नयाँ सरकार गठनका लागि राजनीतिक दलहरुबीच तानातान भइरहँदा पुस ७ गते नेपाली कांग्रेस संसदीय दलबाट पार्टीका सांसदहरुलाई मोबाइलमा सन्देश पठाइयो। सन्देशमार्फत् प्रधानमन्त्रीसमेत रहेका दलका नेता शेरबहादुर देउवाले आफ्नो दलका सांसदहरुलाई नयाँ सरकार गठन नहुँदासम्म काठमाडौं उपत्यका बाहिर नजान निर्देशन दिएका थिए।
रोमनमा लेखिएको सन्देशमा भनिएको थियो, ‘नयाँ सरकार गठन नभएसम्म काठमाडौँ भ्यालीबाहिर नजान हुन निर्देशनानुसार जानकारी गराइन्छ। नेपाली कांग्रेस संसदीय दल।’
दलको कार्यालयबाट नवनिर्वाचित सांसदहरुलाई सन्देश गएको तीन दिनपछि अर्थात् पुस १० गते कांग्रेसको अडानका कारण पाँच दलीय गठबन्धन टुट्यो। कांग्रेस नेतृत्वको गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेसँग मिल्न पुगे।
पार्टीभित्र म पनि पर्छु तर अपमानित जस्तो हुनपर्यो : गगन थापा
पुस १० गते दिउँसो नेपालको राजनीतिमा ठूलै हलचल भयो। मंसिर ४ को निर्वाचनअघि गठबन्धन १०–१५ वर्षसम्म जान्छ भनेर जनता सामु गठबन्धनको औचित्यबारे बढाइचढाइ गरेर सामूहिक रुपमा मत मागेका दलहरु छिन्न–भिन्न भए। निर्वाचनबाट सबैभन्दा ठूलो दलको हैसियत बनाएको कांग्रेस संघीय सरकारमा प्रतिपक्षीय भूमिका निर्वाह गर्न बाध्य भयो।
संघीय राजधानी काठमाडौंमा एकाएक नयाँ राजनीतिक घटनाक्रम विकसित हुँदै गर्दा कांग्रेस महामन्त्री गगनकुमार थापा कास्कीको पोखरामा आयोजित साहित्य महोत्सवमा गफिइरहेका थिए। महोत्सव सम्बोधनका क्रममा उनले संसदीय दलको चुनावमा हारे पनि सत्ता गठबन्धन टुटेको समाचारले चित्त बुझेको बताए।
‘मैले संसदीय दलको चुनाव हारे पनि आजको समाचारले चित्त बुझाएको छु। म यता आएको थिएँ, उता धेरै थोक भएछ। म दलको नेता भएको भए खुमलटारबाट बालकोटको दौडधूपबीच आउलान् नआउलान् भनेर आत्तिनुपथ्र्यो,’ थापाले भनेका थिए, ‘अब त ढुक्क भयो। अब चित्त बुझाउने हो। चित्त बुझाउने यो तरिका पनि अपनाउनुपर्छ काठमाडौंका मान्छेले।’
त्यसको भोलिपल्ट अर्थात् सोमबार महामन्त्री थापाले महोत्सवअन्तर्गतको ‘राजनीतिमा समाजको ऐना’ सत्रमा पत्रकार वसन्त बस्नेतसँगको संवादमा सभापति देउवाले आफूलाई ‘स्पेस’ नदिएर अपमान गरेको गुनासो गरे।
‘हिजो (आइतबार) बिहान ६ बजेदेखि पार्टी सभापतिको कतिबेला फोन आउँछ भनेर कुरेर बसेँ। पार्टीमा छलफल गरेर गठबन्धन बैठकमा निर्णय लिन्छु भन्ने सभापतिको कुरा पनि समाचार पढेर थाहा पाएँ,’ उनको गुनासो थियो, ‘पार्टी कार्यालयमा भइरहेको छलफल होइन। निवासमा भएको छलफल। घर हो, घरमा नबोलाइ जाने कुरा पनि भएन। तर, म बोलाइनेमा पर्छु, पर्छु, पर्नुपर्छ भनेर म टेलिफोन कुरेर प्लेनको टिकट १० बजेलाई १२ बजे, १२ बजेलाई २ बजे सार्दैसार्दै बसेको। त्यसैले म एक प्रकारले भन्ने हो भने यहाँ आउँदै गर्दा एकदम अपमानित भएर आएको हुँ। जे कुरा मैले महसुस गरेँ, त्यो कुरा सेयर गरेको हो।’
महामन्त्री थापाको अभिव्यक्ति सञ्चारमाध्यममा छ्यापछ्याप्ती भएपछि कांग्रेसका अधिकांश नेता–कार्यकर्ताहरु सामाजिक सञ्जालमार्फत् सभापति देउवाविरुद्ध आक्रोश पोखिरहेका छन्। महामन्त्रीहरुलाई बाहिर राखेर सत्ता समीकरणको छलफल चलाइएको भन्दै उनीहरु क्रुद्ध छन्।
तर, संस्थापन पक्षीय नेताहरु भने महामन्त्री थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं उपत्यकाबाहिर गएर दलको निर्देशन उल्लंघन गरेको टिप्पणी गरिररहेका छन्।
‘दलको कार्यालयबाट हामीलाई जस्तै निर्देशन उहाँहरुलाई पनि गएको छ। उपत्यका नछाड्नु भनेपछि किन छाड्नु परेको?’ भक्तपुर–२ बाट विजयी संस्थापन पक्षीय प्रतिनिधि सभा सदस्य दुर्लभ थापा भन्छन्, ‘महामन्त्रीले निर्देशन मान्नु नपर्ने? सामूहिक नेतृत्व भन्ने अनि सभापतिमाथि मात्रै दोष थोपर्ने? यसको जिम्मेवारी सबैले लिनुपर्छ।’
प्रतिनिधि सभामा ८९ सिट ल्याउँदा पनि पार्टी प्रतिपक्षमा बस्नु परेपछि कांग्रेस नेताहरु पक्ष–विपक्षमा विभक्त भएका छन्। संस्थापन इतर समूहका नेताहरु पुस १० गते गठबन्धन टुटेर नयाँ विकसित राजनीतिक घटनाक्रमको जिम्मेवारी लिएर सभापति देउवाले राजीनामा दिनुपर्नेसम्मको माग गरिरहेका छन्।
इतर समूहमा रहेका कांग्रेसका पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरेले गठबन्धन टुटेसँगै देउवाले पार्टी सभापति र संसदीय दलको नेता दुवै पद त्याग्नुपर्ने बताएका छन्।
‘नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजीनामा दिनुपर्छ,’ उनले भनेका छन्, ‘हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन? यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ?’
गगनले पोखरामा के भनेका थिए?
इतर समूहको नेतृत्व गर्दै आएका नेता डा. शेखर कोइरालाले गठबन्धनको निरन्तरता हुन नसकेकोबारे प्रश्न उठाएका छन्।
‘संविधानको रक्षा र समृद्धिको यात्रा गर्ने भनी गठित शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको निरन्तरता किन र कसरी सम्भव भएन हाम्रो अगाडि यो प्रश्न गम्भीर रूपमा अगाडि आएको छ,’ उनले भनेका छन्, ‘हामीले यसको चित्त बुझ्दो जवाफ कांग्रेस कार्यकर्ता, समर्थक, शुभेच्छुकलगायत सबै आम नेपाली माझ दिनुपर्छ भन्ने मान्यता म राख्छु।’
इतर समूहले गठबन्धान टुटेपछि विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर तीव्र आलोचना गरेपछि सभापति देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन्। कांग्रेसले पुस २२ गते दिउँसो १ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्य समिति बैठक बोलाइसकिएकाले त्यहीँ छलफल गरेर सबै खुलस्त हुने उल्लेख गरे।
'अब केन्द्रीय समितिको बैठक डाकिसकिएको अवस्था छ, केन्द्रीय समितिमा सबै छलफल खुलस्त हुनेछ', उनले भने, 'त्यसपछि पार्टीले स्पष्ट दृष्टिकोणसहित संसदमा प्रमुख प्रतिपक्षको प्रभावकारी भूमिका र पार्टी सुदृढीकरणको विशेष रणनीतिसहित कार्ययोजना अभियान लिएर एकताबद्ध भएर हामी अघि बढ्ने छौँ।'
प्रतिक्रिया