ad ad

राजनीति


पृथ्वी जयन्तीमा राप्रपाको कार्यक्रम : सिंहदरबारमा माल्यार्पण, भृकुटीमण्डपमा जलपान

पृथ्वी जयन्तीमा राप्रपाको कार्यक्रम : सिंहदरबारमा माल्यार्पण, भृकुटीमण्डपमा जलपान

फाइल तस्बिर।


नेपालखबर
पुस २७, २०७९ बुधबार ७:२९, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाल एकीकरणको अभियानका प्रणेता पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गरेको छ। आज (२७ पुस) मा देशभर सरकारले सार्वजनिक बिदा समेत दिएको छ। 

सो अवसरमा राप्रपाले राजधानी लगायत मुलुकका विभिन्न ठाउँमा कार्यक्रमहरू आयोजना गरेको हो। ‘३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’का रूपमा मनाउन सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले माल्यार्पण गर्ने कार्यक्रम रहेको छ। 

बिहान साढे १० बजे अध्यक्ष लिङ्देनले माल्यापर्ण गर्ने कार्यक्रम रहेको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। 

त्यसपछि दिउँसो १ देखि अपराह्न ४ बजेसम्म काठमाडौँको भृकुटीमण्डपमा रक्तदान, कवि गोष्ठि र जलपान समारोहको आयोजना गरिएको श्रेष्ठले जानकारी दिए।

समारोहमा प्रधानमन्त्री, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका प्रमुख तथा नेताहरू, नेपाल सरकारका उच्चपदस्थ व्यक्तित्व एवं नेपालको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तित्वहरूलगायतलाई आमन्त्रण गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

विभिन्न राज्यमा टुक्रिएर रहेको नेपाललाई एकताको सूत्रमा बाँधेर राज्यको एकीकरण गर्ने शाहको जन्म विसं १७७९ पुस २७ गते गोरखामा भएको थियो।

उनको जन्मदिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाई सार्वजनिक बिदा दिन राप्रपाले माग गर्दै आएको थियो। नेपाल सरकारले सोमबार मात्र पुस २७ लाई राष्ट्रिय बिदा दिने निर्णय पनि गरेको छ।

राष्ट्रनिर्माता पृथ्यीनारायण शाहको जन्मदिनलाई राष्ट्रिय बिदाका रूपमा मनाउने निर्णय गरेर सरकारले राप्रपाको मात्र नभई बहुसङख्यक नेपाली जनताको भावना र चाहनाको सम्मान गरेको भन्दै प्रवक्ता श्रेष्ठले सरकारलाई धन्यवाद दिएका छन्।

उनले सरकारको यो निर्णय र राप्रपाको विगत लामो समयदेखिको मागको सम्बोधनका कारण पनि भोलि देशव्यापीरूपमा पृथ्वीनाराण शाहको जन्मजयन्ती भव्यरूपमा मनाइने र राप्रपाले आयोजना गरेको जलपानमा पनि नेपालका विशिष्ट व्यक्तित्वहरूको सहभागिता हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .