राजनीति


संसद भवनमा मुस्कुराउँदै ओली-प्रचण्ड संवाद (तस्बिरहरु)

संसद भवनमा मुस्कुराउँदै ओली-प्रचण्ड संवाद (तस्बिरहरु)

संसद भवनमा मुस्कुराउँदै संवादमा जुटेका केपी ओली र प्रचण्ड। तस्बिर : राजन काफ्ले


नेपालखबर
पुस ७, २०७९ बिहिबार १७:२१, काठमाडौँ

नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भंगसँगै नदीको दुई किनारा बनेका केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच फेरि सहकार्यको संकेत दिने तस्बिर दुई दिनयता सार्वजनिक भएका छन्। 

बुधबार राष्ट्रपति कार्यालयमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ लिँदा यी दुई नेताबीचको संवादहीनता तोडिएको थियो।

बुधबार शीतल निवासमा एकै लहरको कुर्सीमा बसेर उनीहरुले भलाकुसारी गरेका थिए। दुई नेतबीचको भलाकुसारीको तस्बिर भाइरल भइरहँदा बिहीबार थप संवाद भएको छ।


प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले शपथ लिएपछि संसद भवनमै आयोजित जलपान समारोहमा राष्ट्रपतिको कार्यालयमा जस्तै उनीहरु एकै ठाउँ बसे।

जलपानका क्रममा दिइएको सुन्तला ओलीले खाएनन् तर प्रचण्डलाई उनैले खान दिए। उनीहरुबीच त्यहाँ पटक पटक कुराकानी भयो।
करिब डेढ वर्ष लामो संवादहीनता तोड्दै दुवै नेता मुस्कुराएर कुरा गरे। अलिक पर बसेका प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि ओलीले कुरा गरे तर धेरै समय प्रचण्डसँग उनी संवादमा रहे।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी १० गतेसम्म सरकार गठनको समय दिएको अवस्थामा ओली-दाहाल संवादलाई धेरैले अर्थपूर्ण भनेका छन्।

मंसिर ४ को निर्वाचनमा सत्ता गठबन्धन बहुमत ल्याउन असफल भएको अवस्थामा ओलीले दाहाललाई प्रधानमन्त्रीको अफर गरेको समाचार आइरहेका छन्। 

तर दाहालले यसअघि पनि धोका पाएको भन्दै यसमा आफू विश्वस्त नभएको सन्देश पठाएको स्रोतको दाबी छ।

यता सत्ता गठबन्धनमा पनि देउवा र प्रचण्ड को पहिले प्रधानमन्त्री बन्ने भन्ने विवाद छ। देउवा संसदीय दलमा विजयी भइसकेका छन्। उनी सुरुमा आफैं प्रधानमन्त्री हुन चाहन्छन्। 

तर प्रचण्ड अब आफ्नो पालो रहेको बताइरहेका छन्। यस्तोमा एमाले अध्यक्ष ओली राष्ट्रपति लिएर प्रचण्डलाई प्रधानमन्त्री दिन तयार रहेको बताइन्छ।

बुधबार र बिहीबार यी दुई नेताबीच सार्वजनिक स्थानमा सुरु भएको संवादको अवस्थाले एमाले र माओवादी कार्यकर्ता पंक्ति केही हौसिएको देखिन्छ।

यसअघि प्रचण्ड निर्वाचित भएपछि ओलीले टेलिफोनमार्फत बधाई दिएका थिए। तर शीतल निवासमा बुधबार ओलीसँगै प्रचण्ड थिए भने अलिक पर एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल।

उनीहरु त्यहाँ मास्कसहित थिए। तर बिहीबार फेरि उनीहरुबीच संवादको ढोका खुलेको सन्देश दिने गरी नयाँ तस्बिरहरु सार्वजनिक भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad