राजनीति


सरकार गठनको मुखैमा अमेरिकी राजदूत झन् सक्रिय

पन्ध्र दिनमा दुई पटक भेटे देउवालाई
सरकार गठनको मुखैमा अमेरिकी राजदूत झन् सक्रिय

राप्रपा अध्यक्ष लिङ्देनलाई भेट्दै अमेरिकी राजदूत थम्प्सन। तस्बिर : मोहन श्रेष्ठ


नेपालखबर
पुस ६, २०७९ बुधबार १७:३८, काठमाडौँ

नयाँ सरकार गठनका लागि संसदमा प्रतिनिधित्व गर्ने दलहरुबीच छलफल चलिरहेका बेला काठमाडौंस्थित विदेशी राजदूतको दौडधुप झन् बढ्दो छ। 

विदेशी कूटनीतिज्ञहरुमा भारतीय राजदूत नवीन श्रीवास्तवपछि सबैभन्दा बढी अमेरिकी राजदूत डिन आर थम्पसन सक्रिय देखिएका छन्। 
सरकार गठनको कसरत चलिरहँदा थम्पसनले उच्च राजनीतिक भेटवार्ता तीव्र पारेका छन्। 

सत्तारुढ दलहरुबीच प्रधानमन्त्री र राष्ट्रपति कसले लिने भनेर सहमति जुटिसकेको छैन। विदेशी शक्तिकेन्द्रको चासो यी दुई पद कसले पाउँछ भन्नेमा छ। 

पन्ध्र दिनमा दोस्रो पटक भेटे देउवालाई 
थम्पसनले हिजो (मंगलबार) प्रधानमन्त्री देउवासँग भेटेर सरकार गठनबारे चासो राखेका थिए। उनले १५ दिनको अन्तरालमा प्रधानमन्त्री देउवासँग दोश्रोपटक भेटेका हुन्। 

चुनावी परिणामलगत्तै थम्पसनले मंसिर तेश्रो साता देउवालाई भेटेर कांग्रेस पहिलो दल बनेकोमा अमेरिका खुशी रहेको बताउँदै बधाई दिएका थिए। 

प्रधानमन्त्री देउवाका विदेश मामिला सल्लाहकार अरुण कुमार सुवेदीले प्रधानमन्त्रीलाई अमेरिकी राजदूतले भेटेको पुष्टि गर्न चाहेनन्। 

‘विदेशी राजदूतहरुले प्रधानमन्त्रीलाई औपचारिक वा अनौपचारिक रुपमा भेटिरहेका हुन्छन्। सबै भेटवार्ता र छलफलका विषय बताइरहने कुरा भएन’ सुवेदीले नेपालखबरसँग भने। 

सरकार गठनका लागि राष्ट्रपतिले दिएको सात दिनको समयसीमा आइतबार सकिँदैछ। 

प्रधानमन्त्री पदका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रमुख आकांक्षी देखिएका छन्। 

भारत र अमेरिका नेपालमा आफूअनुकुलको सरकार बनाउन कसरत गरिरहेको चर्चाबीचमा अमेरिकी राजदूतको दौडधुप बढेको हो।  

भारतीय राजदूत श्रीवास्तवले पनि चुनावपछि बन्ने सरकारबारे आफ्नो देशको चासो दर्शाइसकेका छन्। 

जानकार राजनीतिक र कूटनीतिक स्रोतका अनुसार भारत र अमेरिकाले देउवा नेतृत्वकै सत्ता गठबन्धनको निरन्तरता चाहेको सन्देश दिइरहेका छन्। 

अमेरिकी राजदूत थम्पसनले सत्तारुढ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी अध्यक्ष प्रचण्डसँग मंसिर अन्तिम साता भेटेर सत्ता समीकरणबारे चासो राखेका थिए। 

लिङ्देनलाई सोधे राप्रपाको भूमिका? 
यसैबीच बुधबार मात्रै थम्पसनले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटवार्ता गरेका छन्। 

उक्त भेटमा सहभागी राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार थम्पसनले सरकार गठनबारे चासो राखेका थिए। ‘सरकार निर्माणमा राप्रपाको भूमिका के रहन्छ भन्नेबारेमा कुरा भयो’, श्रेष्ठले नेपालखबरसँग भने। 

अध्यक्ष लिङ्देनले सरकार गठन राप्रपाको प्राथमिकतामा नरहेको बताएका छन्। उनले देशमा सरकार बन्नै नसक्ने अवस्था आए जिम्मेवार दलका रुपमा राप्रपाले भूमिका निर्वाह गर्ने बताएको श्रेष्ठले जानकारी दिए। 

त्यसक्रममा समसामयिक राजनीतिक घटनाक्रम र द्विपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो। 

राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको भेटमा थम्पसनले अध्यक्ष लिङ्देनलाई प्रतिनिधिसभाको सदस्य निर्वाचित भएकोमा बताई दिएका थिए। 

निर्वाचनमा राप्रपाले सम्मानजनक उपलब्धि हासिल गरेकोमा पनि थम्पसनले बधाई दिएको श्रेष्ठले बताए। 

अमेरिकी राजदूत थम्पसनले नयाँ सरकार गठनबारे पनि चासो राखेका थिए। राप्रपा १४ सिट सहित संसदमा पाँचौँ ठूलो छ। उसले सरकारमा जाने वा नजानेबारे औपचारिक निर्णय लिइसकेको छैन।

गतसाता मात्रै नेपालस्थित कार्यवाहक चिनियाँ राजदूत वाङ् सिनले राप्रपा अध्यक्ष लिङ्देनलाई भेटेर सरकार गठनबारे चासो राखेका थिए। 
तर ती चिनियाँ कूटनीतिज्ञले ठूला दलका नेताहरुलाई भेटेको सार्वजनिक भएको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .