ad ad

राजनीति


सांसद पद गुमाएका रविलाई तुरुन्तै किन चाहियो गृहमन्त्री?

आफ्नै मुद्दा प्रभावित पार्ने दाउ
सांसद पद गुमाएका रविलाई तुरुन्तै किन चाहियो गृहमन्त्री?

नेपालखबर
माघ १६, २०७९ सोमबार २०:१८, काठमाडौँ

आफ्नै नागरिकता लिने प्रक्रिया समेत नबुझेका रवि लामिछाने पुनः गृह मन्त्रालयमा फर्किन ढिपी गरिरहेका छन्। उनले गृह फर्किनकै लागि एमालेलाई सहमत गराइसकेका छन् भने नागरिकता मुद्दाको फैसलापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर कुरा गरिसकेका छन्। 

रास्वपाले सही व्यक्तिलाई सही जिम्मेवारी दिने नारा अगाडि सारे पनि व्यवहारमा भने जुन निकायको लागि जो अयोग्य हो, उसैलाई अगाडि बढाएको देखिन्छ।

नागरिकता लिने प्रक्रिया पूरा नगर्दा सांसद पद नै खारेज भएका रवि लामिछाने गैरसांसद मन्त्रीका रुपमा सिंहदरबार छिर्न बार्गेनिङ गरिरहेका छन्। उनी सर्वोच्च अदालतको गत शुक्रबारको फैसलासँगै गृहमन्त्री र सांसदबाट हटेका थिए।

तत्काल संसद् फर्किने ढोका बन्द भएको बेला सिंहदरबार प्रवेश गर्न उनले ढिपी गर्नुको कारण हो– आफ्नै मुद्दा मिलाउनु, गृहबाट अपमानजनक बहिर्गमन रोक्नु र शक्तिमा रहिरहनु। 

सत्ता बाँडफाँटकै क्रममा चर्को बार्गेनिङ गरेर उपप्रधानसहित गृहमन्त्री बनेका लामिछानेप्रति साझेदार दलमा समेत असन्तुष्टि छ। तर त्यतिबेला अन्तिम समयमा ओलीको साथले सफल भएका रविलाई अहिले पनि ओलीले वचन दिइसकेका छन्। तर माओवादीमा भने प्रधानमन्त्रीसँग प्रभावकारी मन्त्रालय नरहेको गुनासो छ। अहिले प्रधानमन्त्रीको हातमा पुगेको गृह मन्त्रालय कुनै हालतमा फुत्काउन नहुने माओवादीमा जोड छ। 

नेपाली नागरिकता लिने प्रक्रिया नै पूरा नगरेको र अवैध नागरिकताका आधारमा सांसदमा निर्वाचित भएको पाइएपछि उनलाई सांसद र मन्त्रीबाट हटाइएको थियो। सर्वोच्चको यो फैसलासँगै रविविरुद्ध अन्य कसुरमा समेत अनुसन्धान गर्ने बाटो खुलेको छ। 

तर उनी भने अन्य कसुरमा अनुसन्धान गर्नुपहिले नै गृह मन्त्रालय फर्किन जोड गरिरहेका छन्। उनीविरुद्ध दोहोरो नागरिकता र झुटो विवरण पेस गरेर पासपोर्ट लिएको, त्यही पासपोर्टका आधारमा विदेश भ्रमण गरेको जस्ता कसुर छन्। ती कसुरमा अनुसन्धान तथा कारबाही गर्ने बाटो खुलेको छ। गृहमन्त्री नभए समस्यामा पर्ने बुझेका रवि आफ्नै मुद्दा मिलाउन गृह फर्किनै पर्ने दबाबमा देखिएका छन्। 

यसअघि गृह मन्त्रालयको जिम्मेवारी लिएर उनको नागरिकता मुद्दामा अनुसन्धान गरिरहेका काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भरतबहादुर बोहरालाई सरुवा गरेका थिए। ६ महिनापहिले मात्रै काठमाडौं प्रमुखको जिम्मेवारी पाएका बोहरालाई अवधि नपुग्दै हटाइएको थियो। 

प्रहरीले उनीविरुद्धका कागजात तथा जानकारी माग गर्दै अमेरिकी दूतावासमा पत्र पठाएको थियो। तर त्यसपछि गृहको जिम्मेवारी लिएका रविले यो मुद्दा गुपचुप पारेका छन्। सर्वोच्चले उनको नागरिकता अवैध ठहर गर्दै पासपोर्ट र अध्यागमन कानुन उल्लंघनमा समेत कारबाही गर्ने बाटो खोलिदिएको छ।

पहिलेको नागरिकताले मान्यता नपाएपछि आइतबार नै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा गएर पुनः नागरिकता लिएका रवि पदमा फर्किन हतारिइरहेका छन्। नागरिकता लिएको केही घण्टामै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति भइसकेका छन्। 

सांसद पद गएसँगै रास्वपाको संसदीय दलको नेताबाट पनि हटिसकेका छन्। तर चितवन क्षेत्र नम्बर २ मा पुनः निर्वाचित भएर संसद् फर्किने दाउ उनको छ। रवि भने निर्वाचित भएर आउन्जेल पनि कुर्न सक्ने अवस्थामा देखिएका छैनन्। 

रविको मुद्दा अनुसन्धान गर्ने गृह मन्त्रालय मातहतकै निकाय भएकाले रास्वपाले अहिले सत्तामा रहने बटमलाइन नै गृह मन्त्रालय बनाएको छ। गृह मन्त्रालय नपाए सत्ताबाटै बाहिरिनेसम्म चेतावनी दिएको छ।

गृह फर्किने योजना अनुसार नै उनले हरिहरभवनस्थित सरकारी निवासबाट सामान सारेका छैनन्। शुक्रबारदेखि मन्त्री क्वार्टरमा नबसे पनि सामान भने त्यहीँ छन्। 

अमेरिकी नागरिकता नत्यागी उनले पुरानो नागरिकताको आधारमा पासपोर्ट लिएको पुष्टि भइसकेको छ। अदालतको पूर्णपाठ आएसँगै यसविषयमा उजुरी पर्ने सम्भावना छ। 

यसअघि अमेरिकी नागरिकता प्रयोग गरी विदेशीको रुपमा उनी नेपाल आएका थिए। 

अमेरिकी नागरिकको रुपमा नेपालमा आई पारिवारिक भिसामा नेपाल बसेका उनले त्यतिबेला त्यही निष्क्रिय भएको भनिएको नागरिकताका आधारमा पासपोर्ट बनाए। यसअघि दोहोरो नागरिकता लिएका उनले त्यसपछि भने दुई देशको पासपोर्ट एकसाथ प्रयोग गर्न थाले। 

२०७२ जेठ १३ गते नेपाली पासपोर्ट प्राप्त गरी प्रयोग गरेका थिए। 

रवि लामिछानेले पहिलोपटक २०७३ असोज १६ गते नेपाल आएको बताए पनि २०७२ जेठ १३ मा अमेरिकाबाट नेपाल आई नेपाली पासपोर्ट लिएको खुलेको छ।

श्रम विभागको २०७५ असार ५ गतेको पत्र अनुसार सो मितिसम्म रविले श्रम स्वीकृति लिएको देखिँदैन। उनले विनाअनुमति काम गरेका थिए। 

२०७५ असार ६ गते अध्यागमन विभागलाई लेखेको पत्रमा श्रम अनुमति नहुँदै पनि आफूले वैधानिक रुपमा काम गरेको दाबी गरेका थिए। 

रवि लामिछानेले सन् २०१८ को मे १८ अर्थात् २०७५ जेठ ४ मा अमेरिकी नागरिकता त्याग गर्ने प्रक्रिया सुरु गरेका थिए। उनले सन् २०१८ को जुन २८ अर्थात् २०७५ असार १४ मा नेपालस्थित अमेरिकी दूतावास मार्फत अमेरिकी नागरिकता त्याग गरेका थिए। 

त्यसपछि उनले पुरानो नागरिकता प्रयोग गरेका रवि सर्वोच्चको आदेश अनुसार आइतबार नागरिकता लिएपछि नेपाली नागरिक भएका छन् तर उनका अन्य कसुरमा भने छानबिन हुँन बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .