राजनीति


सत्ता गठबन्धनमा जाँदैनौँ, कसैसँग लत्रिने र झुक्ने पक्षमा छैनौँ :  माधव नेपाल

सत्ता गठबन्धनमा जाँदैनौँ, कसैसँग लत्रिने र झुक्ने पक्षमा छैनौँ :  माधव नेपाल

पार्टी पोलिटब्युरो बैठकमा बोल्दै माधव नेपाल। तस्बिर : सरोज बैजु/नेपाखलबर


नेपालखबर
पुस १८, २०७९ सोमबार १४:२७, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन नसक्ने बताएका छन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सामेल हुन आग्रह गरिरहँदा उनको यस्तो अडान बाहिर आएको हो। 
सोमबार काठमाडौंमा सुरु पार्टी पोलिटब्यूरो बैठकमा बोल्दै उनले राष्ट्र र जनताको हितलाई केन्द्रविन्दुमा राखेर आफ्नो पार्टी अघि बढ्ने पनि स्पष्ट पारे। 

अध्यक्ष नेपालले आफ्नो पार्टीले वर्तमान राजनीतिक परिस्थितिमा ठीक गरिरहेको उल्लेख गर्दै कसै सामू लत्रिने पक्षमा नरहेकोसमेत बताए। 

मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे वस्तुनिष्ठ समीक्षा गरेर आफूहरु अघि बढ्ने तर आरोपप्रत्यारोपको राजनीति गर्ने पक्षमा आफ्नो पार्टी नरहेको उनको भनाई थियो। 

अध्यक्ष नेपालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टीभित्रै रहेर ती समस्या समाधान गरेर अघि बढने आफूहरुको प्रयास असफल भएपछि नयाँ यात्रा गरेर अघि बढ्नु परेको तथ्य बुझ्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।

‘देशको राजनीतिक आफ्नै जटिलताहरु छन्। हाम्रो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन सक्दैन। कुनै पनि शक्तिको पछि लाग्दैन। हामी आफ्नो देश अघि बढाउन चाहन्छौँ। हामी देशको हितलाई केन्द्रविन्दुमा राखेर अघि बढन चाहन्छौँ। नेपाली जनताको भावनालाई केन्द्रविन्दुमा राखेर अघि बढन चाहन्छौँ', उनले भने, 'त्यसो हुनाले यिनै सोच र मान्यताका आधारमा हामी अगाडि बढ्नेछौँ। संसदको चुनावभन्दा पहिले २०७७ साल पुस ५ गतेको दिनमा प्रतिनिधिसभाको विघटन भयो।'

उनले एमालेभित्र लामो समयदेखि अन्तरसंघर्ष चलेको पनि बताए। 'त्यसभन्दा पहिले नेकपा एमालेभित्र अन्तर संघर्ष चलिरहेको थियो। त्यो अन्तरसंघर्षलाई त्यहीँ बसेर हल गर्ने हाम्रो चाहना थियो। तर त्यो हुन सकेन। किन भएन? त्यसको हामी पछि समीक्षा गरौँला', उनले भने, 'यो आरोप प्रत्यारोप गर्ने बेला पनि होइन। कसैसामू लत्रिनु परेको पनि छैन। हामीले ठीक गरेको छौँ। दृढतासाथ उभिएका छौँ। एकले अर्कालाई आरोपप्रत्यारोप गरेर केही पार लाग्नेवाला छैन।' 

उनले अब आफूहरु सबै कुराको वस्तुनिष्ठ समीक्षा गर्दै अघि बढन तयार रहेको बताए। 'तथ्य देखाऔं, प्रमाणित गरौँ। त्रुटी छन् भने हामी सच्चिन तयार छौँ', उनले भने, 'पानीमाथिको ओभानो बन्ने काम कसैले पनि नगरे हुन्छ। तपाईँहरुलाई थाहा छ–राष्ट्रिय राजनीति अगाडि बढ्यो। प्रतिनिधिसभा विघटनलाई हामीले प्रतिगामी कदमको रुपमा आलोचना गर्‍यौँ। विरोध गर्‍यौँ।’

अध्यक्ष नेपालले आफूहरुबाट केही गल्ती भए सच्चिन तयार रहेको उल्लेख गर्दै कसैलाई पनि पानी माथिको ओभानो बन्ने प्रयास नगर्न पनि चेतावनी दिए। 

आजबाट सुरु भएको बैठकमा नेताहरुले सरकारमा पार्टी सहभागी हुने वा नहुने भन्ने विषयमा पनि आ–आफ्नो धारणा राख्ने एजेण्डा समेत तय गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए। 

त्यसैगरी बैठकमा निर्वाचनको समीक्षा, पार्टीको भावी नीति र कार्यक्रमबारे पनि छलफल हुने नेकपा (एकीकृत समाजवादी) ले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .