राजनीति


नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ आज

नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ आज

नेपालखबर
फागुन २९, २०७९ सोमबार ६:११, काठमाडौँ

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज (सोमबार) पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्। 

राष्ट्रपतिको कार्यालयले पौडेलको शपथको समय दिउँसो १ बजेको लागि निर्धारण गरेको छ।

राष्ट्रपति कार्यालयमा विशेष समारोहको आयोजना गरी नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ ग्रहणको तयारी गरिएको राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।

नवनिर्वाचित राष्ट्रपति पौडललाई कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउने कार्यक्रम छ।

नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ। 

हाल सर्वोच्च अदालत प्रधानन्यायाधीशविहीन भएकाले पौडेलले कामु प्रधानन्यायाधीश समक्ष सपथ ग्रहण गर्न लागेका हुन्।
 
पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए। उनले आफ्ना प्रतिस्पर्धी सुवासचन्द्र नेम्वाङलाई दोब्बरभन्दा बढी मतान्तरले पराजित गरेका थिए। 

३३ हजार आठ सय दुई मतभार प्राप्त गरी पौडेल विजयी हुँदा नेम्वाङले १५ हजार पाँच सय १८ मतभार मात्रै प्राप्त गरेका थिए।
 
संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने उल्लेख छ। 

संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ। नेपालमा विसं २०६२/६३ को आन्दोलनको उपलब्धिका रुपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास सुरु भएको हो। 

राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने संवैधानिक व्यवस्था छ। त्यसैगरी दुई पटकसम्म राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनःउम्मेदवार हुन नपाउने व्यवस्था पनि संविधानमा गरिएको छ।

गणतन्त्र स्थापनापछि मुलुकले डा.रामबरण यादवलाई पहिलो राष्ट्रपति पाएको थियो। हालकी राष्ट्रपति विद्यादेवी भण्डारी दुई कार्यकाल मुलुकको राष्ट्रपति बनिन्। 

दुई कार्यकाल राष्ट्रपति बनेकी भण्डारीको आजै बिदाइ हुँदैछ। आफ्नो कार्यकालको अन्तिम दिन आइतबार भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा शीर्ष राजनीतिक नेतृत्वसँग सामूहिक भेट गरेकी छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad