाँको भनाइलाई पुष्टि गर्ने कि हामी सबैको हातमा छ’, उनले भने।
प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री बनाइदिनुस् भनेर बालकोट नगएको बरु एमालेले बारम्बार बोलाएपछि पुगेको स्पष्ट पारे। उनले एजेण्डा नमिलेका कारण एमालेसँगको सहकार्य टुटाउनुपरेको बताए।
प्रतिक्रिया