वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले विदेशी नागरिकता बोकेर नेपालमा शासन गर्न नपाइने तर्क गरेका छन्।
गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा भएको सुनुवाइका क्रममा रिट निवेदकहरुको तर्फबाट बहस गर्दै उनले यसो भनेका हुन्।
'नागरिकता स्वत: कायम हुने भए राज्यका निकाय किन चाहियो त? राज्यको भूमिका किन चाहियो?', उनले प्रश्न गरे, 'म नेपाली हुँ मेरो नशाामा नेपाली रगत छ, आमाबुवा नेपाली हुन् भन्दैमा प्रक्रिया पुग्यो त? यति भन्दैमा प्रक्रिया पुग्दैन।'
उनले नागरिकताको समाप्ति दुई पक्षको निर्णयबाट मात्रै सम्भव हुने पनि तर्क राखे। 'नागरिकताको समाप्ति व्यक्ति वा राज्यको निर्णयबाट हुन्छ। व्यक्तिले पनि नागरिकता त्याग्न सक्छ, राज्यले खारेज गर्न सक्छ', उनले भने, 'तर नागरिकता प्राप्त गर्नका लागि व्यक्तिको भूमिका मात्रै पर्याप्त हुन सक्दैन। राज्यले दिनुपर्छ, त्यसका लागि औपचारिक निर्णय हुन्छ।'
उनले कसैलाई नागरिकता दिन राज्यले योग्य ठान्नु पर्ने पनि बताए। 'कसैलाई नागरिकता दिन राज्यले योग्य ठान्नु पर्छ। राज्यको निर्णयबिना नागरिकता प्राप्त हुन सक्दैन', उनले भने, 'विदेशी नागरिकता लिइसकेकाबाट नेपालीलाई शासन गर्न पाइँदैन, नेपाली नागरिक हुनै पर्छ।'
उनले रविले नेपाली नागरिकता पुनर्प्राप्तिका लागि निवेदन लिएर जानै पर्ने बताए। 'नागरिकता प्राप्तिका लागि सही छाप गर्न त जानुपर्यो नि!', उनले भने, 'शरीरमा नेपाली रगत छ भन्दैमा भयो त, बाबुआमा नेपाली हुन् भनेर मात्रै हुन्छ त?'
प्रतिक्रिया