राजनीति


‘भारत-चीन सम्बन्धमा सुधार नआउनुमा चीन जिम्मेवार : जेएनयु प्राध्यापक कोन्डपल्ली

‘भारत-चीन सम्बन्धमा सुधार नआउनुमा चीन जिम्मेवार : जेएनयु प्राध्यापक कोन्डपल्ली

नेपालखबर
पुस १०, २०७९ आइतबार २०:३१, काठमाडौँ

जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु) का प्राध्यापक श्रीकान्त कोन्डपल्लीले भारत र चीनबीचको सम्बन्धमा सुधार आउन नसक्नुमा चीनको व्यवहार जिम्मेवार रहेको बताएका छन्। 

नेपाल भ्रमणमा रहेका कोन्डपल्लीले भारत र चीनबीचको तिक्तता तत्काल हट्ने कुनै सम्भावना नरहेको समेत बताए। सन् २०२० को मे महिनानमा गलवानमा चीन र भारतका सैनिकबीच भएको भिडन्तपछि चीनसँगको सम्बन्धमा पुरै गिरावट आएको उनले बताए। 
भारत र चीनबीचका रणनीतिक संवादका सबै ढोका बन्द भएको उनले बताए।

‘चीनसँगको हाम्रो द्विपक्षीय सम्बन्ध अहिले शुन्यमा झरेको छ। दुई देशबीचको सम्बन्धमा कुनै सुधार आउने सम्भावना छैन। किनकी चीनले भारतीय भूमि कब्जा गर्न छोडेको छैन। उसले भारतसँगको सीमामा सैन्य उपस्थिती बढाउँदै लगेको छ। यसखालको चिनियाँ रवैया भारतका लागि मान्य छैन’ जेएनयुस्थित चाइन स्डडिजका प्राध्यापक कोन्डपल्लीले आइतबार काठमाडौंमा केही पत्रकारसँगको अन्तरक्रियामा भने। 

उनले भारतले चीनसँगको सीमामा शान्ति र अमनचयन कायम होस् भन्ने चाहेको दाबी गरे। चीनले जिम्मेवार विश्व शक्तिका रुपमा भूमिका खेल्न नसकेको उनको भनाई थियो। उनले बेल्ट एन्ड रोड अवधारणाअन्र्तगत रेल सडक जस्ता परियोजना बनाउन नेपालले चिनियाँ ऋण लिँदा ख्याल गर्नुपर्ने उनको भनाई थियो।

कोन्डपल्लीले चीनसँग भारतको व्यापार बढ्दो क्रममा रहेपनि त्यसबाट चीनलाई मात्रै फाइदा पुगेको बताए। 

चीनले नेपाल, श्रीलंका र पाकिस्तानजस्ता दक्षिण एसियाका साना मुलुकलाई आफ्नो प्रभावमा लिएर भारतलाई दबाबमा राख्न खोजेपनि त्यो सफल नहुने बताए। 

‘भारतको अफगानिस्तान बाहेक सबै मुलुकसँग प्रत्यक्ष सीमा जोडिएको छ। उनीहरुसँग हाम्रो सांस्कृतिक र भावनात्मक सम्बन्ध छ’ उनले भने। 

यद्यपी उनले साना मुलुकलाई हेर्ने भारतीय दृष्टिकोणमा परिवर्तन आउन आवश्यक रहेको बताए। भारतले एसियामा जिम्मेवार शक्तिका रुपमा आफूलाई अघि बढाइरहेको उनको भनाई थियो। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएपछि नेपाल सहित छिमेकी मुलुकमा भारतको सम्बन्धमा निकै परिवर्तन र सुधार आएको उनले बताए। 

‘मोदी साना मुलुकसँग असल सम्बन्ध राख्ने पक्षमा हुनुहुन्छ। नेपाल सहितका छिमेकी मुलुकमा सम्बन्ध पनि विस्तार भएकै छ’ उनले भने। 

अमेरिका र भारतबीचको बढ्दो रणनीतिक सम्बन्धकाबीच पनि भारतले युक्रेन मामिलामा किन रुसलाई साथ दिइरहेको होला भन्ने प्रश्नमा उनले भने, ‘रुस हाम्रो स्वाभाविक र विश्वासिलो मित्र हो। हाम्रो रुससँगको सम्बन्ध रणनीतिक छ। त्यो मुलुकको हितमा छ। हाम्रो रुससँगको सम्बन्धमा कुनै वदलाव आउने छैन।’ 

तर उनले भारतको अमेरिकासँग सन् २००७ यता सैन्य गठबन्धनको झल्को आउने गरी सम्बन्ध विस्तार भइरहेको बताए। उनले चीनले अमेरिका र भारतबीचको रणनीतिक साझेदारीलाई शंकाको नजरले हेर्नु आवश्यक नरहेको बताए। 

‘विगतमा अमेरिकाले चीनलाई हतियारदेखि प्रविधी लगायत सबै खालका सहयोग दिएकै हो। अहिले पनि अमेरिकाका हजारौं कम्पनी चीनमा छन्। उनीहरुबीचको द्विपक्षीय व्यापार पनि उत्तिकै छ। अब चीनले भारतले अमेरिकासँग सम्बन्ध किन बढायो किन भन्नुपर्यो?’ उनले भने।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad