प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गत आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबारे संसद बैठकको कार्यसूचीमा उल्लेख नगरिएको भन्दै आपत्ति जनाएको छ।
विमान दुर्घटनापछि बसेको पहिलो बैठकमा आधिकारिक रुपमा कुनै जानकारी गराउने कार्यसूची उल्लेख नगरिएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो। प्रतिनिधिसभा बैठकमा विशेष समय माग्दै कांग्रेस सांसद रमेश लेखकले विमान दुर्घटनामा निधन भएकाहरुको शव आफन्तलाई बुझाउन नसक्दा पीडा र आक्रोश बढेको पनि उल्लेख गरेका छन्।
‘सरकार पीडित परिवारप्रति उदासिन र निरपेक्ष हुन सक्दैन’, लेखकले भने, ‘शव बुझ्न भएको ढिलाईका कारणले आफन्तरमा पीडा र आक्रोश बढेको समाचार पढिरहेका छौं। सरकारले ५ सदस्यीय छानविन समिति बनाएको छ। आजको बैठकमा सरकार यो बैठकमार्फत सरकारले सदनलाई जानकारी गराउन पथ्र्यो। यसअघि पनि यही हुने गरेको थियो।’
संसदमा आफूहरूले विमान दुर्घटनाको जानकारी गराएरमात्र संसद चल्ने अपेक्षा गरेको उनले बताए।
‘तर, आधिकारिक थलो भएको कारणले संसदमा जानकारी होला भन्ने मैले सोचेको थिएँ,’ उनले भने, ‘आजको कार्यसूचीमा यो छैन। आजका कार्यसूचीलाई स्थगन गरेर भएपनि यो बारेमा सरकारले सदनलाई जानकारी गराउनपर्छ।’
प्रतिक्रिया