सभामुख देवराज घिमिरेले संसदमा पत्रकारहरुलाई सहज रुपमा रिपोर्टिङ गर्ने वातावरण बनाउने बताएका छन्।
सोमवार संसदीय मामिला पत्रकार समाजसँग आवद्ध पत्रकारहरुसँग परिचयात्मक भेटघाट गर्दै सभामुख घिमिरेले पत्रकारहरुलाई संसदमा सहज रुपमा रिपोर्टिङ गर्ने वातावरण बनाउने बताएका हुन्।
उनले मिडियाले समाजलाई समयमै सूचना तथा समाचारहरु संप्रेषण गर्ने र समाजलाई परिवर्तन गर्न भूमिका खेल्ने भन्दै संसद भवनमा पत्रकारहरुलाई रोक्नुपर्ने कुनै कारण नभएको बताए।
उनले पत्रकारहरुलाई परेको असहजतालाई हटाउनका लागि आफूले ध्यान दिने बताए। सभामुख घिमिरेले पत्रकारले संप्रेषण गर्न लागेको कुरालाई संसद सचिवालय अथवा सभामुखले रोक्ने स्थिति आउन नदिने प्रतिवद्धता जनाए।
उनले समाजलाई सचेत गराउन पत्रकारहरुको भुमिका महत्वपूर्ण हुने बताए। उनले समाजलाई सचेत बनाउने भूमिकामा पत्रकारितालाई लानुपर्नेमा जोड दिए। पत्रकारिता क्षेत्रमा देखिएका कमी, कमजोरीहरुलाई अन्त्य गर्नुपर्ने पनि उनको भनाई छ।
उनले पत्रकारितालाई राज्यको तेस्रो आँखाको रुपमा विकास गर्नुपर्ने बताए।
उनले भने, ‘पत्रकारहरुले खेलेको भूमिकाले नेपाली समाजलाई सचेत गर्छ। त्यो चेतनाको आधारमा संगठित गर्छ। संगठनको आधारमा उसले अगाडि बढ्ने बाटो तय गर्छ। यो मामिलामा पत्रकारहरुको धेरै ठूलो भूमिका हुन्छ भन्ने म ठान्दछु। तर हाम्रो पत्रकारिता ति उद्देश्यमाथि कत्तिको गइरहेको छ? हाम्रो पत्रकारिता त्यो दिशामा हामी कत्तिको लान सकिरहेका छौँ? जसको कारणले भएपनि त्यो दिशामा हामी कत्तिको जान सकिरहेका छौँ? यसलाई कसरी त्यो दिशामा लैजान सकिन्छ। यहाँ रहेका कमी कमजोरीहरुलाई कसरी अन्त्य गर्न सकिन्छ? त्यो गर्नु हाम्रो दायित्व हो।’
उनले थपे, ‘राज्यको तेस्रो आँखा भनेर चर्चा गरिएको हाम्रो पत्रकारितालाई वास्तवमा तेस्रो अंगकै रुपबाट विकास गर्नलाई हामीले के गर्नुपर्ला? संसदको तर्फबाट के गर्नुपर्ला? पत्रकारहरुको तर्फबाट के गर्नुपर्ला? हाम्रो साझा दायित्व हो।’
सभामुख घिमिरेले शहीद दिवसको अवसरमा सहिदहरुप्रति श्रद्धाञ्जली पनि व्यक्त गरे। उनले सहिदहरुको सपना साकार पार्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरे।
प्रतिक्रिया