राजनीति


प्रधानमन्त्रीले आगामी सोमबार विश्वासको मत लिने

प्रधानमन्त्रीले आगामी सोमबार विश्वासको मत लिने

फाइल तस्बिर


नेपालखबर
चैत १, २०७९ बुधबार १३:४६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगमी चैत ६ गते विश्वासको मत लिने भएका छन्।

उपराष्ट्रपतिको चुनाव चैत ३ गते सकिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिने भएका हुन्। 

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले उपराष्ट्रपतिको चुनावपछि विश्वासको मत लिने तयारी भएको बताए।

'प्रधानमन्त्रीले चैत ६ या ७ गते विश्वासको मत लिनु हुन्छ', गजुरेलले नेपालखबरसँग भने, 'त्यसका लागि सरकारलाई समर्थन गर्ने दलहरुसँग छलफल भइरहेको छ।' 

गजुरेलका अनुसार संसदमा दर्ता भएका सत्यनिरुपण मेलमिलाप आयोगसम्बन्धी विधेयक पनि अगाडि बढाउने गरी छलफल चलिरहेको छ।

यसअघि स्थगित संसद बैठक आगामी गतेका लागि तय गरिएको छ। हाल सभामुख देवराज घिमिरे बहराइन छन्। उनी आएलगत्तै संसद बैठक पनि बस्नेछ। 

पुस १० गते समर्थन दिएको एमालेले फागुन १५ गते फिर्ता लिएसँगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ। 

१० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड ६४ दिनमै अल्पमतमा परेका थिए। त्यसपछि फागुन २५ मा राष्ट्रपति र चैत ३ मा उपराष्ट्रपति चुनाव भएकाले यसबीचमा उनले विश्वासको मत लिन पाएका थिएनन्। 

नेकपा एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेका प्रधानमन्त्रीलाई अब नेपाली कांग्रेसले समर्थन दिएपछि सरकार सुरक्षित हुनेछ।

प्रचण्डलाई कांग्रेससँगै माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पनि समर्थन गर्ने भएको छ। 

यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सरकार छोड्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। पुस १० गते ३ स्वतन्त्रसहित ७ दलका १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए।

तर एमाले र राप्रपाले पनि साथ छाडेपछि प्रचण्ड अल्पमतमा छन्। तर अब कांग्रेससहित १० दलीय गठबन्धन बनेकाले उनको सरकार सजिलै टिक्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .