रवि लामिछानेले काठमाडौं जिल्ला प्रशासन कार्यालय पुगेर नेपाली नागरिकता लिएका छन्। उनले २०५० सालमा लिएर अमेरिका जाँदा त्यागेको नागरिकता आइतवारदेखि फेरि कायम भएको छ।
पुरानै नम्बर कायम भएको नागरिकता उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले दिएको हो।
रविका दाजु हरिशरण लामिछानेले वंशजको आधारमा पहिले लिएको नागरिकता त्यागेकाले आइतवार निस्सा दिएर कायम गरिएको बताए।
'पहिले विदेशी नागरिकता लिएकाले यो नागरिकता स्वत:खारेज भएको थियो', उनले भने, 'अर्को देशको नागरिकता त्यागेर आएपछि अब उसले निवेदन दिएर कायम भएको छ।'
हरिशरणले नागरिकताको ममिलामा नेपाल अलिक लचक हुनु पर्ने तर्क गरे। 'नागरिकतामा नेपाल केही लचक हुनुपर्छ', उनले भने, 'नेपालको नागरिकताबारे खुल्ला बहस हुनुपर्छ।'
हरिशरणले अब रविले उपनिर्वाचन लड्न नलड्ने टुंगो भइनसकेको बताए। 'उपनिर्वाचनमा भाग लिन पाउने नपाउने कुरा निर्वाचन आयोगमा पनि निर्भर हुन्छ', उनले भने, 'नागरिकता पुन:कायम भएको छ। अदालतको आदेशअनुसार लाइन बसेर निवेदन दियौँ। मिस्टेकलाई हामीले सच्याएका छौँ। नागरिकताको झमेलाबाट मुक्त भयौँ।'
उनले अब रवि राजनीतिमै सक्रिय रहने बताए। 'रवि राजनीतिमै सक्रिय छ। आफ्नो पार्टीको पनि सदस्यता लिनुपर्ने हुन्छ', उनले भने, 'मूलकुरा नागरिकता कायम भएको छ। सच्याउने ठाउँमा सच्याउँदै जान्छौँ। चुनाव लड्न समस्या छैन। कानुनी अड्चन नभए उपचुनाव लड्ने तयारीमै छौँ।'
प्रतिक्रिया