नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संगठन (नेविसंघ) को सिटौला समूहले स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) चुनावमा वास्तविक र लोकप्रिय विद्यार्थी नेतालाई उम्मेदवार नबनाए विद्रोह गर्ने चेतावनी दिएको छ।
१४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन आगामी चैत ५ गते हुँदै छ। यसका लागि भोलि (फागुन २७ गते) उम्मेदवारी दर्ता गरिँदै छ।
त्यसको अघिल्लो दिन आज (शुक्रबार) बिहान पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट विद्यार्थीहरूले काठमाडौँमा विशेष भेला सम्पन्न गरेका हुन्। नेविसंघका संस्थापन र इतर समूहबीच विवाद चर्किदै जाँदा ‘तेस्रो धार’ भनिने सिटौला समूहले आज विशेष भेला गरेको हो।

भेलाले ‘क्याम्पसमा विद्यार्थीमाझ भिजेका पुपलर र स्वाभाविक विद्यार्थीलाई उम्मेदवार नबनाए’ विद्रोह गर्ने निर्णय गरेको हो।
स्वाभाविक विद्यार्थीलाई उम्मेदवार नबनाएर आसेपासेलाई टिकट दिइए विद्रोह गर्ने चेतावनी उनीहरूले दिएका छन्।
त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको सभापति पदकी दाबेदार पद्मा भुसालको सभापतित्वमा आयोजित कार्यक्रममा गुटको नाममा लामो समयदेखि विधान, पद्धति र विद्यार्थीको आवाज उठाउन खोजेका नेतालाई पाखा लगाउने कुचेष्टा गरिएको आरोप लगाइएको हो। यसो गरिए देशभरिका क्याम्पसमा विद्रोह गर्ने चेतावनी उनीहरूले दिएका छन्।
भेलालाई सम्बोधन गर्दै लामो समयदेखि संगठन भनेर दुःख गरेका विद्यार्थीलाई कम आँक्ने काम भएमा हरेक क्याम्पसमा स्वतन्त्र उम्मेदवार उठाउने चेतावनी नेविसंघ पूर्व केन्द्रीय सदस्य नवराज त्रिपाठीले दिए। आफूले विधान कार्यन्वयन हुनुपर्छ भन्दै संगठनभित्र ३२ वर्षे उमेरहद लागू गराउन आमरण अनशनसमेत बसेको स्मरण गर्दै उनले विधान र विद्यार्थीको हितविपरीत हुने सबै क्रियाकलापको खुलेर प्रतिवाद गरिने बताए।
‘विद्यालय गएर नेपालको वास्तविक नक्सा सिकाउने अभियान, चिनौँ सिमाना जोगाऔँ माटो, मास्क मुभमेन्ट, टपर्सजस्ता दर्जनौँ क्रियटिभ कार्यक्रम गरेको, विधान कार्यन्वयन गर्न आमरण अनशन बसेको समूहलाई कम आँक्ने काम भयो र यदि बजारमा सुनेको हल्लाजस्तै अन्य कुनै दलसँग मिलेर स्ववियु निर्वाचनमा भाग लिए हरेक क्याम्पसमा हाम्रो स्वतन्त्र उम्मेदवार हुन्छन्,’ त्रिपाठीले भने।
नेविसंघका पूर्वमहामन्त्री तथा बागमती प्रदेशका सचेतक साथै नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेको प्रमुख आतिथ्यतामा भएको भेलामा कांग्रेस बागलुङ जिल्ला सभापति जित शेरचन, नेविसंघकै पूर्वमहामन्त्री बलदेव तिमल्सिना, पूर्वउपाध्यक्ष रामप्रसाद अधिकारी, पूर्वसहमहामन्त्री परमेश्वर शाह, पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठी, युवा नेता इन्दु शर्मा, लीला बल्लभ दाहाल, दीपेन्द्र क्षेत्री, सुशील भट्ट, दिपक ओझा, निराजन शाही, मनिष रायमाझी, राजकुमार उप्रेति, महेश पौडेल, शुभास घिमिरे, प्रशान्त लामिछाने, विनोद बराललगायतका उपत्यकाका अन्य सयौँ नेताकार्यकर्ता सहभागी भएको नेविसंघ नेता मनिस सिम्खडाले जानकारी दिए।
Shares

प्रतिक्रिया