नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीप्रति नयाँ पुस्तालाई आकर्षित गराउनुपर्ने बताएका छन्।
एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेपाल खेलकुद महासङ्घका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ ग्रहण समारोहलाई शुक्रबार सम्बोधन गर्दै उनले नयाँ पुस्तालाई खेलमा आकर्षित गरेर पार्टीमा ल्याउनुपर्ने बताएका हुन्।
'खेलमार्फत नयाँ पुस्तालाई नजिक ल्याउँछौँ । नजिक ल्याएपछि कार्यकर्ता हुन्छन्', उनले भने।
अध्यक्ष ओलीले आफू क्षणिक राजनीतिक खेलमा सामेल नहुने तर्क गरे।
उनले एमाले देश बनाएर अगाडि बढ्ने र छोटो दौडमा नभई म्याराथुनमा कुद्ने पनि बताए।
अध्यक्ष ओलीले खेलाडीलाई खेलाडीमात्रै नभई समाज परिवर्तनको योद्धासमेत रहेको स्मरण गराए।
ओलीले मानिस गलत संगतमा नपरोस् भन्न सही सङ्गततिर ल्याउन राजनीतिमा सहभागी गराउनुपर्ने बताए।
उनले खेलाडीलाई अहङ्कार आफूभित्र प्रवेश गर्न नदिन पनि शालीन र विनम्र हुनुपर्ने बताए।
उनले देखिने गरी खेल क्षेत्रको विकास गर्न र राजनीतिलाई पनि सही बाटोमा डोर्याउने काममा महासङ्घले गर्नुपर्ने बताए।
उनले आफ्नो गन्तव्य ‘समृद्ध नेपाल र सुखी नेपाली’ रहेको बताएका छन्।
महासंघको विराटनगरमा भएको दोस्रो राष्ट्रिय अधिवेशनले चुनाव नै नगरी परशुराम बस्नेतको अध्यक्षतामा नयाँ केन्द्रीय कमिटी बनाएको थियो।
प्रतिक्रिया