दसदलीय गठबन्धनमा कुरा नमिलेपछि जनमत पार्टीकी नेतृ ममता झाले उपराष्ट्रपति पदमा उम्मेदवारी दिने भएकी छन्।
साझा उम्मेदवार चयन गर्न भनेर आज बिहान बालुवाटारमा आम जनता पार्टीका अध्यक्ष प्रभु साहसमेत १० दलका शीर्ष नेताको बैठक बसेको थियो। तर बैठकमा एउटै उम्मेदवार चयन गर्न विषयमा सहमति हुन नसकेपछि जसपा र जनमत पार्टीले आआफ्ना उम्मेदवारलाई उपराष्ट्रपतिमा उठाउन लागेका हुन्।
लगत्तै जनमत पार्टीकी नेतृ ममता झा उम्मेदवारी दर्ताको फर्म लिन निर्वाचन आयोगले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेकी हुन्।

बैठकमा सहभागी एक नेताका अनुसार आज जसपा र जनमत दुवै पार्टीबाट उम्मेदवारी दर्ता गराउने र भोलि सहमतिमा एक जनाको उम्मेदवारी फिर्ता लिने समझादरी बनेको छ।
यसअघि नै जसपाले संसदीय दलका नेता रामसहायप्रसाद यादव र जनमतले ममता झालाई उपराष्ट्रपतिकाे उम्मेदवारका रुपमा अघि सारिसकेका छन्।
आज बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्मका लागि उपराष्ट्रपतिमा उम्मेदवारी दर्ताको समय खुला गरिएको निर्वाचन आयोगले जनाएकाे छ।
Shares

प्रतिक्रिया