ad ad

राजनीति


लक्ष्मी महतोको बचाउमा एमाले, महासेठले भने : उहाँ सांसद हो, प्रधानमन्त्री बन्न सक्नु हुन्छ

लक्ष्मी महतोको बचाउमा एमाले, महासेठले भने : उहाँ सांसद हो, प्रधानमन्त्री बन्न सक्नु हुन्छ

प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद रघुवीर महासेठ। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
माघ १०, २०७९ मंगलबार १६:५, काठमाडौँ

सत्तारुढ नेकपा (एमाले)का सचिव रघुवीर महासेठले हत्याको आरोपमा फरार रहेका पार्टीका सांसद लक्ष्मी महतो कोइरीको बचाउ गरेका छन्। 

मंगलवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अदालतले दोषी करार नगरेको भन्दै सांसद महतोलाई पक्राउ गर्ने हो भने त्यसमा आफ्नो पार्टीका कुनै पनि नेताहरुले बाधा, अवरोध नगर्ने पनि बताए। 

सचिव महासेठले शेरबहादुर देउवा नेतृत्वको सरकारले समाजसेवी पदकका लागि सिफारिस गरेको व्यक्ति कसरी अपरोधी भयो? भनेर प्रश्न गरे। 

महतोलाई महोत्तरीका शोषित पीडित जनताले लक्ष्मी पूजाको दिनमा लक्ष्मीलाई जसरी पूजा गरेको बताए। 

सचिव महासेठले नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाप्रति लक्षित गर्दै सांसद महतो अपराधी हो भने देउवा नेतृत्वको सरकारले किन कारबाही गरेन? भनेर विचार गर्न पनि आग्रह गरे। 

सांसद महतो हाल पार्टीको सम्पर्कमा नरहेको भन्दै उनले कानुन बमोजिम उनलाई कारबाही गर्न सरकारलाई पार्टीकोतर्फबाट कुनै पनि अवरोध नहुने स्पष्ट पारे। 

‘अहिले देशमा एउटै चर्चा छ–माननीय लक्ष्मी महतोको। आज यही प्रतिनिधिसभामा हाम्रा केही माननीयजीहरुले लक्ष्मी महतोजीबारे धेरै कुरा उठाउनु भयो। अपरोधी भन्ने शब्द पनि सम्बोधन गर्नु भयो। उहाँ यही सदनमा उपस्थित हुनुहुन्छ', उनले भने, 'उहाँलाई प्रहरी प्रशासनले किन समातेन? यस्ता कुरा पनि उठाउने काम भयो। सभामुख महोदय, के साँच्चिकै लक्ष्मी महतो अपराधी नै हुन त? यदि अपराधी हो भने महतोजीलाई देशको सम्मानित र प्रतिष्ठित, समाजसेवी पदकबाट उहाँलाई निवर्तमान सरकारले जुन दिने काम गर्नुभयो। उहाँहरुले किन गर्नु भयो? त्यो बेला उहाँहरुले अपराधी हेर्नु भएन?'

लक्ष्मी महतोको मुद्दा ७ वर्षभन्दा बढी भइसकेको उनले बताए। 'सशस्त्र प्रहरीको असईको हत्या भएको पनि सात वर्ष भयो। ३ वर्षभन्दा बढी पुनरावेदन अदालतले थुनछेकको आदेश दिएको भइसक्यो। तर त्यो ३ वर्षमा त्यो सात वर्षदेखि अर्थात त्यो ३ वर्षयता पहिलाका सरकारहरुले समात्ने काम किन गरेन?', उनले सोधे, 'अघि मैले कुरा उठाइसकेको छु। समात्ने काम त परै जाओस्। उहाँलाई सम्मान गरिएको थियो। मन्त्रीमण्डलबाट सिफारिस भएर राष्ट्रपतिमार्फत् घोषणा भएको लिष्टमा उहाँको नाम थियो। म सभामुखमार्फत् यो सरकारलाई पनि म के भन्न चाहन्छु माननीय लक्ष्मी महतो हाम्रो पार्टीको सम्पर्कमा हुनुहुन्न। यदि प्रहरी प्रशासनले उहाँलाई हिरासतमा लिएको छ भने सार्वजनिक गर्नु पर्‍यो।' 

एमाले र एमालेका नेताहरुमाथि लगाइएको आरोपमा सत्यता नभएको उनले बताए। 'म यो सरकारलाई भन्न चाहन्छु–गृह मन्त्रालयलाई भन्न चाहन्छु–कानुन अनुसार तपाईंहरु काम गर्नुस्। उहाँलाई समाउनै पर्नेछ भने तपाईंहरु समाउनुस्', उनले भने, 'नेकपा एमाले र नेताहरुबाट बाधा, अवरोध आउने छैन। तर अहिलेसम्म अदालतले लक्ष्मी महतोलाई दोषी करार गरेको छैन। शंकाको घेराभित्र राखिएको छ। थुनछेक गरेर अर्थात् थुनामा राखेर कारबाही गर्ने कुरा उठाएको छ। अपराधी नै हो भनेर निर्णय गरेको छैन।'

उनले यसअघि केपी ओली, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र माधवकुमार नेपालसम्म विभिन्न अपराध अभियोगमा जेल परेको प्रसंग निकाले। 

'हाम्रै पार्टीका श्रद्धेय अध्यक्ष केपीशर्मा ओलीलाई १४ वर्ष जेलमा राखेको थिएन र? अपराधी भनेर। के साँच्चीकै उहाँहरु अपराधी हुनुहुन्थ्यो? निवर्तमान प्रधानमन्त्रीजी शेरबहादुर देउवा के जेल जानु भएको छैन र। माधवकुमार नेपालजी जेल जानु भएको छैन र? अरु त छोडिदिऊँ', उनले भने, 'वर्तमान प्रधानमन्त्रीमाथि मुद्दाहरु लगाइएको थिएन र? देशद्रोहको मुद्दा थियो। हत्याहिंसाको मुद्दा थियो। आतंककारीको मद्दा थियो। तर पनि जति नाम मैले लिएको छु।'

विभिन्न आरोपमा जेल परे पनि उनीहरु प्रधानमन्त्री बनेको बताउँदै लक्ष्मी महतोले पनि त्यो क्षमता राख्ने उल्लेख गरेका छन्। 

'उहाँहरुले पटकपटक प्रधानमन्त्री भएर यो देशलाई अगाडि बढाउनु भएको हो। त्यसैले अहिले लक्ष्मी महतोलाई अपराधी भन्ने जुन हामीले चर्चा गर्ने गरेका छौं। त्यसो नगरौ', उनले भने, 'लक्ष्मी महतो प्रधनमन्त्री बन्ने अधिकार छ। उहाँ प्रधानमन्त्री बन्न सक्नु हुन्छ। मन्त्री बन्न सक्नु हुन्छ। किनकी उहाँ माननीय हुनुहुन्छ। भोलि पनि माननीय बन्नु होला, त्यो कसैलाई थाहा छैन।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .