ad ad

राजनीति


रास्वपाले कानुन मन्त्रालय नपाए सोबिता गौतम उपसभामुख!

रास्वपाले कानुन मन्त्रालय नपाए सोबिता गौतम उपसभामुख!

फाइल तस्बिर


नेपालखबर
माघ २, २०७९ सोमबार १९:३४, काठमाडौँ

उपप्रधानसहित गृह मन्त्रालय हाँकिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा) आफ्नो भागमा कानुन मन्त्रालय परे सांसद सोबिता गौतमलाई मन्त्री बनाउने भएको छ।

यदि कानुन मन्त्रालय रास्वपाको भागमा नपरे गौतमलाई उपसभामुख बनाउने लगभग समझदारी भएको रास्वपाका एक पदाधिकारीले जानकारी दिए।

काठमाडौं क्षेत्र नम्बर २ बाट प्रत्यक्ष चुनाव जितेकी गौतम सबैभन्दा कम उमेरमा मन्त्री हुने कीर्तीमान बनाउने सांसद हुने छिन्। उनले नेशनल कलेजबाट बीए एलएलबी गरेकी छन्।

उनी उपसभामुख भएपनि सबैभन्दा कम उमेरमा संसदको सर्वाेच्च तहमा पुग्ने पहिलो महिला बन्नेछिन्। 

उपसभामुखको चुनाव माघको ९ गतेभित्र हुनेछ। 

सभामुखको चुनावको मिति माघ ५ गते तय भइसकेको छ। सभामुखको चुनाव सकेपछि उपसभामुखको चुनाव हुनेछ। 

कानुन मन्त्रालयमा विज्ञता हासिल गरेकोले सांसद गौतमको चाहना पनि कानुन मन्त्रीमै छ। तर, त्यो नपाए उनलाई उपसभामुख बनाउने तयारी छ।

सत्ता साझेदार दलबीच प्रधानमन्त्री माओवादी केन्द्रलाई दिएपछि सभामुख र राष्ट्रपति एमालेले लिने लगभग समझदारी जुटेको छ। यस्तै उपराष्ट्रपति दिएर जनता समाजवादी पार्टीलाई सरकारमा ल्याउने प्रयास भइरहेको छ। 

मन्त्रालयको भागबन्डा टुंगो लगाउन सत्ता साझेदार दलको बैठक बालुवाटारमा बसिरहेको छ। अहिलेसम्म रास्वपाले २ मन्त्रालय पाउने निश्चित भइसकेको छ।

रास्वपाको सोमबार दिउँसो संसदीय दलको बैठक बसेको थियो।

जुममार्फत् बसेको बैठकमा पार्टी सभापति रवि लामिछानेले पार्टीको भागमा पर्ने मन्त्रालयबारे व्रिफिङ गरेका थिए।

‘हाम्रो भागमा २ वटा मन्त्रालय पर्ने निश्चित छ, माग्न त ३ वटा मागौँला तर, दिने सम्भावना कम छ,’ बैठकमा लामिछानेले राखेको भनाई उधृत गर्दै ती पदाधिकारीले भने,‘कुन नेतालाई सरकारमा पठाउने निर्णय मै गर्छु, सबै सक्षम हुनुहुन्छ, जो पनि पर्न सक्नु हुन्छ।’

रास्वपाले विज्ञका आधारमा मन्त्री बनाउने यसअघि नै समझदारी बनाइसकेको छ।

उसले शिक्षा, स्वास्थ्य, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र कानुन मन्त्रालय पाउनुपर्ने प्रस्ताव गरेको छ। 

तर, अब जम्मा २ वटामात्रै मन्त्रालय पाएको अवस्थामा रास्वपाको प्राथमिकता शिक्षा र श्रम रोजगारमा हुने अर्का पदाधिकारीले नेपालखबरलाई बताए।

‘हाम्रो चाहना अब जनतासँग प्रत्यक्ष जोडिएका मन्त्रालयमा काम गर्नु हो, त्यसो हुँदा श्रम मन्त्रालय प्राथमिकतामा छ,’ ती पदाधिकारीले दाबी गर्दै भने, ‘शिक्षा पनि पाउने सम्भावना छ किनभने हामीसँग त्यसका विज्ञ हुनुहुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .