राजनीति


ओलीलाई प्रचण्डको जवाफ : रविलाई गृहमा फर्काएर अदालतको मानहानि गर्नु हुँदैन

कानुनविदहरुसँग सल्लाह गरेर मात्रै निर्णय लिने
ओलीलाई प्रचण्डको जवाफ : रविलाई गृहमा फर्काएर अदालतको मानहानि गर्नु हुँदैन

बालुवाटारमा भेटवार्ताका क्रममा ओली र प्रचण्ड। तस्बिर : राजन काफ्ले


नेपालखबर
माघ १८, २०७९ बुधबार १७:१०, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अदालतको फैसलालाई चुनौती दिनेगरी कुनै काम नगर्ने प्रष्ट पारेका छन्। 

बुधबार बिहान सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली नागरिकता नहुँदा पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरि गृह मन्त्रालयमै ल्याउन दिएको सुझावको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो अडान लिएका हु्न्। 

उक्त भेटका क्रममा ओलीले संविधान, कानुनको कुराभन्दा पनि विगतमा भएको समझदारीलाई कार्यान्वयन गरेर जानुपर्ने धारणा राखेका थिए। 

‘कानुन र संविधानले के भन्छ भन्ने कुरा होइन,’ अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई भेटमा भने, ‘रविजीको पार्टीलाई गठबन्धनमा ल्याउँदा हामीले जे समझदारी गरेका थियौँ, त्यहीअनुसार कार्यान्वयन गर्नुपर्छ। यसो-उसो भनेर रोक्न मिल्दैन।’

जवाफमा प्रधानमन्त्रीले अदालतको आदेशलाई चुनौती दिनेगरी कुनै निर्णय गर्न नहुने बताएका हुन्।

‘अदालतको आदेश हेर्नुपर्‍यो, अहिलेसम्म फूल टेक्स्ट आएको छैन। अहिले नै हतार गरेर त्यही मन्त्रालयमा ल्याउनु कानुनलाई नमानेको, मानहानि गरेको हुन्छ,’ प्रधानमन्त्रीले भने, ‘संविधानको खिलाफमा हामी जान हुन्न। त्यसमाथि उहाँको (रवि) पार्सपोर्टको कुरा पनि रहेछ, त्यसमा फौजदारी अभियोग लाग्ने-नलाग्ने हेर्नुपर्‍यो।’

प्रधानमन्त्रीको कुरा सुनेपछि फेरि एमाले अध्यक्ष ओलीले बहाना गरेर गठबन्धन दललाई बिच्काउन नहुनेमा सचेत गराए।

तर प्रधानमन्त्री प्रचण्डले कुनै व्यक्तिका लागि नभई कानुनी व्यवस्थालाई ख्याल गरेर चल्न खोजेको कुरा राखे। 

‘सरकार संवैधानिक व्यवस्था अनुसार चल्छ, कसैलाई चित्त नबुझ्न पनि सक्छ,’ प्रचण्डको भनाई उद्धृत गर्दै माओवादी महासचिव देव गुरुङले नेपालखबरसँग भने, ‘अदालतको फैसला र आदेशलाई राज्यका सबै अंगले मान्नुपर्छ। सरकार गठन हुँदा मैले उहाँ (रवि) लाई गृह दिएको होइनर? अहिले त अदालतको फैसला भएपछि परिस्थिति फेरियो।’

एमाले अध्यक्ष ओलीले फेरि रविले मागेकै मन्त्रालय नदिएर गठबन्धनमा समस्या नपार्न प्रचण्डलाई सुझाव दिए।

‘मलाई लाग्छ गठबन्धनलाई समस्या पार्ने गरी तपाईंले कुनै कदम चाल्नुहुन्न, हामीले यो गठबन्धनलाई अलि परैसम्म लैजाने सोचेका छौँ', ओलीले भने, ‘यसमा सोच-विचार गरेर छिट्टै निर्णय गर्नुहोला।’

त्यसपछि प्रधानमन्त्रीले कानुनविद्, संविधानविद्, महान्यायाधिवक्ता र विज्ञहरुसँग छलफल-परामर्श गरेर टुंग्याउने जवाफ दिएका थिए।

रविलाई गृह मन्त्रालयमै फर्काउन चौतर्फी दबाब आएको ब्रिफिङ आफ्ना नेताहरुसँग प्रचण्डले गरेका छन्।

बुधबार विहान पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासविव देव गुरुङसँग प्रचण्डले सो कुरा बताएका हुन्। 

‘रविजीलाई नै गृह मन्त्रालयमा फर्काउन सबैतिरबाट दबाब आएको छ,’ मैले नियम र कानुनले अहिले फर्काउन नमिल्ने भनेको छु, प्रचण्डको भनाई उद्धृत गर्दै गुरुङले भने, ‘पात्र र मन्त्रालय चेन्ज गरौँ भन्ने सुझाव हामीले पनि दिएका छौँ।’  

प्रधानमन्त्री प्रचण्डले बुधबार राप्रपा अध्यक्ष एवम् उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङदेनसँग बालुवाटारमै छलफल गरेका थिए।

एकैदिन उनले सत्ता साझेदार दलका केही प्रमुखसँग छलफल गरेपछि आफ्ना नेताहरुसँग अबको निकासबारे छलफल गरेका हुन्। 

भेटमा आफूहरुले प्रधानमन्त्रीले लिएको अडानमा समर्थन जनाएको महासचिव गुरुङले बताए।

‘अदालतको आदेशलाई सम्मान गरेर अघि बढ्नुपर्छ। त्यसको मानहानि गर्नुभएन भन्यौँ,’ गुरुङले भने, ‘गठबन्धन जोगाउने नाममा कानुन च्यात्ने काम हामीबाट हुनु हुँदैन।’

गत १३ माघ (शुक्रबार) मा सर्वोच्च अदालतले रवि लामिछानेसँग नेपाली नागरिकता नभएको फैसला गरेपछि सांसद, गृहमन्त्री र पार्टी सभापतिसमेत खारेज भएको थियो। 

१५ माघमा नागरिकता पुनर्प्राप्ति गरे पनि रविविरुद्ध दोहोरो राहदानी लिएर दुरुपयोग गरेको मुद्दाको फैसला भइसकेको छैन।

त्यसमाथि रविको नागरिकताका विषयमा सर्वोच्चले गरेको फैसलाको पूर्णपाठ अझै आइसकेको छैन। 

यही अवधिमा तत्काल फेरि गृहमन्त्रालय रास्वपालाई दिनुपर्ने अडानले सत्ता साझेदार दलभित्र असमझदारी बढ्न थालेको छ। मंगलबार मात्रै राहदानी दुरुपयोगलाई लिएर रविविरुद्ध प्रहरीमा अर्को उजुरी परिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad