राजनीति


प्रचण्डलाई बधाई दिन एकसाथ सिंहदरबारमा प्रभु साह र महेश बस्नेत

केही नेता एमाले-माओवादी एकताका लागि सक्रिय
प्रचण्डलाई बधाई दिन एकसाथ सिंहदरबारमा प्रभु साह र महेश बस्नेत

सिंहदरबारमा प्रचण्डलाई बधाई दिँदै नेताहरु। तस्बिर : निभेष यादव


नेपालखबर
पुस १३, २०७९ बुधबार १८:४९, काठमाडौँ

एकै ठाउँ आइपुगेका वाम दललाई मिलाउने अभियानमा सक्रिय प्रभु साह र महेश बस्नेत बुधबार एकैसाथ सिंहदरबार पुगे। 

पछिल्लो समय एमाले, माओवादी र एकीकृत समाजवादीका नेताहरुसँग निरन्तर संवादमा रहेका रौतहट ३ बाट विजयी प्रभु साह प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिन सिंहदरबार पुगे।

उनीसँगै थिए एमाले पोलिटब्युरो सदस्य महेश बस्नेत, केन्द्रीय सदस्य सञ्जीवकुमार झा। स्रोतका अनुसार उनीहरु बुधबार दिउँसो पनि एक पटक छलफल गरेर सिंहदरबार छिरेका हुन्। 

एमाले अध्यक्ष ओलीनिकट बस्नेत पछिल्लो समय वाम गठबन्धन निर्माणका लागि सक्रियमध्ये एक नेता हुन्। उनी अहिले पनि वाम दलहरु गठबन्धनबाट फेरि एकतामा पुग्नुपर्ने पक्षमा छन्। 

अर्कातिर प्रभु साह पनि एमाले र माओवादीबीच एकता भएमा आफू पनि त्यहीँ समाहित हुने योजनामा छन्। उनले मंसिर ४ को चुनावअगाडि एमालेको टिकट त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका थिए।

चुनावपछाडि उनलाई एमालेले साधारण सदस्यबाटै हटाइसकेको छ। तर उनले पछिल्लो समय एमालेका दोस्रो र तेस्रो तहका नेताहरुसँग निरन्तर संवाद गरिरहेका छन्।

तीनै ठूला कम्युनिष्ट दलसँग संवादमा रहे पनि उनी अझै पर्ख र हेरको पक्षमा छन्। एमाले अध्यक्ष ओलीले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी तथा प्रभु साह र अर्का स्वतन्त्र सांसद किरण साहलाई भित्र्याउन खोजिरहेका छन्।

'तर प्रभु साह अहिले नै कुनै पार्टीमा जाने पक्षमा हुनुहुन्न', उनीनिकट एक नेताले भने, 'बरु एमाले र माओवादीबीच एकता गराएर आफू पनि त्यहीँ समाहित हुने उहाँको योजना हो। नयाँ पार्टी खोल्ने कुरामा पनि उहाँले निर्णय गरिसक्नु भएको छैन।'

दुवै साह र एकीकृत समाजवादीलाई एमालेमा समाहित गर्ने अभियान चलाएका बस्नेतले बुधबार माधवकुमार नेपालसँग संवाद गरेका थिए।

कोटेश्वरस्थित निवासमै पुगेर अब मिलेर जानुपर्ने नेपालसँग राखेका थिए। तर नेपालले यसबारेमा केही जवाफ नदिएको स्रोतले जनाएको छ। 

उता साहसँग पनि बस्नेतले मंगलबार साँझ वार्ता गरेका थिए। 'उहाँहरु बुधबार सिंहदरबारमा एकैचोटी जानु भएको हो।

प्रभु साह अहिलेको वाम ध्रुवीकरण गठबन्धलाई एकतामा पुर्‍याउने योजनामा हुनुहुन्छ', ती नेताले भने, 'उहाँलाई एमालेले, माओवादी र समाजवादीले पनि फकाउन खोजिरहेका छन्। तर उहाँ अहिले कतै जानु हुन्न।' 

एमाले र माओवादीको गठबन्धन बनाउन पनि दुवै दलका दोस्रो र तेस्रो तहका नेताहरुले निर्णायक भूमिका खेलेका थिए। उनीहरुले दुवैलाई लचक बनाउने रणनीतिअनुसार अहिले एक नभए कम्युनिष्टहरु सिद्धिने भन्दै दबाब दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad