उप-प्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्याका दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाएका छन्।
शनिबार माइतीघर मण्डलामा धर्नामा बसेकी रुवी खान सहितको टोलीलाई भेटेर गृहमन्त्री लामिछानेले सो प्रतिवद्धता जनाएका हुन्।
‘मलाई राम्रोसँग काम गर्न दिनुहोला। एकपटक रिभाइज गर्न दिनुहोला,’ लामिछानेले सम्बोधन गर्दै भने, ‘अघिल्लो अनुसन्धानमा बिग्रिएका कुराहरुलाई सच्याउन केही समय दिनुहोला। मलाई के विश्वास छ भने तपाईंले भनेअनुसार यो अनुसन्धान प्रक्रियामा हामी काम गर्छौं।’
न्याय मागेर बसेकाहरुलाई सम्झाउँदै गृहमन्त्री लामिछानेले ‘म पनि बस्न आउँछु’ पनि भनेका थिए। आफूहरु माइतीघरबाट न्याय नपाई नजाने धर्नामा बसेकी रुवी खानले बताएकी थिइन्।
घटनाबारे अनुसन्धान गरेर दोषीलाई कारबाही गरेर छाड्ने बताउँदै घर्नामा बसेकालाई ढुक्कसँग घर फर्किन लामिछानेको आग्रह थियो। ‘आन्दोलनरत समूहको तर्फबाट सम्मिलित टोली मलाई दिनुहोला, एकपटक के के भयो भन्ने पनि जनताले थाहा पाउनपर्यो,’ गृहमन्त्री लामिछानेले भने।
आफूहरु काम गरिरहेको बताउँदै लामिछानेले दोषीलाई कारबाही गरेरै छाड्ने बताए।
‘एउटा आवाज म पनि हुँ। हिजोपनि म एउटा सानो आवाज थिएँ। आज म गृहमन्त्रीको हैसियतमा वचनवद्धता गर्छु, यसको जटिलताले एउटा समय अवश्य लिग्छ,’ लामिछानेले भने, ‘त्यो समयमा तपाईंहरुले दुःख नपाउनहोस भन्ने मेरो कुरा हो। तपाईंहरुले भननुहुन्छ भने म पनि यहीँ आएर बस्न तयार छु।’
त्यसपछि गृहमन्त्री लामिछानेले आम नागरिकलाई बताउनपर्ने भन्दै टोलीसहित राखेर अनुसन्धान गर्ने उनले बताए। एउटा मात्र विषयमा नभई धेरै विषयमा आफूलाई समेत लाल्टिन बालेर उज्यालो देखाउन गृहमन्त्री लामिछानेको आग्रह थियो।
Shares

प्रतिक्रिया