परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले विदेशस्थित नेपाली दूतावासमा आवश्यक जनशक्तिको कमी हुँदा आवश्यक कामहरु गर्नै अप्ठ्यारो भएको गुनासो आइरहेको बताए।
बिहीवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले भने, ‘हाम्रा झन्डै आधा भन्दा बढी मिसनहरु वैदेशिक रोजगारीमा जाने नेपालीलाई उहाँहरुको सेवामा धेरै लाग्नुपरेको छ। हाम्रा दूतावासहरु धेरै साना साइजका छन्। त्यहाँ पर्याप्त जनशक्ति छैन। भएको जनशक्ति नेपालीहरुको उद्धार लगायतका समस्या समाधानमा नै केन्द्रित हुने गरेको छ। जसकारण अन्य कुराहरुमा ध्यान दिन सकेको छैन भन्ने गुनासो छ। ३,४ जनाले कति काम गर्न सक्छन् ? मुलुकको आर्थिक स्थिति पनि हेर्नुपर्छ तर आज भन्दा धेरै वर्ष पहिला खुलेका संरचनाहरुको सुधार हुनु जरुरी रहेको छ।’
उनले विदेशस्थित नेपाली दूतावासहरु नेपालबाट वैदेशिक रोजागारीमा जानेहरुको समस्या समाधान गर्नैमा समय लाग्ने भएकाले आवश्यक जनशक्ति बिना अन्य आर्थिक गतिविधिका लागि सम्बन्धित राष्ट्रमा आर्थिक आयामका बारेमा काम गर्न नसकिने अवस्था रहेको बताए।
उनले विदेशस्थित नेपाली दूतावासहरु सानो क्षमताका भएकाले क्षमताको विकास गरी आगामी दिनमा संरचनाहरुको सुधार हुन जरुरी रहेको बताए।
पाैडेलले भने, ‘वैदेशिक रोजागारीमा जाने हाम्रा दाजुभाइहरुलाई कसरी सहयोग गरिरहेका छन् भन्नेबारेमा पनि हेर्न सकिन्छ। हाम्रो जस्तै वैदेशिक रोजगारीमा पठाउने अरु मुलुकका दूतावासको क्षमता बढी छ तर पनि यो हामीले सहजै भन्नसक्छौँ की हामी धेरै नै रेस्पोन्सीबिलिटी छौँ। हाम्रो वैदेशिक रोजगारीमा जाने जनशक्ति अति नै धेरै भइसकेको छ। यो चुनौति रहेको छ। उहाँहरुले वैदेशिक रोजगारीमा जानेहरुको समस्या समाधान गर्दैमा दिन बित्ने भएकाले आर्थिक विकासका लागि अन्य क्षेत्रमा बुझ्ने समय नै रहेको छैन। अरु आयाममा चाहिएको आवश्यक काम गर्न सक्नुभएको छैन। देशभित्र नै केही काम गर्नुपर्ने अवस्था छ। लगानीको वातावरण देशभित्रै बनाउनुपर्छ। माहोल तयार गर्ने काम गरेको खण्डमा लगानी आउनसक्छ। उत्पादन नगरेसम्म निर्यात हुन सक्दैन। उत्पादन गर्ने परिस्थित बन्नुपर्छ। उत्पादन गुणस्तरीय हुन आवश्यक छ।’
उनले नेपालजस्तै रोजगारीका लागि आफ्ना नागरिक विदेश पठाउने देशहरुको समेत दूतावासको क्षमता बढी रहेको बताए। उनले नेपालभित्र नै रोजगारीको अवस्था सिर्जना गर्नसक्नुपर्ने बताए।
उनले नेपालभित्रै लगानीको वातावरण बनाउने, लगानीमैत्ती वातावरण बनाएको खण्डमा मात्रै नेपालले आर्थिक विकास गर्न सफल हुने बताए। उनले उत्पादन नगरेसम्म निर्यात गर्न नसकिने भन्दै नेपालमा गुणस्तरीय उत्पादन गर्ने परिस्थितिको सिर्जना गर्न राज्यले सक्नुपर्ने बताए।
सचिव पौडेलले नेपालले पछिल्लो समय चियाको निर्यात बढाउँदै गएको पनि बताए। उनले नेपालका व्यापारीहरुले नै पछिल्लो समयमा विदेशबाट चियाको माग बढी आइरहेकाले माग परिपूर्ति गर्नसक्ने वातावरण सरकारले बनाइदिनुपर्ने गुनासो गरेको बताए।
उनले भने, ‘नेपालको चिया केही मुलुकहरुमा पहिला जाँदो रहेनछ, जहाँ अलि धेरै चिया कन्ज्युम गर्दथे। त्यहाँ अहिले जान शुरु भएको छ। उहाँहरुको डिमाण्ड अब अहिले उहाँहरुको मागलाई आपूर्ति गर्न सक्छौँ की सक्दैनौँ भन्ने रहेको छ। केही हस्तकलाजन्य वस्तुहरु पनि फेयर ट्रेड गर्ने कुरामा लिंक गर्नुभएको छ। गत सालको भन्दा ५० प्रतिशत निर्यात गरेको कुरा भन्नुभएको छ। आईटी सेक्टरको कुरा छ। काठमाडौंमा बसेर नै हाम्रा युवाहरु सफ्टवेर र आईटी रिलेटेड सोलुशन बनाएर निर्यात गरिररहुन भएको छ। त्यसमा हामीले नीतिगत कुरामा सहयोग गर्ने हो भने राम्रो हुनेछ। यसको राम्रो फाइदा देखिरहेको छ।’
सचिव पौडेलले पछिल्लो समय नेपालबाट चियाका साथै हस्तकला र आइटीका सामग्रीहरुको माग विदेशमा बढीरहेको बताए निर्यात बढाउन सरकारले नीतिगत कुराहरुमा सहयोग गरे राम्रो हुने बताए।
Shares
प्रतिक्रिया