परराष्ट्र मन्त्रालयले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई सक्रिय बनाउन प्रयत्नहरु जारी रहेको जनाएको छ।
परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले अध्यक्ष राष्ट्रको हैसियतले नेपालले सार्कलाई सक्रिय बनाउन प्रयत्न गरिरहेको बताएका हुन्।
आइतबार संघीय संसद राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले सबै सदस्य राष्ट्रहरुबीचको सहमती जुट्न नसकेकाले सक्रिय बनाउन नसकिएको स्पष्टीकरण दिए।
सचिव पौडेलले सबै सदस्य राष्ट्रहरुको सहमतिमा मात्रै सार्कलाई अघि बढाउन सकिने आधारभूत सिद्धान्त रहेको बताए।
त्यसैकारण सार्कलाई सक्रिय बनाउने प्रयास नतिजामुखी हुन नसकेको उनले स्मरण गराए।
‘सार्कमा हामी अहिले चेयर (अध्यक्ष) छौं। तर, प्रक्रियाहरु अगाडि बढेनन् भन्ने कुराहरु छन्। यो बहुपक्षीयता र रिजनालिज्मका केही सर्टेन कन्स्ट्रेन्सहरु हुन्छन्। त्यसमध्ये हामीले सार्क बनाउँदा, चार्टर डिफाइन गर्दा नै एउटा फण्डामेन्टल प्रिन्सिपमा एग्री गर्यौं। त्यो भनेको एउटा विषयमा सबै एग्री नभएसम्म कुनै पनि चिज अघि बढ्दैन', उनले भने, 'बेसीकल्ली त्यही हुन नसकेर हो। सार्कमा अध्यक्ष राष्ट्रको भूमिका छुट्टै केही हुँदैन। हामी त ८ वटामध्ये एउटा मात्रै हौँ। त्यसकारण यसमा प्रयत्न भइराखेको छ।'
सार्कमा नेपाल, भारत, भुटान, बंगलादेश, माल्दिभ्स, पाकिस्तान, श्रीलंका र अफगानिस्तान सदस्य राष्ट्र छन्।
ती सबै सदस्य राष्ट्रहरुको सहमतिमा मात्रै सार्कलाई सक्रिय बनाउन सकिने परराष्ट्र सचिव पौडेलको भनाई छ।
बैठकमा समितिकी सभापति दिलकुमारी रावल (थापा) ले सार्कलाई सक्रिय बनाउन सरकारले कस्तो पहल गरिरहेको छ भनेर सोधेकी थिइन्।
Shares

प्रतिक्रिया