राजनीति


प्रचण्डको मुद्दा जनयुद्धविरुद्धको आक्रमण, प्रतिरोधमा उत्रिन तयार छौँ : विप्लव

प्रचण्डको मुद्दा जनयुद्धविरुद्धको आक्रमण, प्रतिरोधमा उत्रिन तयार छौँ : विप्लव

नेकपा महासचिव नेत्रविक्रम चन्द 'विप्लव'। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
फागुन २६, २०७९ शुक्रबार १७:५१, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनयुद्धलाई अपराधीकरण गरेर उपलब्धि विनाश गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मुद्दा लगाइएको बताएका छन्।

शुक्रवार चार कम्युनिष्ट पार्टीले संयुक्त मोर्चा घोषणाका लागि आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव विप्लवले प्रधामन्त्री तथा माओवादी अध्यक्ष दाहालविरुद्ध मुद्दा लगाएर गणतन्त्रलाई पश्चगामी र दलाल पुँजीपतिको हातमा दिने षड्यन्त्र गरिएको बताए। 

उनले प्रतिक्रान्तिकारी सन्देश दिने उद्देश्यका साथ मुद्दा हालिएको भन्दै त्यसको जवाफ दिनका लागि आफूहरु तयार रहेको बताए। 

विप्लवले क्रान्तिको नेतृत्व गर्ने नेतालाई व्यक्तिगत रुपमा मुद्दा लगाउनु क्रान्तिलाई अस्वीकार गर्ने प्रवृत्तिसँग सम्बन्धित रहेको उल्लेख गरे। महासचिव विप्लवले उक्त मुद्दालाई अस्वीकार गर्ने पनि जिकिर गरे।

यो मुद्दा गणतन्त्रलाई पनि सहन नसक्ने प्रवृत्तिको हमला हो। अथवा गणतन्त्रलाई सम्पूर्ण रुपले  पश्चगामी र दलाल पूँजीपती वर्गको हातमा हाल्दिने षड्यन्त्र र जसले  विश्वमा र नेपालमा एउटा परिवर्तनकारी आन्दोलनको नेतृत्व गरेको थियो त्यो सम्भव छैन’, उनले भने, ‘प्रतिक्रान्तिकारी सन्देश दिने उद्देश्यका साथ यो मुद्दा हालिएको छ । क्रान्ति भनेको पुरानो सत्ताले खडा गरेका अन्तरविरोध, समस्या, संकट, दमन, उत्पीडनहरुविरुद्ध हुने चिज हो। त्यो जनतासँग सम्बन्धित कुरा हो। पार्टी वा नेताले त्यसको नेतृत्व गर्ने हो । त्यो कुरालाई एउटा व्यक्तिमा लगेर जोडेर जसरी हमला गर्न खोजिन्छ, त्यो चाहिँ क्रान्ति अस्वीकार गर्ने, ध्वंस गर्ने प्रवृत्तिसँग सम्बन्धित छ। त्यसैले हामीले अस्वीकार गरेका छौँ।’ 

जनयुद्धलाई अपराधीकरण गर्ने र उपलब्धिहरुलाई विनाश गर्न खोज्ने प्रवृत्तिसँग आफूहरु लड्ने उनले बताए। 

‘त्यसको कुनैपनि जवाफ दिन हामी तयार छौँ । यो जनयुद्धमाथिको आक्रमण हो। परिवर्तनमाथिको आक्रमण हो। उपलब्धिमाथिको पनि आक्रमण हो। जसले क्रान्ति गरेर यी चिजहरु लिएर आयो, त्यसलाई पनि अस्वीकार गर्ने, अपराधीकरण गर्ने हमला छ, त्यो प्रचण्डको व्यक्तिगत मामिला होइन’, उनले भने, ‘यो राज्यको मामिला हो। जनताको मामिला हो। जनताको अधिकारलाई पनि झन छिन्नभिन्न पार्ने, समाप्त पार्ने षड्यन्त्र हो। त्यसकारण हामी उत्रेको प्रचण्डको कुरा मात्रै होइन यो ।’

महासचिव चन्दले प्रचण्डमाथिको मुद्दा व्यक्तिगत मामिला मात्रै नभएर राज्य र जनताको मामिला भएको भन्दै आफूहरु त्यसको प्रतिरोधमा उत्रेको बताए। 

उनले माओवादी घटकहरु एक हुने सम्भावना रहेको बताउँदै त्यसनिम्ति छलफल पनि भइरहेको जानकारी दिए। 

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .