राजनीति


संघीय संसदको पहिलो अधिवेशन सोमबार, तयारी पूरा

संघीय संसदको पहिलो अधिवेशन सोमबार, तयारी पूरा

नेपालखबर
पुस २४, २०७९ आइतबार १९:०, काठमाडौँ

पुस २५ गते (भोलि) अपरान्ह १ बजेका लागि आह्वान गरिएको संघीय संसदको पहिलो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ।

संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले संघीय संसदको पहिलो अधिवेशनको सबै तयारी पूरा पूरा भएको जानकारी गराएका हुन्। आइतबार न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै उनले अधिवेशनका लागि आवश्यक प्रशासनिक, व्यवस्थापकीय र प्राधिविक पक्षका सबै कामहरु पूरा गरिएको बताए। 

संघीय संसद अन्तर्गतको प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको बैठक भोलि एकसाथ बस्दैछ। प्रतिनिधि सभा बैठकका लागि सर्वदलीय बैठक र राष्ट्रिय सभा बैठकका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर पहिलो अधिवेशनका लागि आवश्यक निर्णय गरिएको र सोही बैठकको निर्णय अनुसार संघीय संसद सचिवालयले आवश्यक व्यवस्था मिलाएको सहायक प्रवक्ता धमलाको भनाई थियो। 

उनले भने, ‘संघीय संसदको भोलिदेखि अधिवेशन शुरु हुँदैछ । दुवै सभाका बैठकहरु एकसाथ १ बजेबाट सुरु हुन्छन्। संघीय संसद सचिवालयले यसको सन्दर्भमा गर्नुपर्ने तयारीहरु सम्पूर्ण रुपमा पूरा गरिसकेको छ। यस पटक केही नयाँ दलहरु पनि निर्वाचित भएर आएको अवस्था छ। ती दलका लागि आवश्यक पर्ने संसदीय दलका कार्यालयहरु हामीसँग थिएनन्। न ठाउँ थियो, न हामीसँग पर्याप्त स्रोत, साधनको आधारमा भवनहरु बनाउन सकिने अवस्था नै थियो। तत्काल हामीले नेपाल सरकारसँग समन्वय ग¥यौं। र, नेपाल सरकारले केही संरचनाहरु उपलब्ध गराई दियो। र, हामीले त्यसको व्यवस्था मिलाई सकेका छौं।’ 

उनले थपे, ‘अहिले हामीले ती दलबाट निर्वाचित हुने पदाधिकारीहरु जसलाई कानून बमोजिम सवारीसाधन उपलब्ध गराउनुपर्ने हुन्छ, त्यसका लागि हामीसँग पर्याप्त सवारी साधन छैनन्। नेपापल सरकारसँग त्यसबारे पहल गरिरहेका छौं। माग गरेका छौं। हामीले कठिनका साथ भएका स्रोत, साधनहरुको उपयोग गरिरहेका छौैं। अब यसको अतिरिक्त बैठक सम्पादनका लागि, बैठकको व्यवस्थापनका लागि गर्नुपर्ने प्रशासनिक तथा व्यवस्थापकीय कुराहरु, प्राविधिक परीक्षणका कुराहरु सबै सम्पन्न गरिसकेका छौं।’

संघीय संसद सचिवालयले सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुलाई दलीय प्रतिनिधित्वको आधारमा बस्न मिल्ने गरी सिटको व्यवस्था गरिएको पनि जानकारी गराएको छ। तर स्थान अभावका कारण सबै दलका संसदीय दलका नेताहरुलाई पहिलो लहरमा राख्ने गरी सिटको व्यवस्था भने गर्न नसकिएको सहायक प्रवक्ता धमलाले बताए। संघीय संसदमा १२ वटा राजनीतिक दलहरुको प्रतिनिधित्व रहेको छ। 

‘१२ वटा दलहरुलाई समेटेर यो सिटको व्यवस्थापन गर्नुपर्नेछ। हामीसँग भौतिक संरचना यति नै हो। थप छैन। कोभिडको संकट बढेर आउने पनि भनिएको छ। हामीले त्यसलाई पनि ख्याल गर्दै एउटा सिट खाली राखेर सिट व्यवस्थापन गर्नुपर्ने अवस्था छ’ सहायक प्रवक्ता धमलाले भने, ‘अहिले उहाँहरुसँग समन्वय गरेर तपाईहरु सत्तापक्ष कि प्रतिपक्ष भनेर सोधेर उहाँहरुले जे भन्नुहुुन्छ, त्यसको आधारमा हामीले सत्तापक्ष र प्रतिपक्षमा रहने सदस्यहरुको अनुसार दलगत रुपमा सिटको व्यवस्था मिलाइसकेका छौं।’

अधिवेशनमा सबै दलका संसदीय दलका नेताहरुले बोल्ने कार्यसूचि तय गरिएको छ। संघीय संसदमा सांसदहरुले पनि ईहाजिरी गर्ने व्यवस्था मिलाइएको छ। भोलिबाट परीक्षणका लागि राष्ट्रिय सभामा शुरु हुने र परीक्षण पछि दुवै सदनमा त्यसलाई लागू गर्ने योजना तय गरिएको पनि संघीय संसद सचिवालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad