ad ad

राजनीति


संसदीय दलमा पौडेल, सिंह, निधि र शशांकको साथ देउवालाई

संसदीय दलमा पौडेल, सिंह, निधि र शशांकको साथ देउवालाई

रासस
पुस ५, २०७९ मंगलबार १८:४९, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बुधबार हुने संसदीय दलको निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित चार नेताले साथ दिएका छन्। 

एक वर्षअघि भएको पार्टीको १४ औँ महाधिवेशनमा देउवासँगै सभापतिमा प्रतिस्पर्धा गरेका प्रकाशमान सिंह र विमलेन्द्र निधिले साथदिने बताइसकेका छन्। 

वरिष्ठ नेता रामचन्द्र पौडेल संसदीय दलको नेतामा देउवाको उम्मेदवारीको प्रस्तावक नै बसेका छन्। 

यता कांग्रेसका केन्द्रीय सदस्य एवम् नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाका छोरा शशाङ्कले पनि आफू सभापति देउवाको साथमा रहेको बताएका छन्।

उनले हालै एक सार्वजनिक कार्यक्रममा मुलुक हाँक्न अनुभवी तथा परिपक्व नेता आवश्यक रहेकाले देउवा नै संसदीय दलको नेता चुनिने बताएका थिए

उनीहरुको साथले सभापति देउवा संसदीय दलको नेता निर्वाचित हुने निश्चित भएको प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले बताए। 

'सभापति देउवा झण्डै दुईतिहाइ बहुमतको नजिकमा हुनुहुन्छ, उहाँलाई कांग्रेसका सांसदले प्रत्यक्ष भेटेर पनि मतदान गर्ने बचन दिनुभएको छ', उनले भने, 'संसदीय दलको अङ्क गणितमा देउवालाई करिब ७६ सांसदको समर्थन रहने देखिएको छ।' 

कांग्रेसमा पार्टीको सभापति नै संसदलीय दलको नेता हुने प्रचलन पनि रहेको छ। 

विगतमा एकपटक पार्टी सभापति र संसदीय दलको नेता फरक फरक व्यक्ति हुँदा पार्टीमा विभाजन नै आएको नेताहरुको तर्क छ। 

त्यसखालको द्वन्द्व सिर्जना नहोस् भनेर पनि सभापति नै संसदीय दलको नेता हुनुपर्ने धारणा देउवानिकट सांसदहरुको छ।

कांग्रेस संसदीय दलको नेताको निर्वाचन बुधबार बिहान ८ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हुने छ।

दलको नेतामा सभापति देउवा र कांग्रेस महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिइसकेका छन्। निर्वाचन समितिले दुवै उम्मेदवार रहेको अन्तिम नामावली सार्वजनिक गरिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .