नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मालिक खुसी बनाउनका लागि नेपालीको भान्सामा विषादीयुक्त तरकारी खुवाउने काम भइरहेको बताएका छन्। शनिबार स्थानीय तह कर्मचारी संघ, नेपालले अयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
‘हाम्रा कमन कुराहरु हुन, जुन हामीले उठाउनुपर्छ। त्यसको सन्दर्भमा हामी लड्नुपर्छ। अहिले सरकारमा बस्नेहरुलाई कुनै लाजशरम छैन’, अध्यक्ष ओलीले भने, ‘हाम्रा भान्सा भान्सामा बस्नेहरुलाई विषादीयुक्त चिज आउन दिने, खुवाउन दिने। मालिक खुशी हुन्छन् कि हुँदैनन् भन्ने हो।’
भारतलाई खुसी बनाउन तरकारीहरु नाकामा जाँचबुझ नगर्ने काम प्रधानमन्त्री प्रचण्डले गरेको ओलीको आरोप छ।
‘भारतलाई खुसी बनाउन तरकारीहरु नाकामा जाँचबुझ नगर्ने मालिक खुशी हुन्छन् भने नेपाली मरेर के भो? नेपालीका भान्सामा विषादी आएर के भयो भन्ने तवरले प्रधानमन्त्रीजीको आदेशमा सब्जी, तरकारीको कुनै जाँचबुझ गर्न पाइने छैन भनेको छ,’ ओलीले भने, ‘हामीसँग संयन्त्र नहुनु बेग्लै कुरा हो, भएको त जाँच्न पाउन पर्यो नि। तर नपाइने? किनभने छिमेकी खुशी पार्ने? अरु खुशी पार्ने? बाहिरका शक्तिलाई खुसी पार्ने, हाम्रा भान्सामा विषदीयुक्त खानेकुरा खुवाउने?’
प्रतिक्रिया