राजनीति


पूर्वराजा ज्ञानेन्द्रको कटाक्ष : हाम्रो राजनीति अंक तथा आकारप्रकारमा अलमलिएको छ

पूर्वराजा ज्ञानेन्द्रको कटाक्ष : हाम्रो राजनीति अंक तथा आकारप्रकारमा अलमलिएको छ

फाइल तस्बिर


नेपालखबर
पुस २७, २०७९ बुधबार १०:१७, काठमाडौँ

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली राजनीति विचार, आदर्श र सैद्धान्तिक निष्ठाभन्दा अंक तथा आकारप्रकारमा अलमलिएको टिप्पणी गरेका छन्। 

पृथ्वीनारायणनारायण शाहको ३०१औँ जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले वर्तमान राजनीतिक परिपाटीप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। यसमा पुनरवलोकन गरिनुपर्ने जिकिरसमेत उनले गरेका छन्। 

‘विचार, आदर्श र सैद्धान्तिक निष्ठाभन्दा अंक तथा आकारप्रकारमा हाम्रो राजनीति अलमलिएको छ’, शुभकामना सन्देशमा उनले भनेका छन्, ‘त्यसैले राज्य पद्धति र प्रणाली सही प्रकारले पुनरावलोकन हुनु आवश्यक देखिन्छ।’

यस्तो छ पूर्वराजा ज्ञानेन्द्रले जारी गरेको विज्ञप्तिको पूर्णपाठ 
छिन्नभिन्न विभाजनमा परेको नेपाल राष्ट्रको एकीकरण गरेर सिंगो र सबल आकार दिने श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह नेपाली इतिहासमा सदा स्मरणीय होइबक्सन्छ। नेपालमा एकता, अखण्डता, सामाजिक सद्‌भाव र सार्वभौमिक सर्वोच्चता दुर्बल हुँदै गएको यो समयमा राष्ट्रिय एकता दिवसको सान्दर्भिकता थप बढेको छ। 

हामीले श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहका दिव्योपदेशहरूलाई आत्मसाथ गर्दै मौशुफले दर्शाइवक्सेको मार्ग दर्शनलाई अनुसरण गर्न सकेमा मात्र हाम्रो इतिहास र भविष्य तथा नेपालीको स्वाभिमान सुरक्षित एवं संरक्षित हुन सक्छ भन्ने विश्वास लिएका छौं। वर्तमान अवस्थामा हामी धेरै नै परमुखी, परनिर्भर र परावलम्बी हुँदै गएका छौं। राष्ट्रको माटो, प्रकृति र आफ्नै प्रकारको प्रगति हाम्रा निम्ति प्रिय हुनुपर्दछ। हामी चाहन्छौं- देश आफ्नै बाहुबलमा अघि बढोस्, राष्ट्र आफ्नै मौलिक मान्यतामा अघि बढोस्, सबै यत्न-प्रयत्न गतिविधि आफ्नै शैली ढाँचा तथा प्रक्रियाबाट अघि बढोस्।

राष्ट्रियताबिनाको प्रजातन्त्र कागजी सिद्धान्त मात्र हुन्छ भन्ने हामीले ठानेका छौं। सेवा र सुरक्षा दिन नसक्ने प्रजातन्त्रको जुनसुकै नाम र आवरणमा अभ्यास गरे पनि यसबाट राष्ट्रमा सुख हुन सक्ने छैन । विचार, आदर्श र सैद्धान्तिक निष्ठाभन्दा अंक तथा आकारप्रकारमा हाम्रो राजनीति अलमलिएको छ। त्यसैले राज्य पद्धति र प्रणाली सही प्रकारले पुनरावलोकन हुनु आवश्यक देखिन्छ। राजनीतिक उतारचढावप्रति निरपेक्ष रहनु नेपाली राजसंस्थाको मौलिक विशेषता हो। राष्ट्र, राष्ट्रियता र जनहितप्रति समर्पित रहँदै समन्वयकारी जिम्मेवारी पूरा गर्न शाहवंशीय राजसंस्था कहिले चुकेको छैन। हरेकका आआफ्ना राष्ट्रिय अवधारणा, अनुभूति र चासो चिन्ताका विषय सुन्न, बुझ्न हामी सदैव तत्पर रहेका छौं।

जय नेपाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad