राजनीति


‘प्रधानमन्त्री’ पाए मात्र कांग्रेस सरकारमा जानुपर्छ, नत्र विपक्षमै बस्नुपर्छ– कल्याण गुरुङ

‘प्रधानमन्त्री’ पाए मात्र कांग्रेस सरकारमा जानुपर्छ, नत्र विपक्षमै बस्नुपर्छ– कल्याण गुरुङ

नेपालखबर
फागुन २७, २०७९ शनिबार १२:१०, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले आफ्नो पार्टी प्रधानमन्त्री पद पाए मात्र सरकारमा सहभागी हुनुपर्ने बताएका छन्। 

केन्द्रीय सदस्य गुरुङले शनिबार सामाजिक सञ्जालमा ‘व्यक्तिगत धारणा’ सार्वजनिक गर्दै आफूले नेतृत्व नपाउने अवस्थामा कांग्रेस प्रतिपक्षमै बस्नु उपयुक्त हुने सुझाव पार्टीलाई दिएका हुन्। 

अहिलेको अवस्था (माओवादी नेतृत्वको सरकार) मा कांग्रेस सरकारमा सहभागी भए आफ्नो पार्टी संवैधानिक परिषद्‌मा सहभागी हुन नपाउने उनले उल्लेख गरेका छन्। संवैधानिक परिषद्‌मा प्रधानमन्त्री अध्यक्ष र विपक्षी दलको नेता सदस्य हुने व्यवस्था भएकाले बरु कांग्रेस प्रतिपक्षमै बस्नु उपयुक्त हुने तर्क गुरुङले गरेका छन्। 

‘नेपालको संविधानको धारा– २८४ मा भएको ‘संवैधानिक परिषद्‌सम्बन्धी व्यवस्था’लाई गम्भीरतापूर्वक अध्ययन र मनन गरौँ’, गुरुङले लेखेका छन्, ‘ नेपाली कांग्रेसले  ‘प्रधानमन्त्री’ नपाएसम्म संसद्‌मा प्रमुख ‘विपक्षी दल’मा नै बस्नुपर्छ।’ 

नेपाली कांग्रेसले आफ्नै नेतृत्वबाहेक अन्य कुनै पनि दलको नेतृत्वमा सरकारमा समावेश हुन नहुने गुरुङको भनाइ छ। 

‘नेपाली कांग्रेस अन्य कुनै पनि दलको नेतृत्वमा सरकारमा सहभागी भएलगत्तै उसको प्रमुख विपक्षी दलको हैसियत प्रतिनिधि सभामा रहँदैन र उसले प्रतिनिधि सभाको विपक्षी दलको नेताको हैसियतमा ‘संवैधानिक परिषद्’मा भाग लिन पाउँदैन।’

प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको ‘संवैधानिक परिषद्‌’मा प्रतिनिधित्व नहुनु बहुदलीय संसदीय व्यवस्था र वर्तमान संविधानको मूल मर्म र भावना विपरीत हुने तर्क उनले गरेका छन्। 

‘के प्रतिनिधि सभामा भएको सबैभन्दा ठूलो दलको प्रतिनिधित्व ‘संवैधानिक परिषद्’मा नहुने वा नरहने अवस्थाको परिकल्पना यो संविधान निर्माण गरिएको समयमा गरिएको थियो र? के प्रतिनिधि सभामा भएको सबैभन्दा ठूलो दलको प्रतिनिधित्व ‘संवैधानिक परिषद्‌’मा नहुने वा नरहने अवस्थाको परिकल्पना संसारको कुनै पनि बहुदलिय संसदीय व्यवस्था भएको मुलुकको संविधानमा गरिएको छ र? के यस्तो अवस्थाको परिकल्पना बहुदलीय संसदीय व्यवस्था (जसलाई नेपाली कांग्रेसले मुख्य आदर्शको रूपमा स्वीकार गर्दछ) मा गरिएको छ र’, गुरुङले भनेका छन्, ‘यसैले नेपाली कांग्रेसले ‘प्रधानमन्त्री’ नपाएसम्म प्रमुख ‘विपक्षी दल’मा नै बस्नुपर्दछ र यो सैद्धान्तिक, संवैधानिक, लोकतान्त्रिक र आदर्श कदम नेपाल, नेपाली, बहुदलीय लोकतन्त्र र नेपाली कांग्रेसको हितमा हुन्छ।’

उनले यो आफ्नो ‘व्यक्तिगत विचार’ भएको उल्लेख गर्दै धेरैलाई अप्रिय लाग्न सक्ने पनि बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad