नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बो सर्वसम्मत चयन भएका छन्।
माओवादी केन्द्र संसदीय दलको मंगलबार बसेको बैठकले प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका आङ्म्बो दलका नेतामा चयन भएका हुन्।
संसदीय दलको आकांक्षी अर्का नेता दुर्गाप्रसाद चापागाईंले आङ्बोलाई समर्थन गरे।चापागाईंलाई माओवादी केन्द्रबाट सरकारको नेतृत्व दिने सहमतिपछि उनी दलको नेताको दौडबाट ब्याक भएका हुन्।
आङ्बोले आफू अब मन्त्री नबन्ने बताउँदै आएका छन्। तर प्रदेशसभाको विगत ५ वर्षे कार्यकालमा दुई पटक आर्थिक मामिला तथा योजनामन्त्री बनेका उनले सत्तारुढ दलहरुबीच प्रदेश १ मा माओवादीले मुख्यमन्त्री पाउने सहमति गरे उक्त जिम्मेवारी स्वीकार गर्ने बताए।
‘म यसअघि दुई पटक मन्त्री बनिसकेको हुँदा अब मन्त्री नबन्ने निर्णय लिएको छु,’ उनले भने, ‘पार्टीको तर्फबाट अन्य साथीहरु मन्त्री बन्नुहुनेछ।’
सबैभन्दा ठूलो दलको रूपमा एमालेले मुख्यमन्त्री दाबी गर्नु स्वभाविक भएको भन्दै आङ्बोले ७ वटै प्रदेशको भागबण्डा गर्दा प्रदेश १ गठबन्धनभित्रका जुनकुनै दलको भागमा पर्नसक्ने भएकोले सहमतिलाई सहज स्वीकार गर्ने उनले बताए।
यद्यपि प्रदेश १ को नेतृत्व माओवादीको भागमा ल्याउन पहल गर्ने उनले बताए। एमाले प्रदेशमा सबैभन्दा ठूलो दल भएकाले सरकारको नेतृत्व आफूले पाउनेमा विश्वासमा छ।
Shares

प्रतिक्रिया