ad ad

राजनीति


नयाँ वर्ष सन् २०२३ ले बिथोलिएको राजनीति अगाडि बढाउने ओलीको विश्वास

नयाँ वर्ष सन् २०२३ ले बिथोलिएको राजनीति अगाडि बढाउने ओलीको विश्वास

नेपालखबर
पुस १७, २०७९ आइतबार ७:५७, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सुरु अंग्रेजी नयाँ वर्ष २०२३ ले राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिका दूरगामी यात्रालाई पुनः अगाडि बढाउने विश्वास व्यक्त गरेका छन्। 

नयाँ वर्षको उपलक्ष्यमा आज शुभकामना सन्देश जारी गरी उनले नयाँ वर्षले आगमनसँगै मुलुक राष्ट्रिय राजनीतिक दिशा निर्धारण गर्ने प्रयासमा अघि बढ्ने बताएका हुन्। 

अध्यक्ष ओलीले सन्देशमा भनेका छन्, ‘एमाले देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्शालाई पूरा गर्न चाहन्छ।’ 

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले एमालेले लोकतन्त्रलाई राजनीतिक अधिकारको सङ्कुचित परिभाषाबाट माथि उठाउँदै जनताका सबै आवश्यकता र अधिकार परिपूर्तिको जीवनमूल्य समेटिएको परिपूर्ण लोकतन्त्रका रूपमा व्यवहारमा अनुदित गर्न चाहेको बताए। 

‘हामी जनताको जीवनमा परिवर्तन ल्याउन देशलाई सुशासनयुक्त, पछौटेपनमुक्त गरिबीरहित, सुशासित, आधुनिक, समृद्ध र सुविधासम्पन्न बनाउन आफूले लिएको अग्रसरतालाई अझ असाधारण र द्रूतगतिमा अघि बढाउन चाहन्छौँ’, उनको सन्देशमा भनिएको छ। समृद्ध नेपाल, सुखी नेपालीको यस राष्ट्रिय आकांक्षालाई पूरा गर्न सुस्थिर राजनीति अपरिहार्य रहेको उल्लेख गर्दै उनले त्यसका लागि आआफ्ना ठाउँबाट योगदान गर्न सबै राजनीतिक दल र पक्षसँग आग्रह गरेका हुन्। 

‘व्यक्ति र समूहका निजी दुराकांक्षाहरूले सिर्जना गर्न सक्ने अवरोधलाई पन्छाउँदै मुलुक निर्माणको प्राथमिकतामा केन्द्रित हुन सबैलाई आग्रह गर्दछु’, उनले जारी गरेको सन्देशमा भनिएको छ। 

समृद्ध नेपाल र सुखी नेपालीको साझा राष्ट्रिय आकांक्षा पूरा गर्ने यस बाटोमा सबै पेसा, क्षेत्र, वर्ग र समुदायको साथ रहने छ भन्ने अपेक्षा ओलीको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .