राजनीति


भारतले दियो दुई सय वटा मिर्गौला डायलाइसिस मेसिन

भारतले दियो दुई सय वटा मिर्गौला डायलाइसिस मेसिन

नेपालखबर
फागुन ८, २०७९ सोमबार १४:४५, काठमाडौँ

भारत सरकारले दुई सय वटा मिर्गौला डायलाइसिस मेसिन नेपाल सरकारलाई सहयोग स्वरुप उपलब्ध गराएको छ।

सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक समारोहकाबीच स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले सो मेसिन हस्तान्तरण गरेका हुन्।

करिव एक वर्षअघि नेपाल सरकारले भारत सरकारसमक्ष सो मेसिन उपलब्ध गराउन अनुरोध गरेको थियो। 

समारोहमा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री गिरीले सो मेसिन उपलब्ध गराएकोमा भारत सरकारप्रति आभार व्यक्त गरे।

त्यस अवसरमा उनले २०७२ सालमा गएको विनाशकारी भूकम्प र कोभिड संकटका बेला पनि भारत सरकारले गरेको मानवीय सहयोग नेपाल राष्ट्र र नेपाली जनताले सदास्मरण गरिरहने उल्लेख गरे।

मन्त्री गिरीले नेपाल–भारतबीचको सम्बन्ध आर्थिक तथा सामाजिक रुपले घनिष्ट रहँदै आएको ऐतिहासिक तथ्यलाई भुल्न नसकिने पनि बताए

उनले भने, ‘भूकम्प र भोभिडको समयमा पनि भारत सरकारबाट जुन खालको सहयोग भयो। त्यो अत्यन्तै उल्लेखनीय छ। महत्वपूर्ण छ । यो कुरा नेपाली जनताले सधैँभरी सम्झनयोग्य छ। म यसका लागि भारतीय राजदुतावासमार्फत भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिन चाहन्छु। कृतज्ञता पनि व्यक्त गर्न चाहन्छु। स्वास्थ्य क्षेत्रमा पनि थप सहकार्य गरेर अघि बढने विश्वास दिलाउन चाहन्छु।’

नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले नेपाली जनताको स्वास्थ्य अवस्थामा सुधार ल्याउने गरी नेपाल सरकारलाई सो मेसिन हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताए।

उनले नेपालसँगको मित्रतापूर्ण सम्बन्ध र विकास साझेदारीको कामलाई तिब्रताका साथ अघि बढाउन भारत सरकार सदैव अग्रसर रहेको र रहिरहने प्रतिवद्धता समेत व्यक्त गरे। नेपालको स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा पनि भारतले सक्दो सहयोग गर्ने उनको भनाई थियो।

भारतले कोभिड संकटका बेला मात्रै पनि १३२ वटा हेल्थ पोष्ट निर्माणमा आर्थिक सहयोग तथा  कोभिड भ्याक्सिनसहितका स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad