ad ad

राजनीति


सीके राउतसँग कार्यगत एकताको निर्णयले नागरिक उन्मुक्तिमा विवाद

सीके राउतसँग कार्यगत एकताको निर्णयले नागरिक उन्मुक्तिमा विवाद

केशव सावद
पुस २५, २०७९ सोमबार १८:८, काठमाडौँ

जनमत पार्टीसँग सहकार्यका लागि १२ बुँदे सहमति गरेसँगै नागरिक उन्मुक्ति पार्टीमा विवाद सिर्जना भएको छ। अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीमा छलफल नगरी जनमत पार्टीसँग कार्यगत एकताका लागि सहमति गरेको भन्दै नागरिक उन्मुक्ति पार्टीमा विवाद देखिएको हो। 

दुवै पार्टीले आइतबार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरेर जनतासँग सरोकार राख्ने मुद्दाहरुमा सरकारलाई दबाब दिन तथा आदिवासी, जनजाति, मधेशी, मुस्लिम, दलित, थारु, ओबीसी, अल्पसंख्यक तथा महिलामैत्री राजनीतिक वातावरण तयार गराउन मोर्चाबन्दी गरिएको बताएका थिए। 

अध्यक्ष श्रेष्ठका श्रीमान् रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीका संरक्षक हुन्। सर्वोच्च अदालतबाट टीकापुर घटनामा दोषी ठहर भएका उनी अहिले डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका छन्।  

टीकापुरमा थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ मा १ बालक र ८ प्रहरीको ज्यान जाने गरी भएको घटनाका मुख्य योजनाकार भनिएका रेशमलाई जिल्ला अदालत कैलालीले २०७५ फागुन २२ गते जन्मकैदको फैसला सुनाएको थियो।

जिल्ला अदालतको फैसला त्रुटिपूर्ण रहेको र आफू निर्दाेष रहेको दाबी गर्दै उनले २०७६ वैशाख २९ मा उच्च अदालत दिपायलमा पुनरावेदन निवेदन पेस गरेका थिए। तर, उच्च अदालत दिपायलले २०७७ पुस २ गते जिल्ला अदालतको फैसला सदर गर्दै जन्मकैदको फैसला सुनाएको थियो।

रेशमलाई थुनामा रहेकै समयमा २०७५ पुस १९ गते सांसदको शपथग्रहण गराइएको थियो। उनी तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का तर्फबाट कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए। हाल उनले आफ्नो संरक्षकत्वमा नयाँ दल खोलेका छन्। 

कारागारबाटै रेशमले खोलेको नयाँ दल नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभामा ३ र सुदूरपश्चिम प्रदेशसभामा ७ सिट जितेको छ। पार्टीले रेशम चौधरीको रिहाइ नभएसम्म सरकारमा नजाने ‘बटमलाइन’ बनाएको छ। तर, उसले कार्यगत एकता गरेको जनमत पार्टी भने सरकारमा सहभागी भइसकेको छ। 

नागरिक उन्मुक्ति र जनमतबीच भएको सहमतिको पहिलो बुँदामा ‘टीकापुर घटनाका राजबन्दीहरु लगायत माननीय रेशम चौधरीको रिहाइको पहल दुवै पक्षबीच सम्झौता भएकै दिनबाट सुरु गर्ने’ भनिएको छ। सहमति पत्रमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले हस्ताक्षर गरेका छन्। 

यद्यपि, उक्त सहमतिबारे नागरिक उन्मुक्ति पार्टीका महासचिव रतन थापाले अनविज्ञता जनाएका छन्। नेपालखबरको जिज्ञासामा उनले भने, ‘मैले पनि मिडियाबाटै थाहा पाएको हुँ। यसबारे मलाई कुनै प्रतिक्रिया दिनुछैन।’ 

उनले अध्यक्ष श्रेष्ठले पार्टीमा कसैलाई जानकारी नदिएरै अचानक जनमत पार्टीसँग कार्यगत एकता गरेको पनि बताए। 

जनमतसँगको कार्यगत एकताबारे केन्द्रीय सदस्यद्वय लक्ष्मण थारु र सुरेन्द्र चौधरीले पनि आपत्ति जनाएका छन्। दुवै जनाले सामाजिक सञ्जाल फेसबुकमा कार्यगत एकताको विरोध गरेका छन्।  

नेता थारुले फेसबुकमा लेखेका छन्, ‘टीकापुर राजबन्दी मा. रेशमलाई गल्ती गर्ने छुट छैन।’ उनले फेसबुकमा स्टाटस लेखेपछि केही सामाजिक सञ्जाल प्रयोगकर्ताले थारुको खाता (अकाउन्ट) ‘ह्याक’ भएको बताइरहेका छन्। 

तर, नेता थारुले नेपालखबरसँगको टेलिफोन कुराकानीमा आफ्नो फेसबुक ‘ह्याक’ नभएको प्रतिक्रिया दिए। जनमत पार्टीसँगको कार्यगत एकताका बारेमा राखिएको जिज्ञासामा भने उनले थप बताउन चाहेनन्। 

यस्तै अर्का केन्द्रीय सदस्य सुरेन्द्र चौधरीले भनेका छन्, ‘दलहरुसँगको एकीकरण, कार्यगत एकताको लागि पार्टीको विस्तारित केन्द्रीय समितिको बैठकले मलाई जिम्मा दिएको कुरा सत्य हो। तर, सीके राउतजीसँगको कार्यगत एकताको वार्ता मैले गरेको होइन। तपाईंहरुले जसरी मिडियाबाट थाहा पाउनु भयो मैले पनि त्यसरी नै थाहा पाएको हुँ।’

उनले कार्यगत एकताका बारेमा डिल्लीबजार कारागारमा रहेका संरक्षक रेशमलाई सोध्न पनि भनेका छन्। 

‘कार्यगत एकता भनेको के हो त्यो पनि थाहा छैन। त्यसको अर्थ निर्वाचन आयोगलाई सोध्नु होला,’ चौधरीले लेखेका छन्, ‘तसर्थ यो विषयमा मलाई केही पनि नसोध्नु होला। जे सोध्नु छ, डिल्लीबजारलाई सोध्नु होला। म जवाफदेही होइन।’

उनले जनमत पार्टीसँग संसदमा मोर्चाबन्दी गर्नु पर्छ भन्ने पहिलो व्यक्ति आफू नै भए पनि कार्यगत एकताको कुरा सुन्ने सवालमा आफू पनि अरु जस्तै अनविज्ञ भएको पनि बताएका छन्। 

‘सम्झौता वाचन गर्ने व्यक्ति कुन पार्टीको कुन स्तरको नेता हुन भन्ने कुरा पनि कसैलाई थाहा छैन,’ केन्द्रीय सदस्य चौधरीले भनेका छन्। 

जनमत पार्टीसँगको कार्यगत एकता र एकतापछि पार्टीमा देखिएको विवादबारे प्रतिक्रया लिन खोज्दा अध्यक्ष श्रेष्ठले प्रयोग गर्दै आएको मोबाइल नम्बर उठेन। तर, प्रदेश सभा सदस्य कैलाश चौधरीले भने जनमतसँगको कार्यगत एकताले पार्टीमा कुनै पनि प्रकारको विवाद सिर्जना नभएको दाबी गरे। 

‘पार्टीभित्र असन्तुष्टि छैन। केही नेताहरुले केही प्रस्ताव राख्नुभएको होला,’ उनले नेपालखबरसँग भने, ‘पार्टीले आनाकानी गरेर सामान्य चित्त दुखाइ हुन सक्छ। चित्त दुखाइका कुराहरु फेसबुकमा राख्ने चलन नै चलिसक्यो अचेल।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .