राजनीति


विदेशमा रहेका नेपालीले भोग्नुपरेका कानूनी व्यवधानको समाधान गर्छु : प्रधानमन्त्री दाहाल

विदेशमा रहेका नेपालीले भोग्नुपरेका कानूनी व्यवधानको समाधान गर्छु : प्रधानमन्त्री दाहाल

नेपालखबर
माघ २, २०७९ सोमबार १९:२९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गैरआवासीय नेपाली संघका अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलबीच आज भेटघाट भएको छ।

भेटका क्रममा संघका कार्यकारी अध्यक्ष रबिना थापाले हालसम्म संघले गरिआएको काम, नेपाल सरकारको तर्फबाट सम्बोधन भइआएका विषयहरु र आगामी दिनमा सरकारले गर्नुपर्ने नीतिगत र कानूनी सुधार सम्बन्धमा संघको तर्फबाट धारणा राखेकी थिइन्।

यस्तै, संघका अध्यक्ष बद्री केसीले नेपाल सरकारसहितको लगानी रहेको १० अर्बको लगानी कोष ‘एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड’लाई अघि बढाउन देखा परेका कानूनी र व्यवहारिक कठिनाइबारे जानकारी गराउँदै ती कठिनाइलाई तत्काल सम्बोधन गर्न आग्रह गरे। 

विदेशमा रहेका बहुसंख्यक नेपालीलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्ने, विदेशमा कामका शिलशिलामा अंगभंग भएका नेपालीलाई स्वदेश फिर्ता गर्नुका साथै उनीहरुका परिवारलाई आर्थिक सहायतासहित पुर्नएकीकरण लगायतका विषयमा नेपाल सरकारले पहलकदमी लिनुपर्ने माग अध्यक्ष केसीले संघका तर्फबाट राखे।

यस्तै, संघका अध्यक्ष कुल आचार्यले संघले उठाएको गैरआवासीय नेपाली नागरिकताको मुद्दालाई तत्काल सम्बोधन गर्न आग्रह गरे।

‘एक पटकको नेपाली सदैव नेपाली’ हुने भन्दै अध्यक्ष आचार्यले विविध कारण अन्योलमा परेको नागरिकताको विषयलाई यथाशक्य छिटो टुंगो लगाउन संघका तर्फबाट आग्रह गरे।

जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशमा रहेका लाखौं ‘नेपालीहरुको मन जित्ने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गरे। 

प्रधानमन्त्री दाहालले भने, ‘विदेशमा लाखौं नेपालीहरु छन्, मैले मेरो दोस्रो कार्यकालसम्म एनआरएनएले उठाएका मागहरु सम्बोधनका लागि प्रयास गरे र अब मेरो तेस्रो इनिंग्स्मा विदेशमा बस्ने बहुसंख्यक नेपालीको मन जित्छु।’

भेटमा प्रधानमन्त्री दाहालले नेपालमा विद्यमान कतिपय कानूनी प्रावधानले सिर्जना गरेका अप्ठ्यारालाई नेपाल सरकारले क्रमशः सच्याउँदै आएको र अबको दिनमा पनि कानूनी उल्झनलाई पन्छाउने प्रयास आफ्नो तर्फबाट जारी रहने बताए। 

भेटका अवसरमा पूर्वअध्यक्ष भवन भट्ट, संघका संस्थापक अन्तर्राष्ट्रिय संयोजक भीम उदास, संघका उपाध्यक्ष आरके शर्मा, सचिव खगेन्द्र न्यौपाने, महिला सचिव राधिका गुरुङ, सहकोषाध्यक्ष नारायण सुवेदी, युवा संयोजक अब्दुल वसिद, संघका पूर्व सल्लाहकार टिबि कार्की, क्षेत्रीय उपसंयोजक, (मध्यपूर्व) अमित चाम्लिङ राई, एनसीसी रसियाका अध्यक्ष शिवमणि भुर्तेल, आजिवन सदस्य (युएसए) नारायण थापा, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad