राजनीति


गृहमन्त्रीलाई रास्वपा नेताकै प्रश्न : हत्या आरोपी सांसद पक्राउ गर्न कसले रोक्यो?

गृहमन्त्रीलाई रास्वपा नेताकै प्रश्न : हत्या आरोपी सांसद पक्राउ गर्न कसले रोक्यो?

फाइल तस्बिर


नेपालखबर
माघ ६, २०७९ शुक्रबार ११:४८, काठमाडौँ

एकजना प्रहरीको हत्या आरोपमा पक्राउ पुर्जीसमेत जारी भइसकेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न नसकेबारे गृहमन्त्री रवि लामिछानेको आलोचना बढिरहेको छ।

कोइरी बैठकमै उपस्थित हुँदा पनि गृहमन्त्री लामिछाने रमिते भएको भन्दै बिहीबारको संसदमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रश्न उठाएका थिए।

यस्तोमा शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले पार्टी सभापति एवम् उपप्रधान तथा गृहमन्त्री लामिछानेले हत्या आरोपी सांसद कोइरीलाई पक्राउ नगरेको भन्दै सार्वजनिक रुपमै रोष प्रकट गरेका छन्। 

उनले कोइरीलाई थुनामा पठाउन नसक्नुमा गृहमन्त्री लामिछानेको अक्षमता हो भन्ने धेरै सोच्नु आवश्यक नरहेको पनि टिप्पणी गरेका छन्। 

‘सांसद कोइरी थुनामा नहुनु दण्डहीनताको प्रश्रय हो। हाम्रो पार्टी सभापति तथा गृहमन्त्रीले कोइरीलाई थुनामा पठाउन नसक्नु तत्कालका लागि अक्षमता हो भन्नलाई धेरैबेर सोच्नसम्म पर्दैन,’ कार्कीले तिखो टिप्पणीसहित भनेका छन्। 

घाइते अवस्थामा रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकलाई एम्बुलेन्सबाटै निकालेर हत्या गरेको अभियोग महतोमाथि छ।

महोत्तरी क्षेत्र नम्बर २ बाट मंसिर ४ मा निर्वाचित उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएका थिए। 

हत्या आरोपित एमाले संसाद महतोले सांसद पदको शपथ लिइसकेका छन्।  बिहीबारको संसद बैठकमा गृहमन्त्री लामिछानेले महतोलाई पक्राउ गर्न सभामुखले रुलिङ गर्नु आवश्यक रहेको बताएका थिए। 

के भने कार्कीले?
पहिले वा अहिले नेताहरुको आलोचना गर्दा व्यक्तिगत रिसइवी साँध्न आलोचना गरिएको वा गरिने होइन। केही सुधार होला कि भनेरै आलोचना, समर्थन गर्ने हो। मैले गर्ने वा मप्रति गरिने आलोचना र समर्थनहरुकोबारेमा मेरो धारणा सँधै यही थियो, छ र रहनेछ। विकसित राजनीतिक घटनाक्रमबारे मलाई प्रश्न गर्नेहरुप्रति आभारी छु। 

रह्यो कुरा, हत्या आरोपी भएर अदालतले थुनामा राख्न आदेश दिए पनि सांसद भएर निर्वाध संसद भवन आउजाउ गर्ने सांसद लक्ष्मी महतो कोइरी र उनलाई पक्राउ गर्न भएको आनाकानीबारेमा मेरो धारणाको। यसमा मेरो व्यक्तिगत धारणा स्पष्ट छ।

कोइरी थुनामा नहुनु दण्डहीनताको प्रश्रय हो र, हाम्रो पार्टीका सभापति तथा गृहमन्त्रीले कोइरीलाई थुनामा पठाउन नसक्नु तत्कालका लागि अक्षमता हो भन्नलाई धेरैबेर सोच्नसम्म पर्दैन।

अदालतले थुनामा राख्न आदेश दिएका व्यक्तिहरु थुनामा नै भेटिनु पर्छ, संसदमा त झन् हुँदै होइन। किन यो भइरहेको छ भन्नेबारेमा आमनागरिकले थाहा पाउनु पर्छ। त्यो प्रक्रिया पुरा गर्न राजनीतिकरुपमा नसकिएको हो भने सभापतिले त्यो पनि थाहा दिनु पर्छ। किनकि, हामीले देख्न चाहेको रवि लामिछाने टिभीमा सिधा कुरा चलाउँदै गरेको रवि लामिछाने नै हो।

हामीले भेट्न खोजेको रवि लामिछाने आफ्ना कुरा नदबाइ आममानिसले बुझ्न सक्ने सिधा भाषामा मुखरित हुन सक्ने रवि लामिछाने नै हो। एकथान निरिह गृहमन्त्री रवि लामिछाने होइन।

मलाई विश्वास छ, गृहमन्त्रीको कुर्सीमा बसिरहेको र आफैले अस्विकार गरिरहेका नेताहरुको भिडमा हराइरहेको रवि लामिछानेले पक्कै पनि चाँडो भन्दा चाँडो हामीले चाहेको रवि लामिछानेलाई भेट्टाउनु हुनेछ।

सांसद कोइरीको पक्राउ त्यसको पहिलो संकेत बन्नेछ। प्रीय सभापतिलाई भीडभन्दा परबाट यति अनुरोध, सुझाव पुर्याउने जमर्को गरेको छु। आशा छ, भीडको तुवाँलो हटेर प्रस्ट देखिने, सुनिने रवि लामिछाने पाइनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .