राजनीति


साना चार कम्युनिस्ट पार्टीद्वारा संयुक्त मोर्चा घोषणा

साना चार कम्युनिस्ट पार्टीद्वारा संयुक्त मोर्चा घोषणा

नेपालखबर
फागुन २६, २०७९ शुक्रबार १८:२, काठमाडौँ

साना चार कम्युनिस्ट पार्टीहरुले संयुक्त मोर्चाको घोषणा गरेका छन्। 

शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै चार साना कम्युनिस्ट पार्टीहरुले संयुक्त मोर्चाको घोषणा गरेका हुन्।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल र कर्णजित बुढाथोकी सुशिल नेतृत्वको नेकपा माओवादी समाजवादी पार्टीले संयुक्त मोर्चाको घोषणा गरेका हुन्।

मोर्चाको नाम समाजवादी, देशभक्त मोर्चा हुने बताइएको छ। 

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले मोर्चाले साम्राज्यवादी अतिक्रमण र हस्तक्षेपको विरुद्धमा स्वाधिनताको नेतृत्व गर्ने बताए। उनले देश गोलचक्करमा फसिरहेको भन्दै देशलाई अग्रमनको मार्गमा लाने प्रयत्न गरिने बताए। 

उनले भने, हामीले आँट गरेका छौँ। हामी सहमत भएका छौँ। एकरुपतामा गएका छौँ कि, यो संयुक्त मोर्चामा समाजवादी, देशभक्त संयुक्त मोर्चा जुन बनेको छ हाम्रो यो मोर्चाले देशको विकेन्द्रित स्थितिलाई एकतावद्ध गर्ने पहल गर्नेछ। संकटलाई निकासमा लैजाने नेतृत्व गर्नेछ। यथास्थितिलाई क्रान्तिमा बदल्ने नेतृत्व लिनेछ। जनताको अधिकारहरुलाई स्थापित गर्नलाई यसले नेतृत्व लिनेछ। यसले साम्राज्यवादी अतिक्रमण र हस्तक्षेपको बिरुद्धमा स्वाधिनताको नेतृत्व गर्नेछ। यसले आज गोलचक्करमा फसिरहेको नेपालमा सु–स्पष्ट मार्गमा एउटा क्रान्ति, परिवर्तन र अग्रगमनको मार्गमा लिएर जानेछ। हाम्रो प्रयत्न त्यो दिशामा रहनेछ। त्यसैले एकमुष्टमा संयुक्त मोर्चा के हो भन्नुभयो भने एकता, अग्रगमन, क्रान्ति, निकास, स्वाधिनताको एउटा केन्द्रिकृत अभिव्यक्तिको रुपमा संयुक्त मोर्चा अगाडि आएको छ।’

मोर्चाले केन्द्रिय समिति बनाउने र केन्द्रिय समितिमा अध्यक्ष मण्डल रहने जनाइएको छ। अध्यक्ष मण्डलले अध्यक्ष तोक्ने र अध्यक्षको कार्यकाल एक वर्षको हुने नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए।

उनका अनुसार मोर्चाको केन्द्रीय, प्रदेश र जिल्ला संगठन हुनेछ। केन्द्रीय समितिमा १५देखि २१ जनासम्म र जिल्लामा ११ देखि १५ जनासम्म रहने उनले बताए।

मोर्चाले राष्ट्रिय स्वाधिनता सम्बन्धी, वैज्ञानिक समाजवाद तथा जनवाद सम्बन्धी, जनजीविका सम्बन्धी र विभिन्न संघर्षका कार्यक्रम गर्ने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad