नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले करिब २ वर्ष लामो सत्ता गठबन्धन फुटाउँदै नयाँ सरकार निर्माणको पहलकदमी लिएका छन्।
आइतवारसम्म सत्ता गठबन्धन नछाड्ने मुडमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बालकोटमा तान्न सफल भएपछि देशको राजनीति नयाँ शिराबाट अघि बढ्ने देखिएको हो।
यद्यपि अहिलेसम्म वाम नेतृत्वको सरकार बन्ने टुंगिएको छैन। अहिले बालकोटमा नेकपा एमालेका अध्यक्षको पहलमा नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीका नेताहरुबीच वार्ता भइरहेको छ।
बालकोटमा वार्ता गरेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बालकोटबाट बाहिरिएका छन्। उनले सरकारमा जानेबारे निर्णय लिन आकष्मिक बैठक डाकेका छन्।
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोककुमार राई पनि बालकोट वार्तापछि पार्टीमा निर्णय गराउने भन्दै निस्किएका छन्।
माओवादी अध्यक्ष प्रचण्डसहितको टोली पुग्नुअघि सत्ताको हिसाब मिलाउन रास्वपा अध्यक्ष रवि लामिछाने बालकोटमै थिए।
त्यस्तै पछिल्लो पटक जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत 'सीके' पनि बालकोट पुगेका छन्। उनलाई बैठकस्थलबाटै बालकोटमा आउन भनेर फोन गरिएको थियो।
आइतवार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री र राष्ट्रपति दुवै छाड्न नसकिने अडान लिए।
उक्त अडानपछि प्रचण्ड सत्ता गठबन्धन सकिएको भन्दै बालुवाटारबाट बालकोटका लागि सोझिएका थिए। अहिले बालकोटमा वार्ता जारी छ।
यी दलहरबीचको वार्ता मिलेमा प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आजै प्रधानमन्त्रीमा नियुक्त गर्न सक्ने छिन्।
यस्तोमा एमाले अध्यक्ष ओलीले आफू प्रधानमन्त्री नबनी प्रचण्डलाई अघि सार्दा कांग्रेस इतर दलहरुलाई सजिलै बहुमत पुग्ने देखिन्छ।
ओलीले गरेको सत्ताको हिसाब अनुसार एमालेको ७८ सिट, नेकपा माओवादी केन्द्रको ३२ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीको २० सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४ सिट र जनता समाजवादी पार्टीको १२ सिटसहित जम्मा १५६ सिट हुन्छ। अहिलेलाई सरकार बनाउन प्रचण्डका लागि १३८ सिटको खाँचो छ।
यस्तोमा मंसिर ४ को चुनावमा एमाले र राप्रपाबीच देशका केही ठाउँमा चुनावी तालमेल भएको थियो। राप्रपा अध्यक्ष लिङ्देन झापा ३ बाट एमालेकै सहयोगमा विजयी भएका हुन्।
उता रास्वपा सभापति लामिछानेले देउवा नेतृत्वमा सरकारमा नजाने बताइसकेका छन्। रवि नेपाल आएदेखि नै ओलीसँग उनको निकटसम्बन्ध रहँदै आएको छ।
जसपामा पनि अध्यक्ष उपेन्द्र यादव सप्तरी २ बाट हार्दा सुनसरी १ बाट एमालेकै सहयोगमा संघीय परिषद् अध्यक्ष अशोक राई विजयी भएका हुन्। उनी नै जसपा दलको नेता हुने बलियो सम्भावाना छ। जसपा र एमालेबीच मधेश प्रदेशका १७ बढी ठाउँमा चुनावी तालमेल भएको थियो।
उता पछिल्लो पटक बालकोट पुगेका सीके राउतलाई ओलीले नै राजनीतिक मूलधारमा ल्याएका हु्न्। उनी पनि आफूहरुका माग पूरा हुने अवस्थामा सरकारमा जान तयार छन्।
उनले यसअघि प्रधानमन्त्री देउवासँगको वार्तामा २ वटा मन्त्रालय मागेका थिए। उनको समेत सिट जोड्ने हो भने प्रचण्ड नेतृत्वको सम्भावित सरकारमा १६२ सिट हुन आउँछ।
Shares

प्रतिक्रिया