ad ad

राजनीति


साढे ७ वर्षपछि आज शीतल निवास छाड्दै निवर्तमान राष्ट्रपति भण्डारी

साढे ७ वर्षपछि आज शीतल निवास छाड्दै निवर्तमान राष्ट्रपति भण्डारी

नेपालखबर
फागुन २९, २०७९ सोमबार ८:१८, काठमाडौँ

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी झन्डै साढे ७ वर्षपछि आज शीतल निवास छाड्दै छिन्। दुई कार्यकाल राष्ट्रपति भएकी भण्डारीको दोस्रो कार्यकाल पनि हिजो फागुन २८ गते सकिएपछि राष्ट्रपति निवास छाड्न लागेकी हुन्। 

भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले आज दिउँसो २ बजेसम्ममा निवर्तमान राष्ट्रपति भण्डारीले शीतल निवास छाड्ने जानकारी दिए। 

‘नवनिर्वाचित राष्ट्रपति (रामचन्द्र पौडेल) को शपथ (दिउँसो) १ बजे छ, सवा १ सम्ममा शपथ कार्यक्रम सकिएला मेरो अनुमानमा’, उनले भने, ‘यसैले उहाँ १ बजेदेखि २ बजेको बीचमा सर्नुहुन्छ होला।’

निवर्तमान राष्ट्रपति भण्डारीले आजै शीतल निवास छाड्ने निश्चित भए पनि उनी कहाँ जाने भन्ने टुंगो लागिसकेको छैन। किनकि बूढानीलकण्ठस्थित उनको घरको मर्मत जारी छ। 

‘बूढानीलकण्ठको घर मर्मत पूरा भइसकेको छैन, त्यही भएर आज उहाँ छोरीको घर (बालुवाटार) जानुहुन्छ कि? तर अहिले टुंगो लागिसकेको छैन। बिहान १०/११ बजेसम्ममा टुंगो लाग्ला’, सोमबार बिहान अधिकारीले नेपालखबरसँग भने।  

भण्डारी संविधान घोषणापछि २०७२ कात्तिक ११ गते पहिलोपटक राष्ट्रपति बनेकी थिइन्। पहिलो कार्यकाल सकिएपछि उनी दोस्रोपटक २०७४ फागुन २९ गते राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्।

दुई कार्यकाल गरेर उनी शीतल निवासमा ७ वर्ष ४ महिना बसिन्। 

यसैबीच नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल आजै बोहराटारस्थित निजी निवासबाट शीतल निवास सर्ने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .