राजनीति


नागरिक अगुवा भन्छन् : राष्ट्रपति पदलाई भागबण्डाको विषय नबनाऔँ

नागरिक अगुवा भन्छन् : राष्ट्रपति पदलाई भागबण्डाको विषय नबनाऔँ

नेपालखबर
पुस ७, २०७९ बिहिबार १६:१८, काठमाडौँ

विभिन्न क्षेत्रका नागरिक अगुवाहरुले राष्ट्रपति पदलाई भागबण्डाको विषय नबनाउन दलहरुसँग आग्रह गरेका छन्। 

३४ जना नागरिक अगुवाले बिहीबार विज्ञप्ति प्रकाशित गरी दलहरुले कुन पद कसको भागमा पर्ने भन्दै लेनदेनको विषय बनाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्। 

साथै उनीहरुले संविधानको कपटपूर्ण प्रयोगका कारण नेपालको संविधान २०७२ अनिश्चित देखिएको बताएका छन्।

‘बहाल रहेको संविधान र यसको कपटपूर्ण प्रयोगले नेपाल र नेपालीको हित अनुकूल काम गर्न सकेको नदेखिएकाले २०७२ को संविधानको भविष्य अनिश्चित देखिन्छ’ विज्ञप्तिमा भनिएको छ, ‘तैपनि संविधानले दिएको मौका प्रयोग गरी कस्ता व्यक्ति राष्ट्राध्यक्ष पदमा आसीन हुनुपर्दछ भन्ने आवाज उठाउन छोड्न हुँदैन भन्ने हाम्रो धारणा छ।’

यस्तो छ विज्ञप्ति
नेपालमा राजा पृथ्वीनारायण शाहका उत्तराधिकारी एवं उनका वंशजहरूले निर्वाह गर्दै आएको राष्ट्राध्यक्षको पद्धति (राजा हुने परम्परा) त्यागेर गणतन्त्रात्मक व्यवस्था सुरु भएको  पन्ध्र (१५) वर्ष भइसकेको छ। यसबीच डा. रामवरण यादव सात वर्ष (२०६५ साउन ८ देखि २०७२ कात्तिक १२ गतेसम्म) राष्ट्रपतिको भूमिकामा रहनु भयो।

 

यसैगरी, २०७२ साल  कात्तिक ११ गते राष्ट्रपति पदमा निर्वाचित विद्यादेवी भण्डारीको पनि दोस्रो कार्यकाल निकट भविष्यमै पूरा हुँदैछ। अर्थात् छिट्टै राष्ट्रपति पद रिक्त हुँदैछ। भर्खरै (२०७९ मंसिर ४ गते) सम्पन्न आम निर्वाचनपछि सत्ता सञ्चालनको जिम्मेवारी लिन सक्ने स्थितिमा पुगेका राजनीतिक दल (नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी समेत) का नेताहरू राष्ट्रपति लगायतका कुन पद कुन पार्टीको भागमा पार्ने भनेर लेनदेन गर्न थालिसकेको कुरा प्रेसका ताजा रिपोर्टहरूले बताइरहेका छन्। 
 

स्मरण रहोस्, नेपालको संविधान २०७२ ले कम्तीमा पैँतालीस वर्ष उमेर  पूरा भएका र संघीय संसद्को सदस्य हुन योग्य भएका नेपाली नागरिक राष्ट्रपतिको निर्वाचनका लागि उम्मेद्वार हुन सक्ने व्यवस्था गरेको छ। संविधान अनुसार यस पदमा निर्वाचित भएको व्यक्तिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ।
 

वि. सं. २०६३ देखि हालसम्म राजनीतिक दलहरूले आफ्नै दलका सक्रिय कार्यकर्तालाई राष्ट्रपति पदको निर्वाचनमा उम्मेद्वार बनाएर जिताउने काम गरेकाछन्। डा. रामवरण यादव र विद्यादेवी भण्डारी क्रमशः नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेका सक्रिय कार्यकर्ता हुनुहुन्थ्यो। यसै आधारमा दुबैजनालाई सम्बन्धित पार्टीहरूले उठाएर जिताएका हुन्।

राष्ट्रपति पदको कार्यकाल समाप्त गरी सरकारी सुविधासहित अवकाश जीवन बिताइरहनुभएका डा. यादव र वर्तमान राष्ट्रपति भण्डारी दुबैले राष्ट्रपति पदलाई मातृसंस्था (नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमाले) सँग रहेको दलीय सम्बन्धबाट के कति  माथि राख्न सक्नुभयो भन्ने सवाल सबै सामु छर्लंग छ। राष्ट्रपतिबाट नियुक्त हुने पदहरूमा सक्षम, विज्ञ तथा असंलग्न पृष्ठभूमि भएका व्यक्तित्व हुनुपर्नेमा अन्यथा हुने गरेका कारण सम्मानित राष्ट्रपति पदमा आसीन व्यक्ति समग्र नेपालको राष्ट्राध्यक्ष भन्दा पनि पार्टी विशेषको हुन गएको अनुभव आम नेपालीको छ। तैपनि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतालगायत अन्य केही विषयका सम्बन्धमा निर्वाह गर्नु भएको भूमिकालाई अपवादका रूपमा लिन सकिन्छ।
 

बहाल रहेको संविधान र यसको कपटपूर्ण प्रयोगले नेपाल र नेपालीको हित अनुकूल काम गर्न सकेको नदेखिएकाले २०७२ को संविधानको भविष्य अनिश्चित देखिन्छ। तैपनि संविधानले दिएको मौका प्रयोग गरी कस्ता व्यक्ति राष्ट्राध्यक्ष पदमा आसीन हुनुपर्दछ भन्ने आवाज उठाउन छोड्न हुँदैन भन्ने हाम्रो धारणा छ।
 

हाम्रो दृष्टिकोणमा मुलुकको सुदूर भविष्यलाई ध्यानमा राखी काम गर्न सक्ने र राष्ट्रहितलाई भन्दा  केवल राजनीतिक दृष्टिकोणलाई प्राथमिकतामा राखेर सरकारद्वारा निर्धारण गरिने नीति एवं कार्य विरुद्ध आम नागरिकलाई सजगतासाथ सतर्क गराउन सक्ने अभिभावकको भूमिका निर्वाह गर्न सक्षम व्यक्ति राष्ट्रपति हुनु पर्दछ। साथै मुलुकको सर्वोच्च संवैधानिक पद धारण गरेको व्यक्ति राजनीतिक दल विशेषको स्वार्थ संवर्धन गर्ने कार्यमा संलग्न हुन र बाह्य प्रभावमा पर्नु हुँदैन भन्ने पनि ठान्दछौं।
 

राष्ट्रपति पदको महत्व र यसले निर्वाह गर्न सक्ने भूमिका बुझेर नै होला काठमाडौंस्थित विदेशी नियोगहरूले आगामी राष्ट्रपतिको उम्मेदवार को हुँदैछन् भनेर चासो लिन थालेको देखिएको छ।
 

स्मरण रहोस्, छिमेकी देश भारतमा कुनै व्यक्ति राष्ट्रपति पदमा निर्वाचित भई सकेपछि निजको  भूमिका निष्पक्ष र सन्तुलित रहने गरेको देखिएको छ। सन् १९५० यता भएका १५ राष्ट्रपतिमध्ये सात जनाको दलगत राजनीतिक पृष्ठभूमि भएको र अन्यको नभएको देखिन्छ। तिनमा देशलाई अभिभावकत्व प्रदान गर्ने राष्ट्रपति भनेर डा. सर्वपल्ली राधाकृष्णन र डा. ए पी जे अब्दुल कलाम आदरका साथ चर्चामा आइरहने नाम हुन्। यस्ता उदाहरणतर्फ नेपालका नेतागणको ध्यान जानुपर्नेमा  गएको पाइँदैन।
 

उल्लिखित परिवेशमा राजनीतिक दलहरू र हाल चर्चामा ल्याइएका पात्रहरूजस्ता बाट नभई समाजमा प्रतिष्ठा प्राप्त इमान्दार, निष्कलङ्क छवि भएका, नेपालको अन्तर्राष्ट्रिय सम्मान र प्रतिष्ठाको अभिवृद्धि गराउने क्षमता आर्जेका बौद्धिक वा प्राज्ञिक क्षेत्रबाट आगामी राष्ट्रपति निर्वाचित गरिनु पर्दछ भन्ने हाम्रो धारणा छ। यसको लागि राष्ट्रपति हुन लायक व्यक्तिको खोजी राजनीतिक आग्रह एवं पूर्वाग्रहभन्दा माथि उठी वस्तुनिष्ठ तवरले गरियोस् भन्ने आग्रह राजनीतिक नेतृत्व समक्ष गर्दछौं।
 

साथै राजनीतिक दलहरूले राष्ट्रपति पदलाई भागबण्डाको विषय नबनाइ पदको गरिमा अक्षुण्ण राख्न पनि यसलाई निहत स्वार्थबाट मुक्त गरियोस् भन्ने मागसमेत गर्दछौं।

अपिलकर्ता (वर्णानुक्रम र सुरक्षा निकायले लेख्ने शैलीअनुसार सूचीबद्ध गरिएको) 
१. आतिश कार्की, अधिवक्ता
२. आदित्यमान श्रेष्ठ, वरिष्ठ सञ्चारकर्मी
३. उद्धवप्रसाद ढुङ्गाना, सामाजिक अभियन्ता
४. डा. उपमा कार्की, दन्तचिकित्सक तथा सामाजिक अभियन्ता
५. कृष्णप्रसाद भण्डारी, वरिष्ठ अधिवक्ता
६. डा. केशवचन्द्र शर्मा, सामाजिक अभियन्ता एवं किट विज्ञ
७. सहायक रथी डा. केशरबहादुर भण्डारी, (अ.प्रा.) नेपाली सेना 
८. सशस्त्र प्रहरी महानिरीक्षक, किशोर लामा,(अ.प्रा.), सशस्त्र प्रहरी बल, नेपाल    
९. डा. गौरी शंकरलाल दास, वरिष्ठ चिकित्सक
१०. डा.जगतकुमार भुसाल, नदी विज्ञान विज्ञ
११. प्राध्यापक डा. जर्नादन सुवेदी, मायामी युनिभर्सिटी योहायो, संयुक्त राज्य अमेरिका
१२. जयप्रकाश भुसाल, सामाजिक अभियन्ता
१३. जानकी पाण्डे, अधिवक्ता
१४. जीवराम भण्डारी, वरिष्ठ सञ्चारकर्मी
१५. ठमनाथ घिमिरे, सञ्चारकर्मी  
१६. तृप्ति  घिमिरे, अधिवक्ता
१७. डा.तिलकबहादुर श्रेष्ठ, सामाजिक अभियन्ता
१८. देवीराम शर्मा, पूर्व प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग
१९. द्वारिकानाथ ढुङ्गेल, सामाजिक अभियन्ता
२०. ध्रुवहरि अधिकारी, वरिष्ठ सञ्चारकर्मी
२१. नारायणराज तिवारी, पूर्व सचिव, तत्कालीन श्री ५ को सरकार
२२. प्रधान सेनापति, महारथी प्यारजङ्ग थापा (अ.प्रा.), नेपाली सेना
२३. पुष्पप्रसाद लुइँटेल, सामाजिक अभियन्ता
२४. महानिरीक्षक, प्रकाश अर्याल, (अ.प्रा.), नेपाल प्रहरी
२५. बलराम सापकोटा, सामाजिक अभियन्ता
२६. भरतबहादुर थापा, पूर्व अध्यक्ष, ट्रान्सपरेन्सी इन्टरनेशलन नेपाल
२७. सहायक रथी तथा पूर्व राजदूत, भरतबहादुर रायमाझी, (अ.प्रा.) नेपाली सेना
२८. सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापा, (अ.प्रा.), सशस्त्र प्रहरी बल, नेपाल
२९. राज थापा, सामाजिक अभियन्ता
३०. विदुरप्रसाद मैनाली, पूर्व उपमेयर काठमाडौं महानगरपालिका
३१. श्यामप्रसाद अधिकारी, पूर्व सचिव, तत्कालीन श्री ५ को सरकार
३२. सुकदेवभट्टराई खत्री, पूर्व निमित्त महालेखा परीक्षक, महालेखा परीक्षकको विभाग
३३. प्रा. डा. सुरेन्द्र भण्डारी, वरिष्ठ अधिवक्ता
३४. प्राध्यापक सुरेशराज चालिसे, जलवायु परिवर्तन विषयविज्ञ तथा सामाजिक अभियन्ता

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad