नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन्।
कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित नागरिक उन्मुक्तिका सांसद चौधरीलाई बिहीबार प्रहरीले बाँकेबाट प्रकाउ गरेको हो।
नेपाल प्रहरी केन्द्रीय प्रवक्ता डीआईजी पोषराज पोखरेलले चौधरीलाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको पुष्टि गरे।
'सांसद चौधरीलाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको छ', डीआईजी पोखरेलले नेपालखबरसँग भने, 'अहिले उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीतर्फ लगिँदैछ।'
१० वर्षअघि ट्याक्टर जलाएको मुद्दामा कैलाली जिल्ला अदालतले चौधरीलाई ६ महिना कैदको फैसला सुनाएको थियो।
अदालतको उक्त फैसलाअनुसार कैद सजाय भुक्तान नगरेका चौधरी मंसिर ४ को निर्वाचनमा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।
प्रतिनिधिसभा चौधरीसहित पर्शराम चौधरी र वीर बहादुर चौधरीलाई जिल्ला अदालत कैलालीले २०७० वैशाख ९ गते जनही ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई भराउने फैसला गरेको थियो।
साविकको बलिया गाविस ५ का महादेव बजगाईँले २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको निजी ट्याक्टर जलाएको आरोपसहित २०६७ भदौ २ गते जिल्ला अदालत कैलालीमा मुद्दा हालेका थिए।
उक्त मुद्दामा जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको एकल इजलासले तीनैजनालाई जनही ६ महिना कैद र बिगो असुल्न गर्न आदेश दिएका थियो।
उक्त घटनामा प्रहरीले गत शुक्रवार वीरबहादुरलाई पक्राउ गरिसकेको छ। फरार सूचीमा रहेका सांसद चौधरीलाई पनि प्रहरीले खोजी गरिरहेको थियो।
चौधरीले मुलुकी फौजदारी संहिता २०७४ को दफा १५५ बमोजिम नगद दाखिला गरी कैद मुक्त गरिपाऊँ भन्दै दिएको निवेदन अदालतले अस्वीकार गरिसकेको छ। उनलाई अदालतले ६ महिना कैद भुक्तान गर्न भनिसकेको छ।
एउटै मुद्दामा एक व्यक्तिले कैद भुक्तान गर्दा अर्का (प्रतिनिधि सभा सदस्य) निर्वाचित भएपछि पक्राउ गर्न दबाब परेको थियो।
चौधरी २०७४ मा लम्कीचुहाको मेयर र प्रदेश सभा सदस्यमा पराजित भएका थिए। तर मंसिर ४ को निर्वाचनमा उनी कैलाली क्षेत्र नम्बर २ बाट विजयी भएका हुन्।
के थियो अदालतको फैसला?
प्रतिक्रिया